
काठमाडौं,२५ असोज(बीबीसी) । चिम्पान्जी तस्करीबारे गत वर्ष बीबीसी अनुसन्धानबाट भएको खुलासाका आधारमा नेपाल प्रहरीले सो संरक्षित वन्यजन्तु तस्करी गर्ने एउटा प्रयास विफल पारिदिएको छ।
उद्धार गर्दा बूढीऔँला चुसिरहेका थकित अनि भोका चिम्पान्जीका दुई बच्चा देखेपछि प्रहरीहरू नै स्तब्ध हुन पुगेका थिए।
नाइजिरियाको वनमा समातिएका ती ‘वनमान्छे’का बच्चालाई तस्करहरूले विमानमा लुकाएर हजारौँ किलोमिटर टाढा नेपाल ल्याइपुर्याएका थिए।
नेपाल प्रहरीका अनुसन्धान प्रमुख अनुपम राणा भन्छन्, “तिनीहरू साना बच्चाजस्तै थिए।”
लट्ठ्याउने औषधी दिएर सामान राख्ने बट्टामा लुकाइएका यी वन्यजन्तु ओसार्न छ देशमा सक्रिय वन्यजन्तु तस्करहरूको सञ्जाल सक्रिय भएको थियो।
अवैध व्यापार
चिम्पान्जी सङ्कटापन्न जीव भएपनि तिनलाई घरमा पाल्नका लागि तस्करी गर्ने गरिएको छ।
एउटाको १२,५०० डलर (झन्डै १४ लाख रुपैयाँ) मूल्य राखेर तिनलाई अवैध रूपमा बेच्न लागिएको थियो।
विश्वभरि प्रत्येक वर्ष हुने अर्बौँ डलर बराबरका वन्यजन्तुको तस्करीबारे यसै साता लन्डनमा आयोजित वन्यजन्तुको अवैध व्यापारसम्बन्धी सम्मेलनमा छलफल हुँदैछ।
भयावह बनिरहेको चिम्पान्जी तस्करीबारे बीबीसीले गरेको अनुसन्धान र खुलासाबारे समाचार हेरेका काठमाण्डूका प्रहरी अधिकारीहरूले यी दुईको उद्धार गरेका हुन्।
कसरी हुन्छ तस्करी?
वनमा चोरसिकारीले एउटा चिम्पान्जीको बच्चा समात्नको लागि उसको परिवारका १० वटासम्म वयस्क सदस्यलाई मार्ने गरेको विज्ञहरू बताउँछन्।
त्यसरी मारिएका चिम्पान्जीको मासु पनि बेच्ने गरिन्छ। त्यसपछि बच्चा वन्यजन्तु तस्करसँग सम्पर्क भएको दलालको हातमा पुग्छन्।
बीबीसी अनुसन्धानले कसरी दर्जनौँ वा त्योभन्दा बढी सङ्ख्यामा चिम्पान्जीहरू पश्चिम अफ्रिकी देशबाट मध्यपूर्व र एशियाका ग्राहक समक्ष पुर्याइएको थियो भनेर खुलासा गरेको थियो।
बीबीसीले आइभोरी कोस्टदेखि नेपालसम्मको यात्राको क्रममा टर्कीको इस्तानबुलमा एउटा वनमान्छेको बच्चा मरेको समाचार प्रसारण गरेपछि नेपाल प्रहरी उनीहरूले सोच्दै नसोचेको खतराका विषयमा सतर्क भएका थिए।
पोहोरको घटना
गत वर्षको अक्टोबरमा काठमाण्डू विमानस्थलमा उत्रिएको टर्किश एअरलाइन्सको विमानबाट एउटा शङ्कास्पद बट्टा झारिएको खबर नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरो सीआईबीलाई प्राप्त भएपछि प्रहरीले खोजी थालेको थियो।
त्यो बट्टा राखिएको भ्यानलाई पछ्याएको प्रहरीले पछि त्यसमा विभिन्न खण्डहरू बनाइएको, माथिल्ला खण्डमा सुगाजस्ता सामान्य चरा राखिएको पायो। तल्लो खण्डमा चाहिँ सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखिएका साना चिम्पान्जी थिए।
प्रहरी नायब उपरीक्षक अनुपम राणा भन्छन्, “चिम्पान्जीका बच्चाको आँखामा हेर्दा साह्रै दु:ख लाग्यो। उनीहरू बोल्न सक्दैनथे, तर उनीहरू एकदमै थकित र एकदमै विचलित देखिन्थे। उनीहरूको अवस्था साह्रै नराम्रो थियो।”
नौ जनाविरुद्ध मुद्दा
नेपाल प्रहरीको सुरक्षा कारबाहीपछि पक्राउ गरिएका नौ जनाविरुद्ध अहिले मुद्दा चलिरहेको छ।
यी चिम्पान्जीका बच्चालाई उत्तरी नाइजिरियामा सिकारीहरूले समातेर एक पाकिस्तानी व्यक्तिलाई बेचिएको आशङ्का गरिएको छ।
दुबईमा पैसा साटेर ती सिकारीलाई पैसा दिइएको आशङ्का गरिएको छ।
यी वनमान्छेका बच्चालाई नाइजिरियाको लेगोस सहरसम्म मोटरमा ल्याएर टर्किश विमानमा इस्तानबुल ल्याइएको र त्यहाँबाट काठमाण्डू ल्याइएको थियो।
नेपालको बाटो हुँदै यी दुईलाई भारत लग्न खोजिएको आशङ्का छ।
नेपाल प्रहरीको सीआईबीका तत्कालीन प्रमुख पुष्कर कार्कीको भनाइमा वन्यजन्तु तस्करी अपराध दुई ठूला छिमेकी चीन र भारतबीच अवस्थित नेपालमा अहिले अर्को ठूलो समस्याको रूपमा देखा पर्न थालेको छ।
कूटनीति
उद्धार गरिएको भए पनि ती दुई चिम्पान्जी अहिले नेपाल र नाइजिरियाबीच कूटनैतिक द्वन्द्वमा अल्झिएका छन्।
वन्यजन्तु र वनस्पतिको गैरकानुनी व्यापार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिअनुसार पक्राउ परेका वा समातिएका वन्यजन्तुलाई तिनको उद्गम मुलुकमै फिर्ता गर्ने नियम छ।
नाइजिरियाले यी चिम्पान्जी फिर्ता हुनुपर्ने माग नेपालसमक्ष राखेको छ।
तर नेपालले यी जीवलाई तस्करीमा संलग्न व्यक्तिहरू मुछिएको मुद्दाको प्रमाणको रूपमा राख्न खोजेको छ।
यी जनावर हाल अन्य वन्यजन्तु र चराहरू पनि भएको सदर चिडियाखानामा एउटा कुनामा पिँजडामा राखिएका छन्।
उमेरसँगै शरीराकृति पनि बढिरहेका यी जनावरको सुरक्षा र स्याहारसुसारका लागि कर्मचारीहरू खटिएका छन्।