Prakash Adhikari August 3, 2026

काठमाडौं, १८ साउन । साताको पहिलो कारोबार दिन नेपालको शेयर बजार ओरालो लागेर बन्द भएको छ। अशुक्रबार बढेर बन्द भएको शेयर बजार यस दिन भने सामान्य अंकले घटेर बन्द भएको हो।

सोमबार धितोपत्र बजार परिसूचक १.२० अंक घटेर २६८४.३३ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.४९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले बढेको छ।

धितोपत्र बजार परिसूचक घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। गत शुक्रबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ४९ स्टकको १ करोड १४ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्रीबाट ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

एभरेष्ट कलर लिमिटेडको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य १ सय ९६ रुपैयाँ ३० पैसा बढेर १ हजार ५ सय ५ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी बढेको छ भने महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन शेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा श्रीनगर एग्रो, सागर डिष्टिलरी, प्राइम डिबेञ्चर ८४, सानिमा ग्रोथ फण्ड, सुपर खुँदी, त्रिस्टार हाइड्रो रहेका छन् ।

कारोबारमा आएको रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य यस दिन सर्वाधिक ७.४० प्रतिशत घटेको छ। यस दिन शेयर मूल्य बढी घट्ने अन्य कम्पनीहरुमा कुमारी बैंक लिमिटेड डिबेञ्चर ८६, सालपा विकास बैंक, भगवती हाइड्रो लुम्बिनी विकास बैंक डिबेञ्चर ८९,कामना सेवा डिबेञ्चर ८७, सानिमा लार्ज क्याप फण्ड आरबीबी म्युचुअल फण्ड २,महिला लघुवित्त संस्था र सामुदायिक लघुविक्त संस्था रहेका छन् ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ६२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको करिब २१ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम १९ करोड रुपैयाँ नाघेको छ। अन्य अधिक कारोबार हुने कम्पनीहरुमा सप्तकोशी विकास बैंक, एनआरएन, श्रीनगर एग्रीकल्चर,साहस ऊर्जा, एभरेष्ट कलर ल्याब, सिद्धार्थ बैंक र कुमारी बैंक रहेका छन् ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ भने बाँकी उपसमूहहरुको परिसूचक सामान्य घटेको छ।

Share Now