Prakash Adhikari August 28, 2026

 

काठमाडौं, १२ भाद्र । यही भाद्र १० गते चीनको तिब्बती भूभागबाट आएको बाढी भोटेकोशी र त्रिशुली नदीमा प्रवेश गरेपछि त्यसले गरेको विनासबाट नेपालका धेरै जिल्लाका नागरिक र विदेशी पर्यटकहरु समेत प्रभावित भएका छन् ।

अहिले विभिन्न जिल्लाबाट बाढी प्रभावित क्षेत्रमा काम गर्ने नेपाली राष्ट्रसेवक, गैरसरकारी संस्थामा काम गर्ने कर्मचारी, जलविद्युत आयोजनामा काम गर्ने नागरिकहरु सम्पर्कविहिन भएका समाचारहरु आइरहेका छन् । हालसम्म यी जिल्लाबाट सो क्षेत्रमा गएका आफ्ना नागरिकहरु सम्पर्कविहिन भएको विवरणहरु प्राप्त भएका छन् ः

बाढीपछि बर्दियाका ९० जना सम्पर्कविहीन
बर्दिया: रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि बर्दियाका ९० जना सम्पर्कविहीन भएका छन् । त्यहाँस्थित जलविद्युत् आयोजना, कन्स्ट्रक्सन कम्पनीलगायतमा कार्यरत रहेका उनीहरु सम्पर्कविहीन भएका हुन् ।
बाढीबाट सम्पर्कविहीन हुनेहरुमा गुलरिया नगरपालिकाका दुई, बाँसगढी नगरपालिकाका १८, राजापुर नगरपालिकाका १६, बारबर्दिया नगरपालिकाका २५, ठाकुरबाबा नगरपालिकाका १३, मधुवन नगरपालिकाका एक, गेरुवा गाउँपालिकाका १४ तथा एक जना पालिका नखुलेका व्यक्ति बाढीपछि सम्पर्कविहीन भएका बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताउनुभयो ।
सम्पर्कविहीन हुनेहरुमध्ये पावर चाइना हाइड्रोपावर, अपर त्रिशूली हाइड्रोपावर, त्रिशूली हाइड्रोपावर, रसुवागढी कन्स्ट्रक्सन कम्पनी, रसुवा सुरुङमार्गमा कामदारका रुपमा काम गर्न गएका व्यक्तिहरु रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् ‘फोकल पर्सन’ लोकप्रसाद ढकालले बताउनुभयो ।
ठाकुरबाबा नगरपालिका–२ का धनिराम थारु चाइना हाइड्रोपावरमा एक महिनाअगाडि काम गर्न गएका थिए । यही भदौ ९ गते राति ८ः०० बजे परिवारसँग कुराकानी भएको र त्यसपछि सम्पर्क हुन नसकेको उहाँका ज्वाइँ रामबहादुर थारूले बताउनुभयो । उहाँसँगै ठाकुरबाबा–२ का एक र वडा नं ६ का एक जना गरी ३ जना हाइड्रोपावरमा काम गर्न गएको परिवारले जनाएको छ ।
यसैगरी, राजापुर–९ का प्रदीप थारू रसुवाको हाइड्रोपावर कम्पनीमा गाउँका अन्य चार जनासहित केही महिनाअगाडि काम गर्न गएका थिए । यही भदौ ९ गते आमासँग कुराकानी भएको र बुधबार बाढीपछि सम्पर्क हुन नसकेको उहाँका भिनाजु सन्दीप थारूले जानकारी दिनुभयो ।
भोटेकोशी बाढीबाट सम्पर्कविहीन रहेका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्दै खोज तथा उद्धारका लागि रसुवाका सुरक्षा निकायसँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बर्दियाबाट रसुवामा कति व्यक्ति काम गर्न गएका थिए, कुनै जानकारी छैन । सम्पर्कविहीन भएका व्यक्तिहरुको तथ्याङ्क लिने र खोज तथा उद्धारका लागि समन्वय गरिरहेका छौँ ।”
रसुवाको मैलङ्मा बर्दियाका २०० जना सुरक्षित रहेको र उद्धारको पर्खाइमा रहेको बर्दिया क्षेत्र नंं १ बाट प्रतिनिधित्व गर्ने सङ्घीय संसद् ठाकुरसिंह थारूमार्पmत जानकारी आएको जिल्ला प्रशासन कार्यालयका विपद् फोकल पर्सन ढकालले जानकारी दिनुभयो । यस्तै, पावर चाइना हाइड्रोपावर कम्पनीमा काम गर्न गएका बर्दियाका करिब १५ जना आधारभूत विद्यालय उत्तरगया–१ मा सुरक्षित रहेको र उद्धारको प्रर्खाइमा रहेको गेरुवाका धनिराम दहितले जानकारी दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले भोटेकोशी बाढीबाट सम्पर्कविहीन रहेका बर्दियाका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गरिरहेको छ । खोज तथा उद्धारका लागि रसुवाका प्रशासनसँग समन्वय गरिरहेको जनाएको छ ।
पोखराका १० जना सम्पर्कविहीन
पोखरा: रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको बाढीपछि पोखराका १० जना सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालयमा प्राप्त जानकारीका आधारमा सम्पर्कविहीन व्यक्तिहरूको विवरण सङ्कलन गरी खोजी कार्यका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।
सम्पर्कविहीन हुनेमा महिला र पुरुष समान पाँच/पाँच जना छन् । पोखरा-१७ की सविना पौडेल, पोखरा-१५ का छमप्रकाश थापा र मनु बुढा, पोखरा-५ की सृष्टि बास्तोला, पोखरा-६ का अभिषेक आचार्य, पोखरा-१२ का लिलाबहादुर थापा र सुमन श्रेष्ठ, पोखरा-१५ की देवीकुमारी गुरुङ, पोखरा-१३ की विनु गुरुङ तथा पोखरा-१४ का गोविन्दबहादुर अधिकारी रसुवाबाट सम्पर्कविहीन भएका छन् ।
त्यस्तै, स्थायी ठेगाना धनगढीमाई नगरपालिका सिराहाका आनन्दकुमार महतो, सिन्धुलीका प्रवीन पुर्जा, काठमाडौँमा  भएका राजेश शर्मा र प्रमिला पाठक पनि सम्पर्कविहीन भएका भन्दै खोजीका लागि आफन्तले प्रशासनमा निवेदन दिएको सहायक प्रजिअ बरालले बताउनुभयो । बेपत्ता भएकाहरु रोजगारी, तीर्थयात्रालगायत कामका लागि गएकाहरू रहेका आफन्तबाट जानकारी पाइएको प्रजिअ बरालले बताउनुभयो ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय कास्कीले कास्कीबाट रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित विभिन्न क्षेत्रमा रोजगारी, व्यापार व्यवसाय तथा अन्य कामकाजको सिलसिलामा गई विपद्पश्चात् हालसम्म आफन्तको सम्पर्कमा नआएका कोही भएमा हुलियासहित प्रहरीमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
भोटेकोशी बाढीपछि मकवानपुरका ७० जना सम्पर्कबाहिर
