
वायुमास ओभल क्रिकेट मैदान,क्वालालम्पुर(मलेशिया) २५ असोज । आईसीसी टि-२० बिश्व कप छनौट एसिया (पूर्वी) छनौट प्रतियोगिता अन्तर्गत छैठौ खेलमा आज नेपाली टोली सिंगापुरसंग प्रतिस्पर्धा गर्दैछ ।प्रतियोगिता नेपाली समय अनुसार १२ः१५ मा सुरु हुनेछ ।
मलेशियाको वायुमास ओभल क्रिकेट मैदानमा हुने यो सेरिजको अन्तिम प्रतियोगितामा नेपाल विजयको तयारी गरिरहदा नेपाली युवा खेलाडी सन्दीप लामिछाने नर्याँ कीर्तिमानको ढोकैमा पुगेका छन् ।
विगत एक बर्षको अन्तराल विश्व क्रिकेट समुदायमा नेपालको नाम उचो राख्दै आएका सन्दीपले यु १९ समूहमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि सर्वाधिक विकेट लिने रेकर्ड कायम गरिसकेका छन । गत बर्ष जुलाईमा सिंगापुरमा सम्पन्न यु-१९ बिश्वकप छनौट प्रतियोगितामा उनले ६ खेलमा कुल २४ विकेट लिंदै किर्तिमान कायम गरेका थिए।
अहिले उनी नेपालको राष्टिय टीमको लागि एकै प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड कायम गर्ने चरणमा पुगेका छन् । यस पूर्व बसन्त रेग्मी र बिनोद दासको नाममा रहेको छ। रेग्मीले सन् २०१२ को डिभिजन(४ प्रतियोगितामा तथा बिनोद दासले सन् २००५ को एसीसी फास्ट ट्रयाक कन्ट्रीज (तिन दिवसीय) प्रतियोगितामा २१ विकेट लिएका थिए। यु-१९ स्तरमा राहुल बिश्वकर्माले सन् २०११ को यु-१९ बिश्वकप छनौट प्रतियोगितामा समान २१ विकेटनै लिएका थिए।
चालु आइसीसी टी २० विश्वकपको एशिया (पूर्वी) उपक्षेत्र छनोट चरणका पाँच खेलमा सन्दीपले २० विकेट लिईसकेका छन् । आजको खेलमा उनले दुई विकेट लिन सके भने एकै प्रतियोगिताका खेलमा सर्बाधिक विकेट लिने रेकर्ड उनको बन्नेछ । १ विकेट मात्र लिएको अवस्थामा उनी बसन्त रेग्मी र विनोद दासको समकक्षमा पुग्नेछन् ।
सिंगापुरसंगको खेलमा विजयी हुनेमा नेपाली खेलाडीहरु विश्वस्त छन् । नेपालले सिंगापुरसंग विगतमा दुई पटक टि-२० प्रतियोगितामा खेलेको छ। दुवै पटक नेपालले सिंगापुरमाथि सहज विजय प्राप्त गरेको थियो ।
सन् २००९ मा युएईमा भएको एसीसी टि-२० प्रतियोगितामा पाँचौ स्थानको लागि भएको खेलमा टस जितेर ब्याटिंग गरेको सिंगापुरले १९.४ ओभरमा ८९ रनमै सबै विकेट गुमाएपछि नेपालले १४.२ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पछ्याएको थियो।
त्यस्तै सन् २०१३ मा नेपालमा भएको एसीसी टि-२० को समुह चरणको खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले टि-२० क्रिकेटमा पहिलो पटक र अन्तिम पटक २१० रनको योगफल तयार गरेको थियो।
२११ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ८९ रनमै सबै विकेट गुमाउन पुग्यो।
यो बाहेक गत महिना मलेशियामा सम्पन्न ५० ओभरको एशिया कप छनौट प्रतियोगितामा नेपालले सिंगापुलाई ४ विकेटले जितेको थियो ।