काठमाडौं, १२ भाद्र । यही भाद्र १० गते चीनको तिब्बती भूभागबाट आएको बाढी भोटेकोशी र त्रिशुली नदीमा प्रवेश गरेपछि त्यसले मच्चाएको विनासलिलाबाट प्रभावित नागरिकहरुको खोजी,उद्धार,उपचार र अस्थायी बसोवासका लागि राहत सहयोग जुट्न थालेको छ ।
नेपाल सरकारलाई यो विपद्को घडीमा आर्थिक सहयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलले अग्रसरता देखाउनु भयो । उहाँले आफ्नो एकमहिनाको पारिश्रमिक बाढी पीडितलाई दिने घोषणा गर्नुभएको छ । छिमेकी मित्रराष्ट्र भारतले दुई खेप राहत सामग्री पठाइसकेको छ । भने गैरआवासीय नेपाली, अन्तर्राष्ट्रिय रेडक्रस, विभिन्न स्थानीय निकाय,व्यवसायिक संघसंगठन,राजनीतिक दल, पार्टीका नेता,सांसद र सर्वसाधरण नेपाली जनताले पनि प्रधानमन्त्री दैवीप्रकोप सहयोग कोषमा उदारतापूर्वक आर्थिक सहयोग प्रदान गर्न थालेका छन् ।
सरकारलाई सहयोग गर्न नेपालका निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु नेपाल उद्योगवाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बस अफ कमर्सले सबै उद्यमी व्यवसायीलाई आग्रह गरेका छन् ।
राष्ट्रपतिद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने हुनुभएको छ ।
राष्ट्रपतिको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी सो जानकारी दिएको हो ।
भारतद्धारा दुई चरणमा ४७.५ टन राहत सामग्री सहयोग
काठमाडौँ : भारत सरकारले रसुवाका बाढीपीडितका लागि दुई चरणमा मानवीय सहायता तथा विपद् राहत पठाएको छ । भारतीय विदेशमन्त्री डा एस जयशङ्करले बिहिवार बिहान साढे ३७ टन सामग्री नेपाल पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको थियो ।
“भारत नेपालका अधिकारीहरुसँग नियमित सम्पर्कमा छ, हामी विपद् सहायतामा सहयोगका लागि कटिबद्ध छौँ”, उहाँले भन्नुभएको छ ।
भारत सरकारले यसअघि बाढी आएकै दिन बुधबार राति १० टन राहत सामग्री नेपाल पठाएको थियो । यसमा बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, खाद्यान्न र आवश्यक औषधि रहेको बताइएको छ ।
भारतबाट पठाइएको राहत सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ लाई हस्तान्तरण गर्नुभएको थियो ।
भारतीय विदेशमन्त्री जयशङ्करले शोकसन्तप्त परिवार तथा बाढीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताउनुभएको छ ।
एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय
काठमाडौँ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार, राहत एवं अन्य आवश्यक सहयोगका लागि तत्काल रु पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
सङ्घको आकस्मिक बैठक बसी सबै पदाधिकारी, एनसीसी तथा अभियन्ताहरूसँग छलफल गरी एनआरएनएका अध्यक्ष डा हेमराज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितको लागि राहत तथा उद्धार’ मूल समिति गठन गर्ने निर्णय गरेको बैठकले आर्थिक सहयोग सङ्कलनका लागि कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको हो ।
स्वयंसेवक परिचालनका लागि उपाध्यक्ष मनोज गोर्खालीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरेको बैठकले एनसीसी परिचालनका लागि महासचिव डा चिरञ्जीवी खड्काको संयोजकत्वमा क्षेत्रीय संयोजकसमेत रहने गरी एनसिसी परिचालन समिति गठन गर्ने र विपद् व्यवस्थापन समिति र सम्बन्धित निकायसँग समन्वय गर्न प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
प्रभावित क्षेत्रमा आवश्यक मेडिकल तथा स्वयंसेवक टोलीलाई तत्काल परिचालन गर्ने, सम्पूर्ण एनआरएनएका पदाधिकारी तथा सदस्यहरूलाई उद्धार तथा राहत कार्यमा स्वयंसेवकका रूपमा सहभागी हुन अपिल गर्ने, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा पनि आइसिसीमा गठन गरिएझैँ समिति गठन गरि तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक आर्थिक सहयोग जुटाउन निर्देशन दिने बैठकले निर्णय गरेको जनाइएको छ ।
