Prakash Adhikari July 30, 2026

जनकपुरधाम(धनुषा), १४ साउन ।  सुनसरीको देवानगञ्ज गाउँपालिका- ३ कप्तानगञ्जमा खल्बलिएको सामाजिक सद्भाव र भड्किएको हिंसालेले पूर्वी र मध्य तराई पूरै प्रभावित भएको छ ।

सुनसरीको प्रतापगञ्जमा हिन्दु मुस्लिम झडपमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि त्यसको विरोधमा आज सिरहामा भएको प्रदर्शनमा प्रहरीको एक जनाको मृत्यु भएको छ भने एक जनालाई गम्भीर अवस्थामा धरान लगिएको छ । गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको निधन भएको छ।

सहायक सीडीओ चेतराज बरालले ‘मृत्यु भएको भन्ने खबर आएको छ र औरही गाउँपालिका–२ का गणेश यादवको निधन भएको खबर हामीले पाएका छौं भन्ने जानकारी दिनुभएको छ ।

झडपपछि उक्त क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र सिरहाका विभिन्न क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ।

आज कर्फ्यू आदेश जारी भए पनि प्रदर्शनकारीले कर्फ्यु उल्लंघन गर्दै एक मोटरसाइकल ग्यारेजमा आगजनी गर्दा ११ वटा मोटरसाइकल पूर्ण रूपमा नष्ट भएका छन् ।

 

प्रदर्शनकारीले सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मल जलाएका छन् ।

प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

जनकपुरमा पनि कर्फ्यू

सुनसरी र सिरहामा धार्मिक र जातीय सद्भाव भड्केर हिंसात्मक रुप लिए पनि त्यसको विरोधमा जनकपुरधाममा पनि प्रदर्शन चर्किन गयो । स्थितिलाई हिंसात्मक रुप लिन नदिन जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र बिहीबार दिउँसो साढे तीन बजेदेखि लागू हुने गरी अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिका, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यू लगाइएको जानकारी दिनुभएको छ।

शान्ति सुरक्षा कायम राख्नका लागि प्रशासनले उक्त क्षेत्रमा हिँडडुल गर्न र भेला हुन रोक लगाउँदै कडा सुरक्षा व्यवस्था मिलाएको छ।

 

बीरगञ्जमा पनि निषेधाज्ञा

सुनसरीको साम्प्रदायिक तथा धार्मिक सद्भाव भड्केको घटनाले नेपालको व्यापारिक नगरीको रुपमा चिनिने बीरगञ्जलाई पनि गाँजेको छ । हिजो साँझ मशाल जुलुस निस्केपछि सतर्कता अपनाएको जिल्ला प्रशासन कार्यालय पर्साले आज सिरहामा हिंसा भड्केपछि वीरगञ्जमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बिहीबार साँझ ५ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

वीरगञ्ज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो ।

Share Now