- ओलिभिया आयरलेन्ड
बीबीसी न्यूज नेपाली
लण्डन(संयुक्त अधिराज्य), २ भाद्र । राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले इरानसँग गरिरहेको वार्तामा बाधा पुर्याउन खोजेको खण्डमा अमेरिकाको साझेदार ओमानमाथि नै बम खसाल्ने चेतावनी दिनुभएको फक्स न्यूजले जनाएको छ।
विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण रहेको होर्मुज जलमार्ग खुला गर्ने विषयमा अमेरिका र इरानले अलग अलग वार्ताहरू गरिरहेका छन्। अमेरिका(इरान युद्धका कारण उक्त जलमार्ग पछिल्लो ६ महिना यता लगभग बन्द छ।
फक्स न्यूजका एक संवाददाताका अनुसार ट्रम्पले फोन अन्तरवार्ताका क्रममा ‘अपशब्द’ बोल्दै त्यस्तो चेतावनी दिनुभएको थियो।
यसअघि इरानी अधिकारीहरूले उनीहरूले ओमानसँगको एउटा सम्झौतालाई अन्तिम रूप दिन लागिरहेको बताएका थिए। अमेरिका र इरानबीच भएको एउटा समझदारीपत्रमा उल्लेख गरिएको ६० दिनको समयसीमा सकिएसँगै दुई पक्षबीचको वार्ताको भविष्यलाई लिएर अन्योल देखिएको छ।
अपशब्द प्रयोग गर्दै चेतावनी
सोमवार ओभल अफिसमा संवाददाताहरूसँग कुरा गरिरहनुभएका ट्रम्पलाई बीबीसी न्यूजले उक्त सम्झदारीपत्रको म्याद थपका लागि प्रयास गरिरहनुभएको छ भनेर सोधेको थियो। त्यसमा उहाँले छैन भन्ने जवाफ दिनुभएको थियो।
गएको फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि तेहरानले विश्वको तेल र तरल प्राकृतिक ग्यासको पाँच भागको करिब एक भाग ढुवानी हुने होर्मुज जलमार्गलाई लगभग बन्द गरिदिएको छ। उक्त जलमार्ग खुलाउने विषयमा नै पछिल्ला छलफलहरू केन्द्रित रहँदै आएका छन्।
सो जलमार्गको दक्षिणमा ओमान अवस्थित छ र उसले उक्त द्वन्द्वमा आफू तटस्थ रहेको बताउने गरेको छ। तर पटक पटक इरानबाट आक्रमण खेपेको ओमानले अहिले सो जलमार्ग खुलाउन तेहरानसँगको वार्तामा प्रमुख भूमिका खेलिरहेको छ।
वासिङटनले पनि सो जलमार्ग सञ्चालनमा ल्याउन आफ्नो प्रयासहरू जारी राखेको छ। फक्सका रिपोर्टर ट्रे यिङ्स्टले ट्रम्पलाई उद्धृत गर्दै भन्नुभयो, “यदि ओमानले अवरोध गर्यो भने हामी उनीहरूविरूद्ध पनि नराम्ररी बमबारी गर्नेछौँ।”
ट्रम्पले सम्झौता गर्ने आफ्नो महत्त्वकांक्षामाथि बाधा पुर्याएको अर्थमा कुन कुरालाई लिन्छन् भन्ने प्रस्ट भइसकेको छैन।
इरानको प्रतिक्रिया
फक्ससँगकै उक्त अन्तर्वातामा ट्रम्पले इरानको प्रमुख सैन्य, आर्थिक र राजनीतिक शक्ति इस्लामिक रिभोल्युशनरी गार्ड कोरसँग आफ्नो सोझै गोप्य सम्पर्क माध्यम रहेको पनि बताउनुभएको थियो। तर आइआरजीसीका प्रवक्ताले ट्रम्पको दाबी अस्वीकार गर्नुभएको छ।
आईसीआरजी प्रवक्ताले इरानको अर्ध सरकारी समाचार संस्था तस्नीम न्यूजसँग भन्नुभएको छ, “आइआरसीजीका अधिकारीहरू र अमेरिकी पक्षबीच कुनै वार्ता भइरहेको छैन। ट्रम्पले बोल्नुभएको यो झुट युद्धमा भोग्नुपरेको पराजय र निराशाका कारण उत्पन्न भ्रम तथा दुस्स्वपनको उपज हो।”
इरानले होर्मुज जलमार्गहुँदै पानीजहाजहरूलाई यात्रा गर्न दिने विषयमा दुई देशबीच सहमति भएको बताएको केही घण्टामा नै ट्रम्पको उक्त चेतावनी आएको हो।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघेइले संवाददाताहरूलाई दिएको जानकारी अनुसार दुवै पक्ष(इरान र ओमान)बीच पारवहन जलमार्गको नक्सामा सहमति भएको छ।
उहाँले दुई पक्षले विस्तृत विवरणहरूलाई अन्तिम रूप दिएपछि संयुक्त वक्तव्य जारी गरिने पनि उल्लेख गर्नुभएको थियो। यसअघि ओमानले दुई पक्षबीचको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएको थियो।
यसै महिनाको सुरुमा इरानी विदेश मन्त्री अब्बास अराग्चीले समझदारीपत्रको उल्लङ्घनको विषयलाई लिएर अमेरिकाले इरानलाई दिने क्षतिपूर्तिमा होर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने विषय निर्भर रहेको बताउनुभएको थियो।
एक जना इरानी अधिकारीलाई उद्धृत गर्दै रोएटर्सले विगतमा तेहरानले सो जलमार्गहुँदै यात्रा गर्ने पानीजहाजहरूको कार्गोको मूल्यको ५ देखि ७ प्रतिशत शुल्क तेहरानले खोजिरहेको उल्लेख गर्नुभएको थियो।
फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले आइआरजीसीसँग प्रत्यक्ष ब्याकच्यानल रहेको बताएपनि उहाँले लडाईँ अन्त्य गर्न आफूलाई हतार नभएको बताउनुभएको थियो।
अमेरिका र इरानले १८ जुनमा हस्ताक्षर गरेको समझदारीपत्रले युद्धविराम सुनिश्चित गर्ने र कम्तीमा आंशिक रूपमा होर्मुज जलमार्गलाई खुलाउने लक्ष्य लिएको थियो।
तर दुवै पक्षले केही समयपछि नै आक्रमणहरू थालेपछि त्यो प्रयास विफल भयो।
गएको जुलाई ८ मा ट्रम्पले युद्धविराम समाप्त भएको भन्दै इरानी नेतृत्वको चर्को आलोचना गर्नुभएको थियो।
उक्त समझदारीपत्रको म्याद सकिन लाग्दा अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार आफ्नो सामाजिक सञ्जालको वेबसाइट ट्रुथ सोसिअलमा लेख्नुभएको छ, “सबैभन्दा प्रमुख उद्देश्य र सधैँको उद्देश्य इरानले कुनै पनि आकार वा स्वरूपमा, कुनै पनि हालतमा परमाणु अस्त्र प्राप्त गर्न नपाओस् भन्ने हो।”








