नेपालले अष्ट्रेलियाको टप इन्ड टी २० प्रतियोगितामा खेल्ने ; न्युजिल्याण्ड ए संग एक दिवसीय श्रृखला पनि
काठमाडौं, २१ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलियामा हुने टप इन्ड टी २० प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ ।
सार्वजनिक कार्यतालिकाअनुसार नेपालले २१ देखि २९ अगस्टसम्म अस्ट्रेलियामा हुने टप एन्ड टी–२० प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको हो । प्रतियोगितामा नेपालले बंगलादेश हाई–परफर्मेन्स टोली र अष्ट्रेलियाका विभिन्न फेन्जाइजसंग पनि खेल्नेछ।
नेपाली राष्ट्रिय टिमले २१ अगष्टमा नर्दन टेरिटरी स्ट्राइकसंग डार्बिनको डिएक्ससी एरिना(मरारा स्टेडियम)मा खेल्नेछ । २२ अगस्टमा नेपालले बंगलादेशको हाई पर्फरमेन्स टिमसंग नर्थन टेरिटरीको डार्बिनमा अवस्थित टीआईओ (मरारा ओभल)मा खेल्ने छ।
२४ अगष्टमा नेपालले डिएक्ससी एरिनामा होबर्ट हुरिकेनसंग खेल्ने छ ।२६ अगष्टमा डिएक्ससी एरिनामा अष्ट्रेलियन क्यापिटल टेरिटोरी(एसीटी) कोमेटससंग खेल्ने छ । २७ अगष्टमा नेपालले हैदराबाद(एचएच) किंग्स्म्यान(पाकिस्तान)संग गार्डेन ओभलमा खेल्ने छ । २९ अगष्टमा डिएक्ससी एरिनामा भिक्टोरियासंग खेल्ने छ । ३० अगष्टमा सेमिफाइनल र फाइनल खेलहरु हुनेछन् ।
न्युजिल्याण्ड एसंग एक दिवसीय श्रृखला
टप इण्ड टी २० श्रृखला समाप्त भएसंग नेपालले सेप्टेम्बर ६ मा न्युजिल्यान्ड ‘ए’ टोलीविरुद्ध ५० ओभरको एकदिवसीय शृंखला खेल्नेछ ।
दुवै टोलीबीचको खेल आगामी ६ सेप्टेम्बरमा अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट मैदान–२ मा हुनेछ।
यसैबीच, न्युजिल्यान्ड ‘ए’ टोलीको घोषणा गरिएको छ। टोलीमा मुहम्मद अब्बास, आदि अशोक, म्याट बोयल, म्याक्स चु, कटेने क्लार्क, क्रिस्टियन क्लार्क, जोश क्लार्कसन, म्याट फिसर, डिन फक्सक्रफ्ट, ज्याक गिब्सन, मिच हे, बेभोन ज्याकब्स, जेडन लेनोक्स, बेन लिस्टर, राइस मारिउ र टिम रोबिन्सन रहेका छन्।
नेपालका लागि यो अभ्यास खेल आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।








