विराटनगर,१२ साउन। सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्जमा सुरु भएको विवाद र त्यसबाट उत्पन्न साम्प्रदायिक तनाव अझै साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पुनः अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
पूर्वी तराईका जिल्लाहरूमा लगातार बढ्दै गएको अशान्त परिस्थिति र झडपका घटनाहरूलाई नियन्त्रणमा लिन तथा थप जनधनको क्षति हुन नदिन स्थानीय प्रशासनले कडा कदम चालेको हो। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार आज अपराह्न ३ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु लगाइएको हो।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रलाई समेट्ने गरी सीमा तोकिएको छ। तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
प्रशासनका अनुसार पूर्वमा पकली चोक, पश्चिममा कोशी ब्यारेजको पुल तथा पूर्व-पश्चिम महेन्द्र राजमार्गको उत्तर र दक्षिण २०० मिटर क्षेत्रसम्म कर्फ्यु आदेश प्रभावी रहनेछ।
यसअघि कप्तानगञ्ज लगायतका क्षेत्रमा भएका हिंसात्मक झडप र साम्प्रदायिक तनावका कारण सुरक्षा व्यवस्था कडा पारिए पनि स्थिति पूर्ण रूपमा सामान्य हुन नसकेपछि प्रशासनले पुनः यो निर्णय लिएको हो। जिल्लाको शान्ति सुरक्षालाई सामान्यीकरण गर्न र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको छ।








