Prakash Adhikari July 27, 2026

इटहरी(सुनसरी), ११ साउन । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ ।

कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना परिचालन गरिएको हो ।

हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था सामान्य बनाउन सहयोग पुगेको सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले बताउनुभएको छ।

कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज ३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको थियो । तर कर्फ्यु उल्लङ्घन गर्दै सोमबार बिहानदेखि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।

घटना के हो ? कसरी बिग्रियो अवस्था

साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई प्रहार गरेको थियो । हवाई फायर गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको थियो ।

प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भयो भने ८ जना प्रदर्शनकारी र प्रहरी तर्फ पनि ८ जना घाइते भएका छन् ।

सुनसरी प्रहरी प्रवक्त डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुईपक्षबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो ।

कप्तानगन्जमा गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको हो ।

झडपमा घाइते भएका ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये अधिकांशलाई गोली लागेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झडपमा घाइते भएका २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ ।

२१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राईको टाउकोमा चोट लागेको छ ।

प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव पनि घाइते भएका हुन् ।

प्रहरीका अनुसार दुई समूहबीचको झडपमा कप्तानगन्ज बजारको घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी भएको छ।

छानविन समिति गठन, साँझ केन्द्रीय सुरक्षा समितिको बैठक

सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।

गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ ।

यसैबीच सुनसरीको घटनाको बारेमा समीक्षा गर्न आज साँझ केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ । बैठक साँझ पाँच बजे बोलाइएको छ ।

गृह मन्त्रालयको अध्यक्षतामा हुने केन्द्रीय समितिमा गृहसचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक र नेपाली सेनाका प्रतिनिधि रहन्छन् । उनीहरुले सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दै आवश्यक रणनीति बनाउने बताइएको छ ।

सुनसरीको कप्तानगञ्ज घटनापछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरुसँग मन्त्रालयमा छलफल आयोजना गरेका थिए । सो छलफलपछि घटनाको सत्यतथ्य छानविन गरी प्रतिवेदन पेश गर्न गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

Share Now