Prakash Adhikari July 30, 2026

विराटनगर(मोरड.), १४ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै सुनसरी र सिरहाका जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्।

प्रतिबद्धतामा घटनापछि विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक विवाद, हिंसा र हुलदङ्गाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता अवाञ्छित गतिविधि रोक्न सबै पक्षले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

सुनसरी जिल्ला प्रशासन कार्यालयको समन्वयमा बसेको बैठक पछि जारी गरिएको विज्ञप्तिमा आक्रोश र प्रतिशोधको भावनाभन्दा संयम, विवेक र संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै सर्वसाधारणलाई पनि संयमित रहन आग्रह गरिएको छ। सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री नफैलाउन, आधिकारिक सूचना मात्र विश्वास गर्न र अफवाहको पछि नलाग्न पनि निर्णयमार्फत अनुरोध गरिएको छ।

यस्तै, घटनापछि भएका प्रदर्शन र भिडभाडमा किशोर तथा युवाहरूको सहभागिता देखिएको भन्दै अभिभावकलाई आफ्ना बालबालिकालाई अनावश्यक रूपमा बाहिर नपठाउन तथा उनीहरूलाई संयमित बनाउन विशेष आग्रह गरिएको छ।

संयुक्त निर्णयमा घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

उक्त निर्णय पत्रमा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, उद्योग–व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

सिरहामा पनि सामाजिक सद्भावको अपिल

आन्दोलन, विरोध वा अन्य सार्वजनिक कार्यक्रममा सरकारी तथा निजी सम्पत्तिमा क्षति पु¥याउने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्ने सिरहामा बसेको सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा बुधबार बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्न जिल्लामा आवश्यकताअनुसार स्थायी संयन्त्र निर्माण गर्ने, नियमित बैठक बस्ने, निर्णयहरूको प्रभावकारी कार्यान्वयन गर्ने तथा प्रचारप्रसारलाई व्यवस्थित बनाउने निर्णय गरेको छ ।

सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह र उत्तेजना फैलाउने गतिविधिमाथि निगरानी बढाउने, संलग्न व्यक्तिहरूको विवरण सङ्कलन गर्ने र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने निर्णय गर्दै जिल्लाका सबै स्थानीय तहलाई राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज, पत्रकार तथा विभिन्न धार्मिक आस्थाका व्यक्तिहरूको सहभागितामा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै बैठकले सामाजिक सद्भाव कायम राख्ने, ध्वनि प्रदूषण नियन्त्रण गर्ने तथा अफवाह फैलाउनेमाथि निगरानी बढाउने समेत निर्णय गरेको छ ।

प्रजिअ पौडेलका अनुसार बैठकले देवानगञ्ज घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

सिरहा जिल्लामा पछिल्लो समय डिजे तथा चर्को ध्वनिका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परेको, विद्यार्थीहरूको पठनपाठनमा बाधा पुगेको र सामाजिक वातावरण प्रभावित भएको निष्कर्ष निकाल्दै बैठकले मापदण्डविपरीतका डिजे तथा चर्को आवाज प्रयोगमा रोक लगाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको निर्णयपत्रमा सामाजिक एकता, शान्ति सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न सबै पक्षसँग सहयोगको अपिल गरिएको छ ।

Share Now