काठमाडौं, १४ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीबाट तराईमा अशान्ति फैलन थालेपछि शान्ति र सद्भावका लागि सन्देश दिनुभएको छ ।
आज अपरान्ह एक सन्देश प्रकाशित गर्दै उहाँले आपसी सद्भावमा खलल नपुर्याउन र आपसमा मिलिजुली बस्न आग्रह गर्नुभएको छ ।
उहाँले दिनुभएको सन्देशमा भनिएको छ: “हामी नेपालीहरु नेपाल निर्माणको सुरुवाति समय देखि नै परस्पर मिलिजुली, हाँसी खुशी एक अर्कामा माया प्रिति गाँसी रहे बसेका जातजाती हौं । हो, हाम्रो समाज बहुजातीय, बहुभाषिक छ । हाम्रा आ(आफ्नै धर्म संस्कृति र रितिथिति छन । हरेकले आ(आफ्ना तबरले आस्था र मान्यता राख्दै आएको हाम्रो परम्परा छ । यही विशिष्ट धार्मिक, सांस्कृतिक एवम सामाजिक गुणका कारणले नै विश्वमा हाम्रो सम्मान पनि रहेको छ । यो प्रकारको नेपाली विशेषता र गौरब गरिमालाई हामीले गुम्न दिनु हुदैन । कोही कसैबाट यसमा खलल पार्ने काम हुनु हुँदैन ।
केही दिन अगाडी सुनसरी जिल्लाको केही गाउँबस्तीमा भडकिएको आपसी द्धन्द र विवादबाट जनधनको क्षति भएको र यसको असर फैलिदै गएर कोशी क्षेत्र र तराइका विभिन्न भू(भागको जनजीवन अशान्त बनेको सुन्दा हामीलाई अत्यन्त दुःख लागेको छ । समाजका सबै समुदायमा सामन्जस्य रहेको देशका रुपमा सुपरिचित नेपालमा यस प्रकारका अवाच्छित घटना, दुर्घटना घट्नु चिन्ताको विषय हो । यो हाम्रो मौलिक मुल्य र मान्यता विपरितको विषय हो । त्यसैले जुनसुकै भू-भागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं । हाम्रो यही आग्रह छ । यही आजको आवश्यकता हो ।
जय नेपाल !”