हेटौँडा : रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि मकवानपुरका ७० जना सम्पर्कबाहिर रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार रसुवासहित बाढी प्रभावित क्षेत्रमा पुगेका जिल्लावासीसँग सम्पर्क हुन नसकेको भन्दै उनीहरूका आफन्तले प्रशासनलाई विवरण टिपाएका हुन् । सम्पर्कविहीन भनिएकामध्ये केही व्यक्ति आफन्तको सम्पर्कमा आउन थालेको उहाँले जानकारी दिनुभयो । प्रारम्भिक विवरणअनुसार सम्पर्क हुन नसकेकामध्ये गोसाइँकुण्डलगायत क्षेत्रमा दर्शन तथा भ्रमणका लागि पुगेका, बाढी प्रभावित क्षेत्रमा सवारीसाधन चलाउँदै आएका तथा विभिन्न पेसा–व्यवसायमा संलग्न व्यक्ति छन् ।
प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएकाले विवरणमा समावेश सबै व्यक्तिको अवस्था यकिन भइनसकेको प्रजिअ अधिकारीले बताउनुभयो । मोबाइल फोन बन्द भएको, बाढीले बगाएको वा नेटवर्कमा समस्या आएका कारण पनि परिवारसँग सम्पर्क टुटेको हुनसक्ने उहाँको भनाइ छ ।
“आफन्त सम्पर्कमा नरहेको भन्दै फोनमार्फत विवरण टिपाउने क्रम जारी छ । तर पछि सम्पर्कमा आएका व्यक्तिका बारेमा पुनः जानकारी नगराएकाले यकिन तथ्याङ्क निकाल्न कठिन भएको छ,” उहाँले भन्नुभयो । प्रशासनले प्राप्त विवरणका आधारमा बाढी प्रभावित क्षेत्रका प्रशासन, सुरक्षा निकाय तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी उनीहरूको अवस्था पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ ।
कैलालीबाट सम्पर्कविहीन हुनेको सङ्ख्या ४९ पुग्यो
कैलाली:  रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कैलालीका ४९ जना सम्पर्कविहीन भएका छन् । यसअघि ४० जना सम्पर्कविहीन भएका जानकारी पाइएकामा आफन्त तथा परिवारका सदस्यले प्रहरीमा थप नाम टिपाएपछि उक्त सङ्ख्या ४९ पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो ।
काम, व्यवसाय तथा अन्य सिलसिलामा बाढी प्रभावित क्षेत्रमा पुगेका कैलालीका नागरिक सम्पर्कमा नआएपछि उहाँहरूका आफन्त तथा परिवारका सदस्यमार्फत विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ । पछिल्लो विवरणमा थप नौ जनाका आफन्तले प्रहरीमा जानकारी गराएका उहाँले बताउनुभयो ।
प्रहरी नायब उपरीक्षक तिमिल्सिनाका अनुसार रसुवामा रहेका आफन्त तथा परिवारका सदस्यसँग सम्पर्क हुन नसकेको भन्दै प्रहरीमा नाम टिपाउने क्रम जारी छ । आफन्तबाट प्राप्त सूचनाका आधारमा प्रहरीले सम्पर्कविहीन व्यक्तिको विवरण सङ्कलन तथा अद्यावधिक गरिरहेको छ ।
रसुवामा विभिन्न काम, व्यवसाय तथा अन्य सिलसिलामा पुगेका कैलालीवासीको अवस्था बुझ्न सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीनको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको तिमिल्सिनाले बताउनुभयो । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ ।
सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन
सुदूरपश्चिम:  भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हालसम्म सुदूरपश्चिम प्रदेशका एक सयभन्दा बढी नागरिक सम्पर्कविहीन रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, कैलालीले यहाँका नौवटै जिल्लाबाट आफन्तको खोजीका लागि जानकारी आइरहेको र त्यसक्रममा एक सयभन्दा बढी बढी सम्पर्कविहीन रहेको सूचना आएको जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले तीमध्ये कैलालीका ३१, कञ्चनपुरका २९, डडेल्धुराका १५, बाजुराका १४, बैतडीका चार, दार्चुला तीन, डोटीका दुई, बझाङका दुई र अछामका एक जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको जानकारी दिनुभयो ।
कैलालीका मात्र ४९ जना सम्पर्कविहीन भएका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो । बाढी प्रभावित क्षेत्रमा काम, व्यवसाय तथा अन्य सिलसिलामा पुगेका उनीहरु हालसम्म परिवार तथा आफन्तसँग सम्पर्कमा नआएको उहाँले बताउनुभयो । प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका व्यक्तिको विवरण टिपाउन प्रहरीले आफन्तजनलाई अनुरोध गरेको छ ।
कास्कीका १४ जना सम्पर्कविहीन
कास्की: रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका १४ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा सरकारी कर्मचारीदेखि तीर्थयात्रीसम्म रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पोखरा महानगरपालिका–१७ का सविना पौडेल, पोखरा–१५ का छमप्रकाश थापा, मनु बुढा, पोखरा–५ का सृष्टि बास्तोला, पोखरा–६ का अभिषेक आचार्य, पोखरा–१२ का लिलाबहादुर थापा, सुमन श्रेष्ठ, पोखरा–१५ का देवीकुमारी गुरुङ, पोखरा–१३ का विनु गुरुङ र पोखरा–१४ का गोविन्दबहादुर अधिकारी रहनुभएको छ ।
यस्तै सिराहा घर भई हाल पोखरामा बसोबास गर्नुहुने आनन्दकुमार महतो, सिन्धुली घर भई पोखरा बस्दै आउनुभएका प्रविन पुर्जा, काठमाडौँ घर भई पोखरा बसोबास गर्नुहुने राजेश शर्मा र प्रमिला पाठक बाढीपछि सम्पर्कविहीन भएको भनी उहाँहरूका आफन्तले जानकारी गराएको सहायक प्रजिअ बरालले बताउनुभयो ।
“हालसम्म बाढीमा हराउनुभएका कास्कीका १४ जना परिवार र आफन्तको सम्पर्कमा नआएको पाइएको छ”, उहाँले भन्नुभयो, “बाढीमा सम्पर्कविहीन भएका अन्य व्यक्तिका विषयमा पनि विवरण प्राप्त हुने क्रम जारी छ ।”
बाराका १५ जना सम्पर्कविहीन
बारा : रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका १५ जना सम्पर्कविहीन बनेका छन् । बाढीपछि रसुवाको विभिन्न स्थानमा काम तथा अन्य प्रयोजनका लागि पुगेका व्यक्ति परिवार तथा आफन्तको सम्पर्कमा नआएका बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिनुभयो ।
“बाढीका अझ कति सम्पर्कविहीन भएका छन् त्यसको यथार्थ खोजी तथा सूचना सङ्कलन गर्ने काम सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “विभिन्न स्रोतबाट अहिलेसम्म १५ जना सम्पर्कविहीन भएका भन्ने सूचना सङ्कलन गरिएको छ ।” सूचना सङ्कलन कार्यलाई जारी राखिएको जनाउँदै उहाँले यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको बताउनुभयो ।
