काठमाडौं, २३ साउन(बीबीसी/न्युज नेपाली) । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले शुक्रवार मध्यरात हुनै लाग्दा फेसबुकमा गरेको पोस्ट उहाँको पार्टी र सांसदहरूप्रति लक्षित रहेको आकलन र व्याख्या भइरहेका छन्।
रास्वपाका कैयौँ सांसदहरूले संसद्मा सरकारको कामबारे प्रश्न गरेकै रात उहाँले गरेको पोस्टमा प्रयोग भएका शब्द र भावबारे सामाजिक सञ्जालमा बहस चलिरहेको छ।
ुकहिलेकाहीँ एक्लै लड्नुपर्छु भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति पार्टीबाट उहाँमाथि भइरहेको दबावप्रति लक्षित रहेको हुनसक्ने एक जना विपक्षी दलका नेताले चर्चा गर्नुभएको छ।
तर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रधानमन्त्री निकट दुई जना नेताहरूले शाहको टिप्पणी पार्टी र नेताहरूप्रति लक्षित नरहेको दाबी गर्नुभएको छ।
प्रधानमन्त्रीले के प्रतिक्रिया पाउनुभयो?
प्रधानमन्त्रीले सन्दर्भ उल्लेख नगरी मानिसहरूलाई नआत्तिन भन्नुभएको छ र एक्लै लड्नुपरेको सङ्केत गर्नुभएको छ।
“केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्”, प्रधानमन्त्रीले लेख्नुभएको छ,”सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।”
प्रधानमन्त्रीको यो पोस्ट आएकै दिन संसद्मा रास्वपाका पूर्व प्रवक्ता मनीष झा, सहायक प्रवक्ता रमेश प्रसाईँ, नेताहरू अमरेश सिंह सहित कैयौँ सांसदहरूले ग्यासको अभाव देखि सरकारका कतिपय कामहरूबारे प्रश्न गर्नुभएको थियो ।
अघिल्लो दिन संसद्मा प्रश्न उठाउनुभएका झाले शनिवार सामाजिक सञ्जालमै प्रधानमन्त्रीको पोस्टबारे प्रतिक्रिया जनाउनुभएको छ।
“परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्”, उहाँले लेख्नुभएको छ ।
बीबीसी न्यूज नेपालीको जिज्ञासामा झाले पार्टीका सांसदहरूबाट सदनमा सरकारका काम कारबाहीमा प्रश्न गरिनु सामान्य लोकतान्त्रिक प्रक्रिया भएको बताउनुभएको छ ।
“बालेन सरकार असफल भयो भने म पनि असफल हुन्छु। मन्त्रिपरिषद्मा भए वा नभए पनि मेरो पनि सफलता त्यसमा जोडिएको छ”, मधेशमा चुनावी अभियानको संयोजकका रूपमा गरिएका वाचा सम्झँदै झाले सरकारमाथि खबरदारी जारी राखिने बताउनुभयो ।
प्रधानमन्त्रीको पोस्ट पार्टीसँग दूरी बढेको प्रति लक्षित रहेको हो भन्ने बीबीसीको जिज्ञासामा झा भन्नुहुन्छ “संवाद जति हुनुपर्ने त्यति नभएको होला तर संवाद नहुँदैमा त्यो निष्कर्षमा पुगिहाल्नुपर्ने अवस्था छैन।”
संसद्को विपक्षी दल नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्रीको पोस्टलाई ‘सत्ता त्यागको लागी व्यापक दबाव बढ्दै गएको’ सङ्केतका रूपमा चर्चा गर्नुभएको छ।
प्रधानमन्त्री बालेन निकट रास्वपा सांसद गणेश कार्कीले प्रधानमन्त्रीको पोस्ट सांसदहरूले संसद्मा उठाएको प्रश्न वा पार्टीप्रति लक्षित नभएको दाबी गर्नुभएको छ।
“उहाँ कविताहरू पनि लेखिरहने मान्छे हो। यो राजनीतिक अर्थ लगाउनुपर्ने गहन विषय नै केही होइन”, उहाँले भन्नुभयो।
सरकारका कामबारे संसद्मा रास्वपाका सांसदहरूबाट उठेका प्रश्नहरू सांसदहरूको व्यक्तिगत स्वतन्त्रतासँग जोडिएको उहाँको दाबी छ।
“हामीले सांसदलाई जनताको प्रतिनिधि भनेर बुझ्ने हो भने त जनताको कुरा कहिले सत्ताको पक्षमा हुन्छ कहिले विपक्षमा हुन्छ। त्यो कुरा भन्ने हो”, कार्की भन्नुहुन्छ ।
