
काठमाडौं, २६ असोज । कस्केली प्रजातान्त्रिक समाजले बडा दशै,तिहार,नेपाल सम्वत,छठ र ईद पर्वको उपलक्ष्यमा राजधानीमा रहेको प्रजातन्त्रवादी कस्केलीहरुका बीचमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका पूर्व सभामुख तारानाथ रानाभाटले नेपाल धर्म,संस्कृति र परम्परामा असाध्यै धनी भएको तर त्यसलाई जोगाउन नसक्दा सामाजिक विकृति र विश्रृखलता सिर्जना भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विजया दशमी सहित हिन्दु धर्ममा देवीहरुको ठूलो महिमा छ तर अहिले घरघरमा देवीहरु असुरक्षित छन् ।’
प्रमुख अतिथि रानाभाटले चाड पर्वहरु एकापसमा सहिष्णुता र सद्भाव अभिबृद्धि गर्ने माध्मम भएकोले हर्षोल्लासपूर्वक मनाउन सबैमा आग्रह गर्नुभयो ।
कार्यक्रममा समाजका अध्यक्ष सूर्यबहादुर गुरुड.ले आफू कामको सिलसिलामा केही समय मुलुक बाहिर रहने भएकोले संस्थाको सञ्चालन गर्ने कार्यभार उपसभापति ई.अच्युत पहाडीलाई सुम्पेको घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा कार्यवहाक सभापति ई.अच्युत पहाडीले कास्कीबाट काठमाडौ आउनुभएका प्रजातन्त्रवादीहरुलाई एकै स्थानमा ल्याएर समग्र देश र जिल्लाको समेत विकास निर्माणका कार्यमा सरिक गराउने उद्देश्यले संस्थाको स्थापना गरिएको बताउनुभयो ।
उहाँले २०४० सालदेखि परिकल्पना भएर २०५१ सालमा मात्र विधिवत रुपमा स्थापना भएको संस्थाले लोकतन्त्रका पक्षमा जनमत सिर्जना गर्न र कास्कीका विभिन्न विकास निर्माणका कार्यमा सघाउन काम गर्दै आएको बताउनुभयो ।
संस्थाका महासचिव सूर्य भण्डारीले सञ्चालन गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा पोखरेली दिदी बहिनी समूहको पनि बाक्लो उपस्थिति रहेको थियो ।