हालसम्म प्राप्त विवरणअनुसार मकवानपुर छतिवन गाउँपालिका-४ नयाँ डुमर स्थायी ठेगाना भई बारामा बस्दै आएका मदन स्याङ्दोला लामा, बाराको परवानीपुर गाउँपालिका-५ बहुअरीका नमनारायण सिंह, कलैया उपमहानगरपालिका-२२ धोधाटोलका सत्यप्रकाश राम र आदर्श कोतवाल गाउँपालिका-१ चिउटाहाका अङ्कित पटेल सम्पर्कविहीन भएका सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।
सहायक प्रजिअ भट्टराईका अनुसार प्रसौनी गाउँपालिका-३ का जितेन्द्रकुमार दास, कलैया उपमहानगरपालिका-२३ का श्रीनिवास मण्डल, जितपुरसिमरा उपमहानगरपालिका-१६ का रञ्जित श्रेष्ठ, करैयामाई गाउँपालिका-२ का धिरेन्द्र चौधरी, सुवर्ण गाउँपालिका-५ औरैयाका रमेशकुमार साह र सुवर्ण गाउँपालिका-४ हरैयाका रमेशकुमार यादव पनि सम्पर्कविहीन भएका छन् ।
यसैगरी, निजगढ नगरपालिका-९ शान्तिटोलका राजु बिष्ट, निजगढ नगरपालिका-९ का दिनेश परियार, कलैया उपमहानगरपालिका-६ आदर्शटोलका देवेश भट्टराई, सुवर्ण गाउँपालिका-१ का सुरजकुमार साह र निजगढ नगरपालिका-८ का उत्तम न्यौपाने भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।
सम्पर्कविहीन भएकामध्ये केही रसुवामा, केही भोटेकोशी क्षेत्रमा तथा केही रसुवाका जलविद्युत् आयोजना र अन्य काममा खटिएका थिए । केही व्यक्ति त्रिशूली हाइड्रोपावर तथा रसुवाका विभिन्न आयोजनामा कार्यरत रहेको जानकारी प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
भोटेकोशी नदीमा बुधबार गएको आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको जनाइएको छ । बाढीपछि सयौँ मानिस सम्पर्कविहीन भएको र खोज तथा उद्धार कार्य जारी रहेको छ । बाराका सम्पर्कविहीन व्यक्तिहरुको खोजी तथा अवस्थाबारे सम्बन्धित निकायमार्फत थप विवरण सङ्कलन गर्ने कार्य भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
“हामी गम्भीर भएर बाढीमा हराएका बाराका नागरिकको सूचना सङ्कलन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्यका लागि हामी संवेदनशील भएर लागेका छौँ ।” सम्पर्कविहीन भएकाहरूको सङ्ख्या अझ बढ्न सक्ने अनुमान पनि गरिएको उहाँले बताउनुभयो । अहिलेसम्म भेटिएका शवहरू बाढीपछि सम्पर्कविहीन बनेका बाराका व्यक्तिको नभएको उहाँले जानकारी दिनुभयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय वडाध्यक्षमार्फत सम्पर्कविहीनहरूको विवरण सङ्कलन गर्ने कार्य भइरहेको प्रजिअ मिश्रले जानकारी दिनुभयो । परिवारजनले सम्पर्कविहीन व्यक्तिको अवस्था तत्काल सार्वजनिक गरी खोजी तथा उद्धारलाई थप प्रभावकारी बनाउन आग्रह पनि गरेका छन् ।
धादिङका ७९ जना सम्पर्कविहीन
धादिङ: रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि धादिङका ७९ जना अझै सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी नीलकण्ठ नगरपालिकाका २३ जना रहेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार सम्पर्कविहीन हुनेमा रुबीभ्याली गाउँपालिकाका १३, धुनीबेँसी नगरपालिकाका १०, बेनीघाट रोराङ गाउँपालिकाका आठ, गल्छी गाउँपालिकाका सात तथा थाक्रे र सिद्धलेक गाउँपालिकाका छ–छ जना रहेका छन् ।
त्यस्तै गजुरी गाउँपालिकाका दुई, नेत्रावती डबजोङ गाउँपालिकाका दुई तथा गङ्गाजमुना र ज्वालामुखी गाउँपालिकाका एक–एक जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ पौडेलले राससलाई जानकारी दिनुभयो । बुधबार गएको बाढीले धादिङमा पाँच पक्की पुल र १२ झोलुङ्गे पुलमा क्षति पु¥याएको छ । जिल्लामा हालसम्म २५ शव फेला परेको छ । तीमध्ये २० शव व्यवस्थापनका लागि पोखरा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
बाढी तथा पहिरोका कारण पृथ्वी राजमार्गसँग सदरमुकाम धादिङबँेसीको सडक सम्पर्क प्रभावित बनेपछि सवारीसाधन सञ्चालनका लागि वैकल्पिक मार्ग मर्मतसम्भारको काम भइरहेको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार राजमार्ग क्षेत्रमा अवरोध हटाउने तथा सडक मर्मतको काम जारी रहे पनि तत्काल पूर्ण रूपमा राजमार्ग सञ्चालनमा आउन सकेको छैन । प्रभावित सडक तथा फुर्केखोलामा बेलिब्रिज सञ्चालनका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।
गुल्मीका सात जना सम्पर्कविहीन
गुल्मी : भोटेकोशी नदीमा आएको बाढीका कारण गुल्मीका सात व्यक्ति सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको सूचनाअनुसार रुरुक्षेत्र गाउँपालिका–५ का अनिता पुरी र मालिकागाउँपालिका–७ का दिनेश घिमिरे रसुवा भन्सार कार्यालयमा कार्यरत रहेकै अवस्थामा बाढीमा परी सम्पर्कविहीन हुनुभएको जनाएको छ ।
यसैगरी, रुरुक्षेत्र गाउँपालिका–६ का ३९ यमबहादुर दर्लामी, छत्रकोट गाउँपालिका–४ का गणेश ज्ञवाली, सत्यवती गाउँपालिका–८ धनबहादुर गलामी र रुरुक्षेत्र गाउँपालिका–३ का ५०  कपिलमणि ज्ञवाली पनि हालसम्म सम्पर्कविहीन हुनुभएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभएको छ । उहाँहरु चारमध्ये तीनजना जलविद्युत् आयोजनामा प्राविधिक र एकजना सुरक्षा गार्डमा कार्यरत रहेको थिए ।
यसैगरी, मानसरोवरको तीर्थयात्राको सिलसिलामा चीनको सीमा क्षेत्र पुग्नुभएका कालीगण्डकी गाउँपालिका–१ हर्मीचौरका ३७ वर्षीय शिव न्यौपाने पनि बाढीपछि हालसम्म सम्पर्कमा आउनुभएको छैन ।
बाढीमा परी बेपत्ता भएका नागरिकहरूको खोजी तथा उद्धारका लागि रसुवास्थित स्थानीय प्रशासन, सुरक्षा निकाय र आफन्तहरूसँग निरन्तर समन्वय भइरहेको तथा खोजी कार्यलाई तीव्रता दिइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो  ।
 खोटाङका आठ व्यक्ति सम्पर्कविहीन
