काठमाडौं, २५ साउन । नेपालका सडकहरुका लागि उपयुक्त सवारी साधनहरुको प्रदर्शनी, बुकिड. र किनबेचको त्रिवेणी मानिएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ।
प्रदर्शनी भोलि साउन २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सुरु हुने भएको छ ।
यस बृहत् एक्स्पोको व्यवस्थापकीय कामहरू अन्तिम चरणमा पुगेका छन्।
आयोजकका अनुसार, प्रदर्शनीस्थल भृकुटीमण्डपमा स्टल निर्माण, सजावट र ब्रान्डिङका कामहरू लगभग सकिएका छन्। सहभागी कम्पनीहरूले आफ्ना नयाँ मोडलका सवारी साधन र नवीनतम प्रविधिहरू प्रदर्शनी कक्षमा राख्ने क्रम जारी राखेका छन्। अटोमोबाइल क्षेत्रका व्यवसायी, प्रविधि प्रेमी र सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको यस एक्स्पोमा विद्युतीय तथा इन्धनबाट चल्ने दुवै प्रकारका सवारी साधनहरूको विशेष आकर्षण रहनेछ।
यसपटकको मोबिलिटी एक्स्पोमा विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका दुई पाङ्ग्रे, चार पाङ्ग्रे सवारी साधनहरूका साथै तिनमा लाग्ने टायर, लुब्रिकेन्ट्स, र पार्टपुर्जाहरूको पनि प्रदर्शनी गरिनेछ।
प्रदर्शनीमा अत्याधुुनिक नयाँ प्रविधिका विद्युतीय सवारी साधनहरूको उपलब्धता मुख्य आकर्षण रहने आयोजकको दाबी छ।
साउन २६ गतेदेखि सुरु हुने यो एक्स्पोमा अवलोकनकर्ताहरूले विभिन्न बैंक तथा वित्तीय संस्थाहरू मार्फत सवारी कर्जा र बिमा सम्बन्धी जानकारी समेत एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन्। सवारी साधन खरिद गर्न चाहनेहरूका लागि कम्पनीहरूले विशेष छुट र सुविधाको व्यवस्था समेत गरेका छन्।
राजधानीको मुटु मानिने भृकुटीमण्डपमा हुने यस प्रदर्शनीले नेपालको अटोमोबाइल बजारलाई नयाँ उचाइमा पुर्याउने र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।








