काठमाडौँ, १४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समितिको बैठकमा महाधिवेशनको तुष सार्वजनिक भएको छ । बैठकमा महाधिवेशनमा भएका अमर्यादित र विधि विपरितका क्रियाकलापका सन्दर्भमा छानबिन समिति नै बनाउनु पर्ने माग उठेको छ ।
बैठकमा नेतृ डा. तोसिमा कार्कीले चितवन महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई मान्यता दिन नसक्ने बताउनुभयो । महाधिवेशन सकिएको एक महिनापछि बुधबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै कार्कीले महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउनुभएको हो।
‘महाधिवेशनमा ३० प्रतिशत प्रतिनिधिले भोट हालेका छन् । यसलाई कसरी मान्यता दिन सकिन्छ? तीन दिनको लागि भनिएको महाधिवेशन ६ दिनसम्म किन लम्ब्याइयो?’, सभापति रवि लामिछानको नेतृत्वमाथि उहाँले कडा प्रश्न उठाउनुभयो।
स्वास्थ्य विभागको संयोजक समेत रहेकी कार्कीलाई महाधिवेशनका बेला ‘कण्डम’ बेचेको भनेर ट्रोल बनाएकोप्रति पनि उहाँले आपत्ति जनाउनुभयो।
बैठकमा अर्का केन्द्रीय सदस्य गणेश कार्कीले विधान सुटुक्क संशोधन गरेको आरोप लगाएका थिए । बैठकमा बोल्दै उहाँले सभापति रवि लामिछानेलाई सहज हुने गरी महामन्त्री विपिनकुमार आचार्यले विधान संशोधन गरेको आरोप लगाउनुभयो । महाधिवेशन र विधानमा भएको छेडखानी छानबिन गर्न कार्यदल गठन गर्नुपर्ने माग राखेपछि बैठकमा हंगामा भएको थियो । अर्का एक सदस्यका अनुसार कार्कीले महाधिवेशन बन्दसत्र हलमा प्रस्तुत भएको विधानमा सभापतिले संसदीय दलको नेता हटाउन सक्ने प्रावधान नभएको उहाँले जिकिर गर्नुभएको थियो ।
‘बैठकमा तोसिमाजी र गणेशजीले विधान संशोधन, महाधिवेशनमा भएको कमीकमजोरीबारे कडा अभिव्यक्ति दिनुभएको थियो । गणेशजीले यी सबै विषयमा छानबिन गर्न कार्यदल गठन गर्नुपर्ने माग गरेपछि सभापति ठाडै अस्वीकार गर्नुभयो’, रास्वपाका एक केन्द्रीय सदस्यले भन्नुभयो ।
सभापति रवि लामिछानेले सदस्यहरुले उठाएको मागप्रति एउटै घरमा छानबिन नहुने भनेर अस्वीकार गर्नुभएको थियो ।
‘महाधिवेशनमा केही कमीकमजोरी भएको थियो । नयाँ पार्टीको पहिलो महाधिवेशन भएका छन् । त्यसलाई पछि सुधार्दै लान सकिन्छ । तर एउटै घरमा के को छानबिन? एउटै परिवारको सदस्यमा छानबिन हुँदैन । एउटै पार्टीभित्र गुट उपगुटको भाष्य हटाउनोस् । हामी सबै एकै परिवारका हौँ’, उहाँले भन्नुभयो ।
असार ७ देखि १२ गतेसम्म भएको महाधिवेशनमा करिब ४ हजार महाधिवेशन प्रतिनिधि सहभागी थिए । केन्द्रीय सदस्यको निर्वाचनमा ७६ प्रतिशतले मतदान गरेकोमा पदाधिकारी निर्वाचनको बेला जम्मा ३० प्रतिशत प्रतिनिधि सहभागी थिए।
बैठकमा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले महाधिवेशनको बेला समूहगत नाम वितरण गरेर गुटको बिजारोपण गरिएकोमा असन्तुष्टि जनाउनुभएको थियो ।
तोसिमा कार्की, गणेश कार्कीले विधि र विधानको कुरा उठाउँदा पूर्वविवेकशील साझा पक्षधर नेताहरूले समर्थन गरेका थिए ।