सरकारको संयन्त्रमार्फत उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहकार्य गर्न एनआरएनए तयार तथा प्रतिबद्ध रहेको निर्णय गर्दै बैठकले सरकार तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनेलगायत निर्णय गरेको महासचिव डा चिरञ्जीवी खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विपद्मा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सङ्घले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते र प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । विपद्को घडीमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकतामा राख्न सरकार, स्थानीय निकाय तथा सरोकारवालालाई सङ्घले आग्रह गरेको छ ।
आइएफआरसीद्वारा करिब १९ करोड सहयोग घोषणा
काठमाडौँ : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनःस्थापनाका लागि तत्काल रु १८ करोड ९६ लाख २२ हजार (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ ।
रेडक्रसको स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोलीमार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहत वितरण कार्यमा जुटिसकेका जनाउँदै आइएफआरसीले विपद् प्रतिकार्यमा निरन्तर जुट्न आग्रहसमेत गरेको छ ।
आइएफआरसीका महासचिव जगन चापगाईले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ बनाउँदै तत्काल मानवीय सहायता पु¥याउन लागि आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभयो ।
आफ्नो सामाजिक सञ्जालमार्फत महासचिव चापागाईले भन्नुभएको छ, “आइएफआरसी नेपाल रेडक्रस र राष्ट्रिय निकायहरुसँगका समन्वयमा आवश्यक पर्दा समुदायलाई थप सहयोग परिचालन गर्न तयार छ, मानवीय सहयोग निरन्त जारी रहन्छ ।”
उहाँले रेडक्रसका स्वयंसेवक प्रभावित समुदायमा सक्रिय रहेको जनाउँदै प्रारम्भिक राहत र सहयोग गर्न तल्लीन रहेको उल्लेख गर्नुभएको छ ।
महासचिव चपागाईले बाढीबाट धेरैको ज्यान गएको, मानिसहरू बेपत्ता भएको तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।
उद्धार तथा राहतमा जुट्न अध्यक्ष महासङ्घ श्रेष्ठको अपिल
काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घले भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहतका लागि सक्रिय हुन निजी क्षेत्रलाई अपिल गरेको छ ।
महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले आज अपिल जारी गर्दै महासङ्घका जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ, वस्तुगत सङ¬्घ तथा उद्योगी–व्यवसायीलाई स्थानीय प्रशासनसँग समन्वय गरी परिचालित हुन आग्रह गर्नुभएको छ ।
उहाँले सम्भव भएसम्म खाद्यान्न, पिउने पानी, औषधि, लत्ताकपडालगायत अत्यावश्यक राहत सामग्रीको व्यवस्थापन गरी प्रभावित परिवारसम्म पुर्याउन सबैलाई अनुरोध गर्नुभएको छ । विपद्को घडीमा निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै राज्यका प्रयासमा हातेमालो गर्न तयार रहेको स्पष्ट पारेको छ ।
अध्यक्ष श्रेष्ठले उद्योगी–व्यवसायीलाई उच्च सतर्कता अपनाउँदै संयमित, सुरक्षित र एकताबद्ध भएर विपद्को सामना गर्न तथा कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्न आह्वान गर्नुभएको छ ।
परिसङ्घद्वारा रसुवा बाढीप्रभावितलाई सहयोग गर्न अपिल
काठमाडौँ: नेपाल उद्योग परिसङ्घले रसुवा बाढीप्रभावितलाई सहयोग गर्न अपिल गरेको छ । सङ्घले आज एक प्रेस विज्ञप्ति जारी गरेर बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिले नेपाल उद्योग परिसङ्घलाई स्तब्ध बनाएको जनाएको छ ।