खोटाङ : भोटेकोशी बाढीका कारण खोटाङका आठ व्यक्ति सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा रसुवा तथा आसपासका जिल्लामा रहेको आठ खोटाङवासी सम्पर्कविहीन भएको जनाएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी सेनाका लेसनायक पवन खत्री, खाल्लेका सुर्जबहादुर परियार, विजयखर्कका कविन राई, बालकुमार तामाङ, युवराज राई र यसबहादुर राई सम्पर्कविहीन भएका हुन् ।
त्यसैगरी, सोही गाउँपालिका–७ माक्पाका तारानाथ थापा र रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका पुष्प भट्टराई सम्पर्कविहीन हुनुभएको हो ।
विभिन्न पेसा÷व्यवसायको सिलसिलामा रसुवा र नुवाकोटमा रहेको अवस्थामा भोटेकोशीमा बाढी आएपछि उनीहरु परिवारसँग सम्पर्कविहीन भएको जानकारी आफन्तबाट प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिनुभयो ।
सप्तरीका २४ जना सम्पर्कविहीन
सप्तरी : रसुवामा बुधबार गएको बाढीका कारण सप्तरीका २४ जना नागरिक सम्पर्कविहीन बनेका छन् । जिल्लाको बोदेबरसाइन नगरपालिका-८ काचनका एकै परिवारका तीन दाजुभाइसहित २४ जना सम्पर्कविहीन भएका परिवार तथा आफन्तले जानकारी दिनुभएको छ ।
तीन छोरा ३५ वर्षीय शिवकुमार यादव, ३१ वर्षीय देवकुमार यादव र २५ वर्षीय सचिन यादवसम्पर्कविहीन भएका बुबा लालबहादुर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार तीनै जना रसुवास्थित अपर त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत थिए । उहाँले भन्नुभयो, “सम्पर्कविहीन भएका तीन जना छोरामध्ये देवकुमार इन्जिनियर, सचित ओभरसियर र शिवकुमार सुपरभाइजरको पदमा कार्यरत थिए । रसुवाम बाढी आएपछि तीनै जना छोराहरूसँग बुधबार बिहानदेखि अहिलेसम्म सम्पर्क हुन सकेको छैन ।”
सुरुङ्गा नगरपालिका-२ का इन्जिनियर सरोज चौधरी पनि सम्पर्कविहीन रहेका सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले जानकारी दिनुभयो । उहाँ रसुवामा मैलुङ जलविद्युत् आयोजनामा कार्यरत हुनुहुन्थ्यो ।
त्यसैगरी, कञ्चनपुर नगरपालिकाका अनशा चौधरी, विष्णुपुर गाउँपालिका-१ खुरुरियाका इन्जिनियर अजयकुमार यादव, शम्भुनाथ नगरपालिका-६ कठौनाका सहायक इन्जिनियर ओमप्रकाश चौधरी, शम्भुनाथ नगरपालिका-८ का साजन चौधरी, सोही पालिका वडा नं ४ का प्रेमसागर चौधरी, पिताम्बर दास, शम्भुनाथ नगरपालिका-३ का रमेश चौधरी, दीपेन्द्र चौधरी, खडक नगरपालिकाका अनिलकुमार चौधरी, वडा नं १० का सुरज मण्डल, शिवकुमार पासवान, राज पासवान र हेमनारायण साह, कञ्चनपुर नगरपालिका-३ का अमरकान्त, तिलाठी कोइलाडी गाउँपालिकाका राजीवकुमार सिंहसहित सम्पर्कविहीन रहनुभएको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो ।
सम्पर्कविहीन १७ जनाको नाम आइसकेको बताउँदै उहाँले बाँकीको विवरण आउने क्रम अझै रहेको जानकारी दिनुभयो । “हामीले लिखित निवेदन माग गरेका छौँ । यो कठिन परिस्थितिमा आफ्ना आफन्त परिवारका सदस्य सम्पर्कविहीन भएको भए उहाँहरूको खोजी तीव्र पार्न सम्पर्कविहीन व्यक्तिको नाम, थर, स्थायी ठेगाना, सम्पर्क नम्बर तथा हाल बसोबास गरिरहेको स्थानलगायत विवरण नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउन आग्रह छ ।”
गोरखाबाट ५५ जना सम्पर्कविहीन
गोरखा : भोटेकोशी बाढीमा परी गोरखाका जिल्लाका ५५ व्यक्ति सम्पर्कविहीन भएका छन् ।
पालुङटार नगरपालिकाका ३१, सहिदलखनका सात, धार्चेका चार, भीमसेन थापाका तीन, बारपाक सुलिकोटका ६ र सिरानचोकका दुई र आरुघाट गाउँपालिकाका तीनजना बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।
बाढीमा परेर पालुङ्टार नगरपालिका–५ ठाँटीपोखरीबाट गोसाइँकुण्ड यात्रामा गएका ३१ यात्रुहरु बुधबार बिहानदेखि सम्पर्कविहीन भएको पालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताउनुभयो । ग २ ख ११५२ नम्बरको बसमा सवार ३७ यात्रुमध्ये ६ जना झ्यालबाट हामफालेर सुरक्षित रहेको र बाँकीको अवस्था भने अज्ञात रहेको उहाँले जानकारी दिनुभयो ।
रसुवाको बाढीमा परेर सहिदलखन गाउँपालिकाका सात जना सम्पर्कविहीन बनेको पालिका अध्यक्ष रमेश थापा मगरले बताउनुभयो ।  “बाढी प्रभावित क्षेत्रमा डोजर अपरेटरका रुपमा कार्यरत पालिकाको वडा नं १ का एक, वडा नं ३ का एकजना ट्रक डाइभर, विद्युत्को काम गर्ने वडा नं ६ का एक, वडा नं ७ घर भएका एकजना होटल व्यवसायी र अर्को एकजना ट्रेकिङ व्यवसायी र वडा नं ८ घर भएका दुईजना ट्रेकिङ व्यवसायीहरु सम्पर्कविहीन छन्”, थापाले भन्नुभयो ।
धार्चे गाउँपालिका–४ लाप्राकका चारजना पनि रसुवा बाढीमा परेर बेपत्ता भएका पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभएको छ । लाप्राक घरभई रसुवामा सशस्त्र प्रहरीमा कार्यरत एकजना र अलपाइन इको ट्रेकिङ कम्पनीमा कार्यरत तीनजना पर्यटक सहयोगी बेपत्ता भएका गुरुङले जानकारी दिनुभयो ।
भीमसेन थापा गाउँपालिकाका तीनजना नागरिक रसुवा बाढीमा परेर सम्पर्कविहीन बनेको अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।
भीमसेन थापा वडा नं ३ घर भई रसुवामा सरकारी कर्मचारीका रुपमा कार्यरत एक र वडा नं ६ र १ का एक÷एक जना ट्रेकिङ व्यवसायीको अवस्था अज्ञात रहेको उहाँको भनाइ छ ।
बारपाकसुलिकोट गाउँपालिकाका ६ जना बाढीमा बेपत्ता भएका पालिका अध्यक्ष विष्णु भट्टले बताउनुभयो । बारपाकसुलिकोट–४ का तीनजना रसुवा बाढीमा बेपत्ता भएका छन् । उनीहरुमध्ये एकजना नेपाली सेना र अन्य दुईजना पर्यटन मजदुर रहेका अध्यक्ष भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नं ३ र ६ का एक÷एक जना पर्यटन मजदुर बेपत्ता भएका छन् । “वडा नं ५ को पनि एकजना बेपत्ता छ भन्ने खबर आएको छ । उहाँ अपर त्रिशूली हाइड्रोपावरमा काम कार्यरत्त थिए”, उहाँले भन्नुभयो ।