प्रधानमन्त्रीले पार्टीबाट आफूलाई एक्लो बनाइएको महसुस नगरेको दाबी रास्वपा सांसद कार्कीको छ।
प्रधानमन्त्री शाह निकट रास्वपाका अर्का नेता रमेश पौड्याल पनि प्रधानमन्त्रीको भनाई आफ्नै दलप्रति लक्षित नरहेको दाबी गर्नुहुन्छ।
“प्रधानमन्त्रीले कहिलेकाहीँ एक्लै लड्नुपर्छ भनेको विषयलाई विचार र दृष्टिकोणको हिसाबले एक्लै पर्दा पनि विचलित हुनुहुन्न भन्ने अर्थमा मैले लिएको छु, व्यक्ति एक्लै लड्ने अर्थमा होइन। अहिले गत निर्वाचनबाट खुम्चिन पुगेका पुराना दलहरूले रास्वापालाई एक प्रकारको घेराबन्दी गर्न प्रयत्न गरिरहेको सन्दर्भको आलोकमा प्रमको भनाइ लाई हेरिनुपर्छ”, पौड्यालले भन्नुभयो।
तर प्रधानमन्त्रीको भनाइबारे उहाँको दलका नेताहरूले दाबी गरेजस्तो बुझाई पार्टी बाहिर देखिएको छैन।
प्रधानमन्त्रीको भनाइ कता लक्षित
राजनीतिक विश्लेषक मुमाराम खनाल प्रधानमन्त्रीलाई कसैले एक्लो बनाएको नभई उहाँको स्वभाव नै सानो समूहमा बस्ने रहेको बताउनुभयो।
“उहाँ एक्लो बनाइएको नभई एक्लो स्वभावका मान्छे हुनुहुन्छ। घुलमिल हुनुहुन्न, अरूसँग संवाद गर्नुहुन्न र सानो समूहमा बस्ने व्यक्ति हुनुहुन्छ”, खनाल भन्नुहुन्छ,”उहाँ शक्तिमा रहेकाहरूको तिखो आलोचनाबाट शक्तिमा आउनुभयो। उहाँ यसअघि पदमा रहँदा आलोचना थिएन भए पनि सुन्ने गरी थिएन। आलोचना सुरु भएपछि सुरुमा प्रतिरक्षामा देखिनुहुन्थ्यो अहिले चाहिँ अलि आतङ्कित भएको मेरो बुझाई छ।”
विश्लेषक खनाल प्रधानमन्त्री शाह पार्टीका सांसदहरूको आलोचनाबाट भन्दा पनि आम मानिसहरूबाट आइरहेका प्रतिक्रियाबाट विचलित भएको हुनसक्ने ठान्नुहुन्छ।
“उहाँ प्राविधिक रूपमा मात्रै पार्टीमा हुनुहुन्छ, भावनात्मक रूपमा हैन। पार्टीप्रति उहाँको रुचि र दृष्टिकोण पनि देखिँदैन”, खनालले बीबीसी न्यूज नेपालीसँग भन्नुभयो,”साङ्गठनिक मान्छेले मात्रै पार्टीबाट आएको कुरालाई हेर्छ। बालेनजस्तो मास लिडरले पार्टी भित्र र बाहिरबाट आएको कुरालाई उस्तै दृष्टिबाट हेर्छन्।”
प्रधानमन्त्रीको पोस्टका पाँच सम्भावित अर्थ
सम्पादक तथा विश्लेषक सुधीर शर्माले प्रधानमन्त्रीको पोस्ट अमूर्त रहेको र उहाँले ‘मनभरि भएको कुरा पनि राम्ररी पोख्न नसकेको’ हुनसक्ने टिप्पणी सामाजिक सञ्जालमा मार्फत् गर्नुभएको छ।
शर्माले प्रधानमन्त्रीको भनाईका पाँच वटा सम्भावित अर्थ पनि लगाउनुभएको छ।
प्रधानमन्त्रीको भनाइले अझै सही समय नआएको र चाँडै काम देखाउन गाह्रो हुने अनुभूतिको सङ्केत गरेको हुनसक्ने शर्माको टिप्पणी छ।
उहाँले ‘ढिलो भएर मान्छेमा छटपटी बढ्यो कि भन्ने चिन्ता’ पनि प्रधानमन्त्रीमा देखिएको हुनसक्ने उल्लेख गर्नुभएको छ।
“बाहिर देखिएभन्दा आफूले भोगिरहेको वास्तविकता फरक छ है भनेर जनतालाई सुनाउन मन लागेछ। तर त्यो वास्तविकता के हो भन्ने कुराचाहिँ खोलिहाल्न नमिल्ने अवस्था रहेछ”, शर्माको टिप्पणी छ।
“हामीले झट्ट हेर्दा १८२ सिटको तागत देख्छौँ, तर सिंहदरबारभित्रको एक्लोपन उत्तिकै पट्यारलाग्दो रहेछ । पहिले मेयर छँदा झैँ अहिले पनि एक्लै लड्नु परिरहेको रहेछ । तर कोसँग लड्नु परेको हो, त्यो भने खुलाउन नसकिने बाध्यता रहेछ।”








