Prakash Adhikari August 10, 2026
तेहरान, २५ साउन (रासस/एएफपी) : इरानले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच गत साता भएको रक्षा सम्झौताले मध्यपूर्व तथा आसपासका मुलुकको संयुक्त राज्य अमेरिकाप्रतिको धारणा परिवर्तन भइरहेको सङ्केत गरेको दाबी गरेको छ । तेहरानले क्षेत्रीय मुलुकहरू आफ्नो सुरक्षा सुनिश्चित गर्न अमेरिकामाथिको निर्भरता घटाउँदै आफ्नै सुरक्षा सहकार्यतर्फ अघि बढिरहेको जनाएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सोमबार साप्ताहिक पत्रकार सम्मेलनमा उक्त सम्झौता क्षेत्रीय सुरक्षा संरचनामा आएको परिवर्तनको सङ्केत भएको बताउनुभयो । उहाँले सुरक्षा कुनै बाह्य शक्तिबाट खरिद गर्न सकिने वस्तु नभएको टिप्पणी गर्दै क्षेत्रका मुलुकले विगतमा जस्तै अमेरिकाले उपलब्ध गराउने सुरक्षा प्रत्याभूतिमा मात्र भर पर्न नसक्ने बताउनुभयो ।
“यस क्षेत्रका देशहरूले सुरक्षा नक्कली मध्यस्थबाट खरिद गर्न सकिने वस्तु होइन भन्ने बुझेका छन्”, बाकाईले भन्नुभयो । उहाँले क्षेत्रीय मुलुकहरू अब आफ्नै क्षमता र पारस्परिक सहकार्यमा सुरक्षा बलियो बनाउन खोजिरहेको बताउनुभयो ।
इरानी अधिकारीले साउदी अरेबिया, टर्की र पाकिस्तानसँग तेहरानको गहिरो धार्मिक, ऐतिहासिक तथा सभ्यतागत सम्बन्ध रहेको उल्लेख गर्दै नयाँ रक्षा सम्झौता इरानलाई लक्षित हुने विषयमा आफूहरू चिन्तित नरहेको पनि स्पष्ट पार्नुभयो ।
“यो सन्धि इरानविरुद्ध हुनेछ भनेर चिन्ता गर्ने कुनै कारण छैन”, बाकाईले भन्नुभयो ।
साउदी अरेबिया, टर्की र पाकिस्तानले गत शुक्रबार रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । यो सम्झौता अमेरिका र इरानबीच पाँच महिनादेखि जारी युद्ध तथा त्यसबाट क्षेत्रीय अस्थिरता बढिरहेको अवस्थामा भएको हो । उक्त द्वन्द्वको प्रभाव आसपासका मुलुकसम्म फैलिएको तथा क्षेत्रीय जल तथा स्थलमार्गमा समेत अवरोध उत्पन्न भएको समाचारमा जनाइएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले सम्झौतामा सहभागी तीन देशमध्ये कुनै एकमाथि भएको आक्रमणलाई सबैमाथिको आक्रमणका रूपमा लिइने जनाएको छ । मन्त्रालयका अनुसार सम्झौताको उद्देश्य तीन देशबीच सामूहिक प्रतिरोध क्षमता बलियो बनाउनु हो ।
नयाँ रक्षा सहकार्यले क्षेत्रीय सुरक्षा समीकरणमा सम्भावित परिवर्तनको चर्चा बढाएको छ । साउदी अरेबिया र पाकिस्तानबीच लामो समयदेखि सुरक्षा सम्बन्ध रहे पनि टर्कीको सहभागिताले यसलाई थप व्यापक क्षेत्रीय सुरक्षा सहकार्यका रूपमा हेरिएको छ ।
विश्लेषकहरूले भने यो सम्झौता इरानको बढ्दो आत्मविश्वासलाई नियन्त्रण गर्ने प्रयासका रूपमा समेत व्याख्या गरेका छन् । साथै, अमेरिकी सुरक्षा प्रतिबद्धता भविष्यमा कति भरपर्दो हुन्छ भन्ने प्रश्न उठिरहेका बेला क्षेत्रीय मुलुकले वैकल्पिक सुरक्षा संरचना निर्माण गर्न खोजेको उनीहरूको भनाइ छ ।
इरानले भने सम्झौतालाई आफूविरुद्ध लक्षित सुरक्षा गठबन्धनका रूपमा नहेरेको जनाएको छ । बरु तेहरानले यसलाई क्षेत्रीय मुलुकहरूले आफ्नो सुरक्षा नीति आफैँ तय गर्न खोजिरहेको सङ्केतका रूपमा व्याख्या गरेको छ । पछिल्लो सम्झौताले मध्यपूर्वमा बाह्य शक्तिमाथिको निर्भरता घटाउने र क्षेत्रीय सहकार्य बढाउने बहसलाई थप बल दिएको छ ।
Share Now