यस्तै, सिरानचोक र आरुघाट गाउँपालिकाका दुई–दुई जना नागरिकहरु रसुवा बाढीपछि सम्पर्कबिहीन बनेका पालिकाका प्रमुखहरुले जानकारी दिनुभयो ।
सिरानचोकको वडा नं ८ र वडा नं ५ का १/१ जना सम्पर्कविहीन छन् । उनीहरु रसुवागढी हाइड्रोपावरमा कार्यरत रहेका पालिकाको प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले बताउनुभयो । “आरुघाटको वडा नं ९ का एकजना ड्राइभरका रुपमा पर्यटक लिन स्याफ्रुबेँसी पुगेका एकजना सम्पर्कविहीन छन्”, पालिका अध्यक्ष राजु गुरुङले भन्नुभयो, “अर्को वडा नं ३ का एकजना रसुवामा मजदुर काम गर्ने पनि बेपत्ता छ भन्ने खबर आएको छ । हामीले उनीहरुको अवस्थाबारे बुझ्न खोजिरहेका छौँ ।”
बुधबार बिहान ९ः०० बजे तिब्बती क्षेत्रबाट भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन आसपासको क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।
काभ्रेका ५२ जना सम्पर्कविहीन
काभ्रेपलाञ्चोक:  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण त्यस क्षेत्रमा विभिन्न कामका सिलसिलामा रहेका काभे्रपलाञ्चोकका  ५२ जना नागरिक सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले हालसम्म जिल्लाका ५२ जना सम्पर्कविहीन अवस्थामा रहेका व्यक्तिको नामावलीको सूची सार्वजनिक गरेको हो ।
बुधबार नै एक सूचना जारी गर्दै कार्यालले बाढी प्रभावित क्षेत्रमा विभिन्न कामका सिलसिलामा रहेका जिल्लाका नागरिकको अवस्था बुझ्न सम्बन्धित परिवारसँग जानकारी गराउन सार्वजनिक अपिल गरेको थियो ।
 त्यसक्रममा हालसम्म सम्पर्कमा नआएका व्यक्तिका परिवार तथा आफन्तले आफ्ना मानिस सम्पर्कविहीन भएको जानकारी गराएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार ५२ जना  बाहेकका सम्पर्कविहीन अवस्थामा रहेको चार जना सम्पर्कमा आइसकेका छन् । प्रजिअ अधिकारीले भन्नुभयो, “हामी थप ‘भेरीफिकेशन’ गर्दैछौँ, थप कसैको परिवारका सदस्य सम्पर्कविहीन अवस्थामा हुनुुहन्छ भने छिट्टै जानकारी गराउन अनुरोधसमेत गरिरहेका छौँ ।”
उक्त बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा भ्रमणलगायत अन्य कामका सिलसिलामा पुगेका काभे्रपलाञ्चोकका नागरिकको अवस्था बुझ्न कार्यालयले बुधबार सूचना जारी गर्दै सुरक्षित भए–नभएको तथा आफन्तसँग सम्पर्कमा रहे–नरहेको जानकारी गराउन कार्यालयले अनुरोध गरेको हो ।
  यस्तै सूचनामा बाढी प्रभावित क्षेत्रमा गएका नागरिकलाई पनि तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरुको अवस्था बुझी जिल्ला प्रशासन कार्यालय काभे्रपलाञ्चोक, नजिकको प्रहरी कार्यालय तथा स्थानीय तहमासमेत जानकारी गराउन आग्रह गरिएको छ ।
कार्यालयद्वारा जारी सूचनामा जिल्लास्थित आपत्कालीन केन्द्रको फोन नं १२३४ मा जानकारी गराउन वा ९७४३९६८८३६ र ९८५१२३७७७ मा ह्वाट्सएप गर्नसमेत आग्रह गरेको छ ।
 बाजुराका १३ जना सम्पर्कविहीन
बाजुरा:  रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि हालसम्म बाजुराका १३ जना सम्पर्कविहीन भएका छन् ।
जिल्लाका विभिन्न स्थानीय तहमा स्थायी ठेगाना भई त्यस क्षेत्रमा रहेका उनीहरु सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार हिमाली गाउँपालिकाका १९ वर्षीय दीपक रोकाया, ५० वर्षीया विष्णुमती रोकाया, ३५ वर्षीय आराम नेपाली, ३२ वर्षीय मोहनलाल रोकाया, विक्रम भण्डारी, ५५ वर्षीय बिसी पाण्डे र नेपाली सेनामा कार्यरत ४५ वर्षीय  दिपेश सार्की सम्पर्कविहीन छन् ।
यस्तै, स्वामीकार्तिक खापर गाउँपालिकाका ४० वर्षीय मनऋषि सञ्ज्याल, ३८ वर्षीया मनकला सञ्ज्याल, १८ वर्षीया सुस्मिता जोशी, ४६ वर्षीय वीरेन्द्र जैशी, ४४ वर्षीया सत्यादेवी जैशी र जगन्नाथ गाउँपालिकाका २९ वर्षीय मुकेश दमाई हालसम्म सम्पर्कमा नआएको जानकारी प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी पुडासैनीले बताउनुभयो ।
विभिन्न कामका लागि त्यस क्षेत्रमा पुग्नुभएका उहाँहरु अहिलेसम्म पनि सम्पर्कमा नआएपछि आफन्तहरु चिन्तित बनेका छन् भने खोजी कार्यका लागि सबैलाई अनुरोध गरिरहनुभएको छ ।
अर्घाखाँचीका नौ जना सम्पर्कविहीन
अर्घाखाँची: रसुवास्थित भोटेकोशीमा गएको बाढीमा परी अर्घाखाँची जिल्लाबाट त्यस क्षेत्रमा काम गर्ने तथा घुम्ने सिलसिलामा रसुवा पुगेका नौ जना व्यक्ति सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीनको खोजी गरिदिन आफन्तबाट आग्रह गरेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक दिवसबहादुर जिसीले जानकारी दिनुभयो ।
जिल्लाको पाणिनी–३ धावा घर भई टिमुरेमा स्काभेटर चालकमा कार्यरत २९ वर्षीय  प्रशान्त रेश्मी, सन्धिखर्क नगरपालिका–८ का २२ वर्षीय सुमित मल्ल ठकुरी, मालारानी गाउँपालिका –५ बाँगीका ४० वर्षीय नारायण पन्थी र भूमिकास्थान नगरपालिका–९ का मनिकला राना र काप्लेकी तारा राना सम्पर्कविहीन छन् ।
यसैगरी, शीतगङ्गा नगरपालिका–४ का इन्जिनियर सुबोध बेल्बासे, पाणिनी गाउँपालिका–७  नारायण थापा, भूमिकास्थान नगरपालिका–१० का लुकबहादुर क्षेत्री र भूमिकास्थान–८ कृष्णबहादुर श्रेष्ठ पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
यसैगरी, लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट काम तथा भ्रमणको सिलसिलामा रसुवा पुगेका ९७ जना अझै सम्पर्कविहीन रहेका लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको विपद् व्यवस्थापन शाखाले जनाएको छ ।
सम्पर्कविहीन त्यहाँस्थित जलविद्युत् आयोजना, निर्माण तथा अन्य कामका लागि रसुवा पुगेका थिए । केही सरकारी सेवामा कार्यरत तथा केही घुम्न रसुवा पुगेका व्यक्ति पनि बेपत्ता भएको जनाइएको छ ।