परिसङ्घले विपत्तिको समयमा प्रभावित नागरिकहरूलाई अत्यावश्यक राहत सामग्री उपलब्ध, पुनर्निमाण तथा आवश्यक कार्य गर्न गराउन परिसङ्घले डिजास्टर रेस्पोन्स कमिटी स्थापना गरी राहत सामाग्री सङ्कलन तथा हस्तान्तरणको काम अगाडि बढाइएको बताइएको छ ।
यस कठिन समयमा सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनःस्थापनाको काममा सक्दो योगदान गर्न सम्पूर्ण सदस्य संस्थाहरू, उद्यमी व्यवसायी एवं व्यावसायिक सङ्घ संस्थाहरू सङ्घद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)ले पनि बुधबारको दिन भोटेकोशी नदीमा अकस्मात् आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय एवं अपूरणीय जनधनको क्षतिले स्तब्ध भएको जनाएको छ ।
सिबिफिनले आज एक प्रेस विज्ञप्ति जारी गरेर विपद्ले बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधार, मानवीय बस्ती, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट भित्रिएका मालवस्तु र सवारीसाधनमा समेत ठूलो क्षति पुर्याएको छ ।
प्रभावित क्षेत्रका जलविद्युत्, व्यापार, पर्यटन, पूर्वाधार तथा अन्य व्यावसायिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको उल्लेख्य कर्जा तथा लगानी रहेकाले यसको प्रभाव ऋणी, व्यवसाय, बैंकिङ सेवा तथा समग्र आर्थिक गतिविधिमा समेत पर्न सक्ने जनाएको छ ।
प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँचलाई यथाशीघ्र सहज र प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरूले वैकल्पिक सेवा प्रवाहसहित आवश्यक प्रबन्ध गरिरहेका गरिरहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
इलामका दुई पालिकाद्वारा ३५ लाख सहयोग
इलाम : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि इलामका दुई पालिकाले रु ३५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
जिल्लाको चुलाचुली गाउँपालिकाले रु २५ लाख र माई नगरपालिकाले रु १० लाख प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।
बिहीबार बसेको चुलाचुली गाउँपालिकाको ७६औँ कार्यपालिकाको बैठकले गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा सात दिनको र वडाध्यक्ष तथा सदस्यद्वारा पाँच दिनको सेवासुविधा प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो ।
अध्यक्ष केरुङका अनुसार गाउँपालिकाका विभिन्न तहका कर्मचारीको पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको छ । “भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतमा सहयोग पुग्ने विश्वाससहित आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेका छौँ”, अध्यक्ष केरुङले भन्नुभयो, “जनप्रतिनिधि तथा शिक्षक कर्मचारीको तर्फबाट रु २५ लाख सङ्कलन गरी जम्मा गर्नेछौँ ।”
यता बिहीबार नै बसेको माई नगरपालिकाको ६५औँ कार्यपालिका बैठकले सबै जनप्रतिनिधि तर्फबाट १५ दिनको सेवासुविधा र कर्मचारीको तर्फबाट दुई दिनको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरेको नगरप्रमुख खम्बासिंह लिम्बूले जानकारी दिनुभयो ।
जनप्रतिनिधि र कर्मचारीबाट सङ्कलित रकममा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम थप गरी रु १० लाख पुर्याइनेछ इलाममा चार नगरपालिकासहित १० स्थानीय तह छन् ।
कैलालीमा सहयोग जुट्दै
सुदूरपश्चिम : कैलालीको धनगढीस्थित निसर्ग हस्पिटलले भोटेकोशी बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि रु ११ लाख ११ हजार १११ सहयोग गरेको छ ।
अस्पतालमा कार्यरत कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा शेयर सदस्यको कम्तीमा एक दिन बराबरको तलबरसुविधाबाट सङ्कलित रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को खातामा जम्मा गरिएको अध्यक्ष तीर्थराज पन्तले जानकारी दिनुभयो ।
