Prakash Adhikari August 11, 2026

 

काठमाडौं, २६ साउन । दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ आजदेखि राजधानीमा सुरु हुँदै छ ।

काठमाडौंको मुटु मानिने भृकुटी मण्डपको प्रदर्शनीस्थलमा हुने नाइमा मोबिलिटी एक्स्पोमा स्वदेशी तथा विदेशी उत्पादनका ५५ वटा ब्रान्डका सयौं गाडीहरू प्रदर्शन गरिने आयोजक पक्षले जनाएको छ । यसै अवसरमा विभिन्न ब्रान्डका ४० वटा नयाँ गाडीहरूसमेत सार्वजनिक गरिने भएको छ ।

नाइमा अटो शोको उद्घाटन नेपाल पुलिस क्लबको ब्लु पिबिलियन हलबाट हुनेछ ।

नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले यो शो नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था देखाउने मात्र नभई, भविष्यको दिशा तय गर्ने एउटा महत्त्वपूर्ण मञ्च भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको छ । यसपटकको एक्स्पोमा प्रविधि, नवप्रवर्तन र दिगो मोबिलिटीका क्षेत्रमा भएका नवीनतम विकासलाई नेपाली उपभोक्तासमक्ष ल्याउँदैछौँ । उद्योग क्षेत्रको उत्साहपूर्ण सहभागिताले एक्स्पोप्रतिको विश्वास अझ बलियो बनाएको छ ।’

त्यस्तै, एक्स्पोको अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव सारडाले नाइमा बोर्ड तथा विभिन्न समितिहरूको नेतृत्व र मार्गदर्शनमा सचिवालयले सदस्य कम्पनी, प्रदर्शक, साझेदार, सरकारी निकाय तथा अन्य सरोकारवालासँग निरन्तर समन्वय गर्दै एक्स्पोको तयारी सम्पन्न गरेको बताउनुभएको छ ।

‘यसपटक प्रदर्शनीसँगै लर्निड सेसन, तालिम तथा जनचेतनामूलक कार्यक्रमहरूलाई पनि विशेष प्राथमिकता दिएका छौँ,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, उद्योगका नेतृत्वकर्ता, विद्यार्थी र सरोकारवालालाई जोडेर ज्ञान आदानप्रदान, सीप विकास र सुरक्षित तथा जिम्मेवार मोबिलिटीप्रति जनचेतना अभिवृद्धि गर्ने हाम्रो उद्देश्य हो ।’

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले नाइमा नेपाल मोबिलिटी एक्स्पो प्रदर्शनी, सिकाइ र जनचेतनाको केन्द्रका रूपमा रहने बताउनुभएको छ।

प्रदर्शनी ३१ साउनसम्म चल्नेछ ।

Share Now