यसैबीच, मुख्यमन्त्री चेतनारायण आचार्यले विपद्मा परी सम्पर्कबाहिर रहेका नागरिकको खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । उहाँले सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
सिन्धुपाल्चोकबाट २२४ सम्पर्कविहीन
सिन्धुपाल्चोक:  भोटेकोशीमा आएको बाढीपछि सिन्धुपाल्चोकका २२४ व्यक्ति  सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भोटेकोशी गाउँपालिकाका ६५ बाह्रबिसे नगरपालिकाका ५९, बलेफी गाउँपालिकाका २९, सम्पर्कबिहीन भएको जानकारी दिनुभयो ।
त्यसैगरी, जुगलका १६, चौतारा साँगाचोकगढी नगरपालिकाका १४, मेलम्ची नगरपालिकाका १४, सुनकोशी गाउँपालिकाका १४, त्रिपुरासुन्दरी गाउँपालिकाका पाँच, हेलम्बु गाउँपालिकाका चार र लिसङ्खुपाखर गाउँपालिकाका तीन जना पनि सम्पर्कविहीन भएका छन् ।
सिन्धुपाल्चोकबाट कैलाशमान सरोवर जाने विदेशीका गाइड, भरिया, व्यापारी, गोसाइँकुण्ड गएका तीर्थयात्री, हाइड्रोपावरमा काम गर्ने जनशक्ति र रसुवा भन्सार कार्यालय आसपास व्यापारिक काम गर्ने नागरिक सम्पर्कविहीन भएका हुन् ।
तमानखोलाका नौ जना सम्पर्कविहीन
बागलुङ : भोटेकोशीमा आएको बाढीपछि त्यहाँका जलविद्युत् आयोजनामा कार्यरत बागलुङका नौ जना सम्पर्कविहीन भएका छन् । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीका कारण बागलुङको तमानखोला गाउँपालिकाका नौ जना नागरिक सम्पर्कविहीन भएका तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।
माथिल्लो त्रिशूली जलविद्युत् आयोजना (अपर त्रिशूली हाइड्रोपावर २१६ मेगावाट, ड्यामसाइड हाकुबेँसी) तथा सोही क्षेत्र आसपासमा कार्यरत नौ जना स्थानीय बाढीपछि सम्पर्कविहीन भएका उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष बुढाका अनुसार बाढीपछि  तमानखोला–१ का ३७ वर्षीय पदमबहादुर घर्तीमगर, सोही स्थानका ३२ वर्षीय इन्द्रकुमार विक, तमानखोला–१ रिक्लाङ्गका २२ वर्षीय विष्णु घर्तीमगर, तमानखोला–२, बोङ्गाखानीका ३७ वर्षीय भीमबहादुर छन्त्याल, सोही स्थानका ५० वर्षीय खड्क छन्त्याल, तमानखोला–३, तमानका २२ वर्षी सञ्जय शेर्पाली, सोही स्थनाका ५० वर्षीय दलप्रसाद बुढा, तमानखोला–४ लाममेलाका ५८ वर्षीय लाता कामी र सोही स्थानका ४७ वर्षीय भीमबहादुर विक सम्पर्कविहीन भएका छन् ।
बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले अहिलेसम्म तमानखोलाबाट नौ जना सम्पर्कविहीन भएका जानकारी आएको बताउँदै अन्य पालिकाबाट पनि विभिन्न काम तथा भ्रमणमा गएका नागरिक हुनसक्ने आशङ्का गरिएको बताउनुभयो ।
यसैबीच, भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बागलुङको गलकोट नगरपालिकाले रु छ लाख ९० हजार राहतस्वरुप सहयोग पठाउने निर्णय गरेको छ । बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै गलकोट नगरपालिका, जनप्रतिनिधि र कर्मचारीका तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय गरिएको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । उक्त रकम सरकारको कोषमा जम्मा गरिने छ ।
विपद्को यस कठिन घडीमा स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, सामाजिक सङ्घसंस्था, राजनीतिक दल, निजी क्षेत्र तथा नागरिकबीच सहकार्य र मानवीय सहयोग गर्न अपिलसमेत गरिएको छ ।
रोल्पाका १६ व्यक्ति  सम्पर्कविहीन
रोल्पा: भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन् । सुनिल स्मृति गाउँपालिकाका १० र रुन्टिगढी गाउँपालिकाका ६ गरी १६ व्यक्ति सम्पर्कबिहीन भएका हुन् ।
सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले वडा नं ६ का पाँच जना क्रमशः राजेन्द्र महत, बसन्त महरा, सञ्जय महत, कुमार महरा, रविलाल भण्डारी, यसैगरी, वडा नं ५ का चार जना हरिबहादुर घर्तीमगर, आर्यन घर्ती, सोम बहादुर घर्ती, अनराम पुन र वडा नं ३ का बहादुर पुन भएको जानकारी दिनुभयो ।
यसैगरी, रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले वडा नं ८ का छ जना व्यक्ति क्रमशः गीता बस्नेत, हस्तबहादुर बस्नेत, गोपाल पुन, गोपाल परियार, विकास परियार र ध्रुवबहादुर बुढामगर रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला प्रहरी कार्यालय रोल्पाले सूचना प्रकाशित गर्दै जिल्लाका गाउँबाट भोटेकोशी बाढी प्रभावित क्षेत्रमा काम गर्न गएको र सम्पर्कबिहीन  भएका छन् भने उक्त व्यक्तिको विवरण तत्काल जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा टिपाउन वा खबर गर्न जानकारी गराएको छ ।
बाँकेका २२ जना सम्पर्कविहीन
नेपालगञ्ज : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बाँकेका १६ सहित २२ जना नागरिक सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन १६ जना बाँकेका स्थायी बासिन्दा हुन् ।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीले ठूलो जनधनको क्षति पु¥याएको भन्दै यहाँका सम्पर्कविहीन नागरिकको फोटोसहितको व्यक्तिगत विवरण तयार गरी खोजी कार्यका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सम्पर्कविहीन भएकामध्ये १६ जना बाँकेका स्थायी बासिन्दा, बाँकेमा अस्थायी रूपमा बसोबास गरिरहेका चार जना नेपाली नागरिक तथा दुई जना भारतीय पर्यटक रहेका छन् ।
प्रशासनले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा बाजुराका वीरेन्द्र जोशी र सत्या जोशी, भारतको मुम्बईका सञ्जय पाटिल र नलिनी पाटिल, बर्दियाका विष्णु भण्डारी र हरिकुमार कुश्मी थारू तथा बाँकेको कोहलपुरका सशस्त्र प्रहरी सहायक निरीक्षक भोजराज जोशी, राप्तीसोनारीका सुरेश विक, सेतुनाथ सेढाई, योगमाया पुनमगर र जानकी घर्ती, नेपालगञ्जका शेरसिंह रोकाया, विष्णुमती रोकाया, दीपक रोकाया, अराम दमाई र उजला दमाई रहेका छन् ।
