Prakash Adhikari July 27, 2026

काठमाडौं, १० साउन । केन्द्रीय अनुसन्धान ब्यरो (सीआइबी) ले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र लिक गर्नेको नाम सार्वजनिक गरेको छ।

सीआइबीले कैलाली घोडाघोडी नगरपालिका ११ घर भई हाल भक्तपुर मध्य थिमी १ मा बस्ने ३३ वर्षीय सन्दीप सिंहको नाम सार्वजनिक गरेको हो।

उक्त प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले अन्य २र३ जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएको थियो। तर उनीहरूको संलग्नता नदेखिएको भन्दै प्रहरीले उनीहरूलाई छाडेको थियो।

साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको थियो।

‘एमबीएस फ्रस्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा प्रश्न पत्र परीक्षा सुरू भएको ५ मिनेटमै पठाइएको थियो। केही मिनेटमै सामाजिक सञ्जालमार्फत बाहिरिएको भन्दै फेसबुक पेज ‘टियु स्टुडेन्ट्स’ले त्रिविको ध्यानाकर्षण गराएको थियो। उक्त पेजले त्यही ह्वाट्सएप ग्रुपका स्क्रिनसटकहरू समेत सार्वजनिक गरेको थियो।

त्रिवि परीक्षा नियन्त्रण महाशाखाले आइतबार यही घटनाको छानबिन गर्नका लागि छानबिन समितिसमेत गठन गरेको छ।

प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने परीक्षा संचालक समितिले निर्णय गरेको छ।

अनुगमन निर्देशनालयका उप निर्देशक सह प्रा.डा पुष्कर रैखला र केन्द्रीय परीक्षा संचालक समितिका सदस्य सह प्रा.डा महेशराज ओझालाई सदस्यको तोकिएको छ।

उक्त समितिलाई छानबिन गरी सत्यतथ्य निरूपण गरी सात कार्यदिन भित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ।

Share Now