काठमाडौं, ३० साउन। नेपाल एशोसिएसन अफ ट्राभल एन्ड टूर एजेन्ट्स (नाट्टा)ले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार भएको नाट्टाको ५९औं वार्षिक साधारणसभासँगै भएको २५औं कार्यसमितिको निर्वाचनबाट भरतराज पाण्डे अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
नाट्टाको आगामी दुई वर्षे कार्यकालका लागि चुनिएको नयाँ नेतृत्वमा ३ जना सदस्य बाहेक पाण्डेको समूह नै विजयी भएको छ ।
आज बिहान सार्वजनिक मत परिणाम अनुसार अध्यक्ष पदको प्रतिस्पर्धामा पाण्डेले १ सय ८८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी युविका भण्डारीले १ सय ५८ मत र जिस्वां तुलाधर श्रेष्ठले १ सय ६ मत प्राप्त गर्नुभयो ।
निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष पदमा २ सय ५१ मत ल्याएर सुनिल शर्मा र सविता केसी भट्टराई १ सय ७७ मतसहित विजयी बन्नुभएको छ । महासचिवमा राजकुमार देवकोटा १ सय ५८ मत, सचिवमा रमेश पराजुली १ सय ९५ मत, कोषाध्यक्षमा डिकी शेर्पा २ सय ८ मत र सहकोषाध्यक्षमा जीवन कोइराला १ सय ६६ मत ल्याएर निर्वाचित हुनुभएको छ।
कार्यसमिति सदस्यहरूमा स्मारिका थापा, प्रकाश लोहनी, नवीन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभास पौडेल चयन भएका हुनुभएको छ।
एभरेष्ट मिराकल ट्राभल्स एन्ड टूरका निर्देशक रहेका पाण्डेसँग पर्यटन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव छ । उहाँ यसअघि २०२०–२०२२ कार्यकालमा नाट्टाको कार्यसमिति सदस्य रहनुभएको थियो ।
’सशक्त नाट्टा, समृद्ध पर्यटन’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिनुभएका पाण्डेले चुनावमा दिएका मुख्य प्राथमिकताहरूमा सुशासन र पारदर्शिता कायम गरेर नाट्टालाई बलियो बनाउने उल्लेख छ ।
नाट्टामा आचारसंहिता लागू गरी पूर्ण पारदर्शिता र व्यावसायिकता सुनिश्चित भएको संस्था बनाउने विषय पहिलो प्राथमिकता हुने उहाँको प्रतिवद्धता छ।
विश्वका प्रमुख ट्राभल मार्टहरूमा नेपालको सहभागिता बढाउने र नेपालमै अन्तर्राष्ट्रिय स्तरको ट्राभल मार्ट गर्ने पहल पान्डेको अध्यक्षताको नाट्टाले गर्ने उल्लेख गरेका छन् ।
हवाई र यातायात समस्या समाधान आगामी नयाँ कार्यसमितिले आवश्यक प्रयास गर्ने भएको छ । यसका लागि हवाई टिकटमा लागेको भ्याट हटाउन र पर्यटकीय यातायात भ्याट नलगाउने व्यवस्था मिलाउने काम उहाँको कार्यसमितिले गर्ने भएको छ ।
पाण्डेले पर्यटन, हस्पिटालिटी र एभिएसन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बटुल्नुभएको छ । उहाँ एभरेष्ट मिराकल ट्राभल्स एण्ड टूर्सका संस्थापक निर्देशक हुनुहुन्छ ।
ग्यालरी पार्क होटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहनुभएका पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट ट्राभल एन्ड टुरिजम म्याजेजमेन्टमा स्नातकोत्तर (एमटीटीएम) र पोखरा विश्वविद्यालयबाट होटल व्यवस्थापनमा स्नातक (बीएचएम)पूरा गर्नुभएको छ । नाट्टाको नयाँ निर्वाचनमा ३ जना सदस्य भने युविका भन्डारीको प्यानलबाट निर्वाचित भएका छन् ।