त्यसैगरी, बारबर्दियाका मनबहादुर थारु, डुडुवाका सुरजकुमार मोर्य, कोहलपुरका मायादेवी थारू, सुनसरी चौधरी, अनिता चौधरी र सीता थारू पनि सम्पर्कविहीनको सूचीमा छन् । प्रजिअ तामाङले रसुवा क्षेत्रमा रोजगारी, अध्ययन वा भ्रमणका सिलसिलामा गएका अन्य व्यक्ति सम्पर्कविहीन भए स्थानीय प्रहरी, जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित वडामा जानकारी गराउन सबैलाई आग्रह गर्नुभयो ।
प्राप्त सूचनाका आधारमा सम्पर्कविहीनहरूको विवरण सङ्कलन गरी खोजी कार्यका लागि सम्बन्धित निकायसँग समन्वय गरिने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार सम्पर्कविहीनको सूचीमा सशस्त्र प्रहरी बल र नेपाली सेनामा कार्यरत केही कर्मचारी पनि छन् । अस्थायी रूपमा बाँकेमा बसोबास गरिरहेकामध्ये बर्दियाका दुई जना टिमुरेस्थित भन्सार कार्यालयमा ‘लोडअनलोड’को काममा संलग्न रहेका प्रारम्भिक जानकारी प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एकद्वार प्रणालीमार्फत आर्थिक सहयोग गर्न जिल्लावासीसँग अपिल गरेको छ । नेपाल सरकारले प्रभावितको अस्थायी व्यवस्थापन र दीर्घकालीन पुनःस्थापनाका लागि राहत कोषमा सहयोग गर्न आह्वान गरिसकेको उल्लेख गर्दै प्रजिअ तामाङले सबैलाई उक्त कोषमा आर्थिक सहयोगका लागि अनुरोध गर्नुभयो ।
उहाँले सम्पर्कविहीन भएकाहरूको जानकारीसम्बन्धी सूचना जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ, स्थानीय तह तथा वडा कार्यालयमार्फत उपलब्ध गराउन सकिने जनाउँदै त्यसका आधारमा खोजी कार्यलाई थप प्रभावकारी बनाइने बताउनुभयो ।
सर्लाहीका नौ जना सम्पर्कविहीन
सर्लाही: भोटेकोशी नदीमा आएको बाढीका कारण सर्लाहीका नौ जना सम्पर्कविहीन  भएका छन् ।
लालबन्दी नगरपालिका–९ निवासी माधव काफ्ले, अनुज काफ्ले, लालबन्दी नगरपालिका–५ का कृष्णप्रसाद धमला, द्वारिका दङ्गाल र चिरञ्जीवी खतिवडा सम्पर्कविहीन भएका हुन् । उहाँहरु केही दिनअघि गोसाइँकुण्ड तीर्थयात्रामा जानुभएको थियो ।
सोही बाढीका कारण हरिवन नगरपालिका–११ कडरिया चोक निवासी सक्षम कार्की र मनिल कायस्थ पनि सम्पर्कविहीन हुनुभएको परिवारजनले बताएका छन् ।
उहाँहरु साथीहरूसँग मिलेर रसुवाको गोसाइँकुण्ड यात्रामा जानुभएको र बुधबार बिहानबाट सम्पर्कविहीन हुनुभएको मनिलका बुबा बालगोपाल कायस्थले जानकारी दिनुभयो ।
भोटेकोशीको बाढीले  त्रिशूली ‘३बी’ जलविद्युत् आयोजनामा कम गर्ने सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीका प्राविधिक सुनिलकुमार कुशवाहा र ईश्वरपुर नगरपालिका–७ बयलबासका लक्ष्मण श्रेष्ठ सम्पर्कविहीन हुनुहुन्छ ।
उहाँहरु कार्यरत आयोजना बाढीले ध्वस्त बनाएपछि उहाँहरु सम्पर्कविहीन हुनुभएको हो । उहाँहरूको खोजीका लागि परिवारले हारगुहार गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालयले एक सूचना सार्वजनिक गर्दै बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रबाट सम्पर्कविहीन हुनुभएको आफन्तको विवरण उपलब्ध गराई दिन आग्रह गरेको छ ।
महोत्तरीका १० जना सम्पर्कविहीन
महोत्तरी : भोेटेकोशीको बाढीसँगै महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन् । रसुवाका विभिन्न विद्युत् उत्पादन केन्द्रमा कार्यरत र कामविशेषले त्यता गएकाहरु सम्पर्कविहीन भएका हुन् ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्पर्कविहीनको अवस्था यकिन गर्न प्रयत्न भइरहेको जानकारी दिनुभयो ।
बर्दिबास–३ का सौभाग्य बिष्ट, बर्दिबास–९ की जोया राना मगर, पिपरा–३ का विकास यादव, औरही–३ का सचिनकुमार यादव, गौशाला–९ का विजय थापामगर, लोहारपट्टि–७ का युवराज पाण्डे र गौशाला–८ बेलगाछीका शीतल लुङ्गेली, निजकी पत्नी सरिता लुङ्गेली तथा छोरा साइमन लुङ्गेली सम्पर्कविहीन भएका हुन् ।
उनीहरु विद्युत् उत्पादन केन्द्रमा कार्यरत रहेका  जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । बुधबार बिहान ८ः०० बजेपछि छोरासँग सम्पर्क नभएको सौभाग्य बिष्टका पिता ध्रुवकुमार बिष्टले बताउनुभयो ।
कैलालीका ४० जना सम्पर्कविहीन
कैलाली : रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म कैलालीका ४० जना सम्पर्कविहीन रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिनुभएको छ । बाढी प्रभावित क्षेत्रमा काम, व्यवसाय तथा अन्य सिलसिलामा पुगेका कैलालीका ४० जना नागरिकको हालसम्म परिवार तथा आफन्तसँग सम्पर्क हुन नसकेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ ।
सम्पर्कविहीनहरूका सम्बन्धमा थप विवरण सङ्कलन तथा खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको तिमिल्सेनाले बताउनुभयो । उहाँका अनुसार रसुवामा आएको बाढीपछि जिल्लाबाट विभिन्न कामका लागि गएका व्यक्तिहरूको अवस्था बुझ्ने क्रम जारी छ । सम्पर्कविहीन भएका व्यक्तिहरूको यकिन विवरण सङ्कलन गरी खोजी तथा उद्धारमा सहजीकरण भइरहेको प्रहरीले जनाएको छ ।
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आकस्मिक आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ । पछिल्लो विवरणअनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको छ भने अझै सयौँ मानिस सम्पर्कविहीन छन् ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन व्यक्तिहरूको सङ्ख्या तथा अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताउनुभयो । उहाँका अनुसार प्रहरीले कैलालीका बेपत्ता व्यक्तिका परिवार तथा आफन्तबाट प्राप्त सूचनालाई समेत आधार बनाएर विवरण अद्यावधिक गरिरहेको छ ।
