काठमाडौं, २५ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गरिरहनुभएको छ ।
उहाँले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग छलफल गर्नुभएको हो ।
छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा आमन्त्रण गरिएको छ ।
मन्त्रालयको सुवर्ण हलमा हुने छलफलमाअर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा खुलस्त भएर आफ्नो कुरा राख्न र लिखित रूपमा पनि विवरण पेश गर्न आग्रह गर्नुभएको बताइएको छ ।
यसै शृङ्खलाअन्तर्गत यसअघि अर्थमन्त्री वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान गरेका ३३ औद्योगिक घरानासँग छलफल गरिसक्नुभएको छ ।
यस्तै, उहाँले नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग पनि छलफल गरिसक्नुभएको छ ।








