काठमाडौं, २९ साउन। नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरंको तीन दिने राष्ट्रिय भेला आज(शुक्रवार)देखि काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदै छ।
भेलाको आरम्भ बिहान ११ बजेदेखि हुने र दिउँसो १ बजे समुद्घाटन हुने कार्यक्रम छ । भेलाको समुद्घाटन प्रमुख अतिथि हुनुुहुने पार्टीको चौधौं महाधिवेशनबाट निर्वाचित सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ।
लामो समय स्वास्थ्य उपचारका क्रममा विदेश बसेर हिजो (साउन २८ गते) मात्रै उहाँ स्वदेश फर्किनु भएको हो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरूले बाजागाजासहित भव्य स्वागत गरेर चुनदेवीस्थित कार्यालयमा लगेका थिए।
भेलाको प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार पहिलो दिन उद्घाटन कार्यक्रम छ । भोलि र पर्सी( साउन ३० र ३१ गते )बन्दसत्र सञ्चालन हुनेछ। तीन दिनसम्म चल्ने यस राष्ट्रिय भेलामा नयाँ नीति तथा कार्यक्रम तय गर्नका लागि करिब आधा दर्जन विषयगत प्रतिवेदनहरूमाथि घनीभूत छलफल हुने जनाइएको छ।
देशभरबाट करिब पाँच हजार नेता तथा कार्यकर्ताहरूको सहभागिता रहने अनुमान गरिएको यस भेलाले पार्टीको आगामी राजनीतिक दिशा निर्धारण गर्नुका साथै पार्टीमा वृहत्तर एकता स्थापित गर्न मद्दत पुर्याउने आयोजकहरुको दाबी छ।
नेपाली कांग्रेसका नेता वीपी पुत्र डा. शशांक कोइरालाको सभापतित्वमा हुने यस भेलामा नेता डा. शेखर कोइराला र पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्का विशिष्ट अतिथिको रुपमा रहनु हुनेछ ।