अपर त्रिशूली थ्री बि आयोजनामा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन
काठमाडौँ : भोटेकोशी नदीमा बुधबार आएको बाढीको कारणले अपर त्रिशूली थ्री बि हाइड्रोइलेक्ट्रिक आयोजनामा सुपरीवेक्षण परामर्शदाताको रूपमा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
सो आयोजनामा सुपरिवेक्षणको लागि परामर्शदाताको रूपमा चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडका विभिन्न तहका १२ जना कर्मचारी कार्यरत कर्मचारी सम्पर्कविहीन भएकाले उद्धार तथा खोजी गर्नका लागि अनुरोध गरिएको छ ।
चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडका प्रशासन अधिकृत विमल कडरियाले कम्पनीमार्फत अपर त्रिशूली थ्रि बी हाइड्रोइलेक्ट्रिक आयोजनामा विभिन्न तहमा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन भएकाले खोजी गरिदिनका लागि सम्बन्धित निकायलाई अनुरोध गर्नुभएको छ ।
कम्पनीका अनुसार आयोजनामा कार्यरत सिनियर टिम लिडर कमलबहादुर पाण्डे, कन्स्ट्राक्ट इन्जिनियर मनोज केसी, सिनियर जियोलोजिष्ट सुमेश अमात्य, सिनियर कन्स्ट्रक्सन इन्जिनियर निरज श्रेष्ठ, कम्पनीका प्रशासक तथा लेखा अधिकृत मणि दाहाल सम्पर्कविहीन भएको जनाएको छ ।
त्यसैगरी सिनियर इलेक्ट्रिकल इन्जिनियर रविन्द्रकुमार यादव, सिभिल इन्जिनियर प्रवीन अमात्य, कन्ट्राक्ट एण्ड प्लानिङ इन्जिनियर प्रतीक भट्ट, सिभिल इन्जिनियर हेमन्तराज जोशी, चालक महेश नेपाली, कुक खिलबहादुर बुढाथोकी, कुक पुनम न्यौपाने सम्पर्कविहीन भएकाले खोजी कार्य गर्नका लागि अनुरोध गरिएको छ ।
पर्सा जिल्लाका १६ जना सम्पर्कविहीन नागरिक
पर्सा:  भोटेकोसी नदीमा आएको बाढीमा परी पर्सा जिल्लाका १६ जना नागरिक सम्पर्कविहीन भएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार रसुवाका विभिन्न स्थानमा कार्यरत तथा बसोबास गर्दै आएका पर्सा जिल्लाका १६  जना नागरिक हालसम्म सम्पर्कमा नआएको जनाएको छ ।
प्रहरीका अनुसार पर्साबाट नारायण पटेल, सुबोध पटेल, अरुण हजरा, श्यामबाबु ठाकुर, उकेश दंगोल, सञ्जय तामाङ, आकाश तामाङ, कमरुल होदा अंसारी, सुभाष पटेल, समिम देवान, अनुतम बहादुर श्रेष्ठ, अभिषेक बस्तोला, घनश्याम बस्तोला, दिनेश परियार र पृथ्वी चौधरीसहित १६ जना सम्पर्कविहीन छन् ।
आफन्तको खबर पाउन परिवारजन आतुर
महोत्तरी:  भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन आतुर भएका छन् । रसुवाका विभिन्न विद्युत् उत्पादन केन्द्रमा कार्यरत र काम विशेषले त्यसतर्फ गएका हालसम्म ११ व्यक्ति आफन्तको खबर पाउन आतुर भएका हुन् ।
बेपत्ताको यकीन भएपछि परिवारलाई सूचना दिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । “अहिलेसम्म ११ व्यक्ति सम्पर्कविहीन छन्, सबैको अवस्था यकीन गर्न निरन्तर प्रयत्न भइरहेको छ”, प्रजिअ यादवले भन्नुभयो, “यसबाहेक जिल्लाका अरु कोही सम्पर्कविहीनको सूचना अहिलेसम्म छैन ।”
सम्पर्कविहीन भएकामा बर्दिवास–३ का सौभाग्य विष्ट, बर्दिवास–९ की जया रानामगर, पिपरा–३ का विकास यादव, औरही–३ का सचिनकुमार यादव, गौशाला–९ का विजय थापामगर, लोहारपट्टी–७ का युवराज पाण्डे र गौशाला–८ बेलगाछीका शीतल लुङ्गेली, निजकी पत्नी सरिता लुङ्गेली तथा छोरा साइमन लुङ्गेली छन् । उहाँहरु रसुवाका विभिन्न विद्युत् उत्पादन केन्द्रमा कार्यरत रहेका बुझिएको छ ।
 हुम्लाका १० जना सम्पर्कविहीन
हुम्ला :  हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० व्यक्ति सम्पर्कविहीन भएका छन् ।
रसुवाको उत्तरी सीमामा बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि हुम्लाका आठ पुरुष र दुई महिला गरी १० जना सम्पर्कविहीन हुनुभएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले जानकारी दिनुभयो ।
“हुम्लाका विभिन्न गाउँका बासिन्दा रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका थिए । बाढी आएपछि उहाँहरूसँग सम्पर्क हुन नसकेको छैन”, उहाँले भन्नुभयो ।
खार्पुनाथ गाउँपालिका–१ स्थायी घर भएका वर्ष ३० का जनक बुढा, अनिता रावत, उमेश बोहोरा तथा उमेश बोहोराकी श्रीमती र छोरा सम्पर्कविहीन रहेका छन् । उमेश बोहोराको श्रीमती र छोराको नाम भने खुल्न सकेको छैन ।
त्यसैगरी, ताँजाकोट गाउँपालिका–२ स्थायी घर भएका वर्ष ४१ नहकुल शर्मा र धनराज जैसी पनि सम्पर्कविहीन भएका छन् । शर्मा भन्सार अधिकृतका रूपमा कार्यरत थिए ।
सर्केगाड गाउँपालिका–८ राहदेउका तुलाराज बुढा र मानबहादुर ऐडी तथा चङ्खेली गाउँपालिका–१ का मनजित बुढा पनि बाढीपछि सम्पर्कविहीन रहेको विवरण प्रशासनले सार्वजनिक गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शाहीका अनुसार मनजित बुढाले बाढी आएको करिब ३० मिनेटपछि सामाजिक सञ्जाल फेसबुकमार्फत ‘हामी सुरक्षित छौँ’ भन्ने आशयको पोस्ट गरेका थिए । त्यसपछि भने उहाँसँग सम्पर्क हुन नसकेको बताउनुभयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बुधबार अपिलमार्फत सम्पर्कविहीन नागरिकको तत्काल खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गरी आवश्यक पहल भइरहेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री शाहीले विपद्को समयमा प्रभावित नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्न सङ्घ, प्रदेश र स्थानीय सरकार तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।
५७९ तीर्थात्री बेपत्ता
काठमाडौँ : नेपाल पर्यटन बोर्डका अनुसार  रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा  ४६६ जना विदेशी र ११३ जना नेपाली यात्रु बेपत्ता भएका छन् ।
Share Now