उहाँले अस्पतालले हरेक वर्ष मनाउँदै आएको हरितालिका तीजको कार्यक्रम स्थगित गरेको र सो कार्यक्रमका लागि छुट्याइएको रकमसमेत बाढी प्रभावित नागरिकलाई सहयोग गरिएको बताउनुभयो । यसअघि धनगढीस्थित माया मेट्रो अस्पतालले पनि रु तीन लाख ११ हजार १११ आर्थिक सहयोग गरेको जनाएको छ ।
यस्तै, धनगढीस्थित नवजीवन अस्पताले रु दुई लाख २२ हजार २२२ सहयोग गरेको छ ।
अस्पतालले बाढी प्रभावितको राहतका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोगस्वरुप उक्त रकम जम्मा गरेको अस्पतालका कार्यकारी निर्देशक चक्र खडायतले जानकारी दिनुभयो । चैतन्य पाठशालाले पनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु एक लाख ११ हजार १११ बराबरको सहयोग उपलब्ध गराएको अध्यक्ष गणेशप्रसाद जोशीले बताउनुभयो ।
त्यस्तै, माया मेट्रो अस्पतालले रु तीन लाख ११ हजार १११ बराबरको सहयोग गरेको अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले जानकारी दिनुभयो ।
चाँगुनारायणले ५० लाख सहयोग गर्ने
भक्तपुर : चाँगुनारायण नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख ३५ हजार सहयोग गर्ने निर्णय गरेको छ ।
स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख जीवन खत्रीले स्थानीय विपद् व्यवस्थापन कोषबाट रु १० लाख, जनप्रतिनिधिबाट एक महिनाको तलब तथा सेवा सुविधाबापतको रु सात लाख जम्मा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
यस्तै, कर्मचारीबाट तहअनुसार दुईदेखि सात दिनसम्मको तलब सुविधा गरी रु २० लाख ३५ हजार र चाँगुनारायण नगरपालिकाका शिक्षकबाट रु १३ लाखबराबरको सहयोग रकम उपलब्ध गराइनेछ ।
इप्पानले पाँच करोड सहयोग गर्ने
काठमाडौँ : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच करोड पाँच लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ ।
इप्पानको बिहीबारको बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बैठकले बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन विद्युत् आयोजनामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आयोजनाको पुनर्निर्माण तथा पुनःस्थापनामा सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्र नेपालको समृद्धिसँगै नेपाली जनताको सुखदुःखसँग पनि जोडिएको बताउँदै विपद्को समयमा सदस्य कम्पनीहरू एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार इप्पानसम्बद्ध जलविद्युत् कम्पनीका तर्फबाट प्रदान गरिने सहयोगको चेक उपयुक्त समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा हस्तान्तरण गरिनेछ ।
बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग
भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बागलुङका छ पालिकाले रु २१ लाख ७० हजार सहयोग गर्ने भएका छन् ।
जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका, वडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।
गलकोट नगरपालिकाले रु छ लाख ७० हजार, बागलुङ नगरपालिकाले रु पाँच लाख, बडिगाड गाउँपालिकाले रु पाँच लाख, ताराखोला गाउँपालिकाले रु दुई लाख, काठेखोला गाउँपालिकाले रु दुई लाख र जैमिनी नगरपालिकाले रु एक लाख सहयोग गर्ने भएका छन् ।
बागलुङ नगरपालिकाले बाढीपहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।
बडिगाड गाउँपालिकाले कर्मचारी तथा जनप्रतिनिधिको तीन दिनको तलबभत्तासहित रु पाँच लाखबराबरको सहयोग रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।
कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग
कास्की: रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि कास्कीका पालिकाले सहयोग गरेका छन् । पोखरा महानगरपालिकाले रु ४५ लाख र मादी गाउँपालिकाले रु १० लाख सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेका हुन् ।
पोखराले उद्धार तथा स्वास्थ्यकर्मीको टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरेको छ । महानगरप्रमुख धनराज आचार्यका अनुसार विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त नगर प्रहरी, आवश्यक उद्धार सामग्री, प्राथमिक उपचारका उपकरणसहितको एम्बुलेन्स तथा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको हो ।
“बाढी प्रभावित नागरिकको उद्धार, उपचार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले टोली परिचालन गरिएको छ । परिचालित टोलीका लागि आवश्यक सामग्री तथा सम्पूर्ण खर्च महानगरपालिकाले व्यवस्थापन गर्नेछ”, उहाँले भन्नुभयो ।
मादी गाउँपालिकाले विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वाससहित आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष देवीजङ्ग गुरुङले बताउनुभयो ।
प्राकृतिक विपद्ले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याइरहेका बेला स्थानीय सरकारहरूको सहयोग र ऐक्यबद्धताले प्रभावित नागरिकलाई राहत मिल्ने विश्वास सहित जनप्रतिनिधि र कर्मचारीबाट सो सहयोग गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
रोशी गाउँपालिकाद्वारा १० लाख सहयोगको घोषणा
काभ्रेपलाञ्चोक: बुधबार रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित भएकाहरुलाई काभे्रपलाञ्चोकको रोशी गाउँपालिकाले रु १० लाख सहयोग गर्ने घोषणा गरेको छ ।
गाउँपालिकाद्वारा जारी विज्ञप्तिअनुसार गाउँपालिकाका जनप्रतिनिधिद्वारा सात दिनको बराबारको सेवासुविधा तथा सम्पूर्ण कर्मचारी÷शिक्षकको एक दिनको पारिश्रमिक बराबरको रकम तथा गाउँपालिकाको विपद् प्रकोप व्यवस्थापन कोषबाट सो रकम प्रधानमन्त्री–दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।
यसैबीच, भोटेकोशी बाढीमा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका काभे्रपलाञ्चोकका ५२ जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो । बाढी प्रभावित क्षेत्रमा विभिन्न कामका सिलसिलामा रहेका जिल्लाका नागरिकको अवस्था बुझ्न सम्बन्धित परिवारसँग जानकारी गराउन सार्वजनिक अपील गरिएको छ । कार्यालयद्वारा जारी सूचनामा जिल्लास्थित आपत्कालीन केन्द्रको फोन नं १२३४ मा जानकारी गराउन वा ९७४३९६८८३६ र ९८५१२३७७७ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
इन्द्रावतीले १० लाख दिने
सिन्धुपाल्चोक: रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै इन्द्रावती गाउँपालिकाले राहतस्वरूप रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले बाढीपीडितको उद्धार तथा राहतका लागि गाउँपालिकाका तर्फबाट रु १० लाख उपलब्ध गराउने निर्णय गरेको हो । त्यसैगरी, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यालय तथा कर्मचारीबाट एक दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय पनि गरिएको छ ।
गाउँपालिकाले विपद्को यस कठिन घडीमा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धार कार्यमा सहयोग गर्ने पालिका अध्यक्ष झम्कनाथ नेपालले बताउनुभयो ।
मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा ५ लाख सहयोग
हेटौँडा : मकवानपुर उद्योग वाणिज्य सङ्घले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु ५ लाख ५ हजार ५५५ सहयोग गरेको छ ।
सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाट नेतृत्वको टोलीले आज जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
अध्यक्ष रानाभाटले प्राकृतिक विपद्का बेला पीडित नागरिकको सहयोगमा निजी क्षेत्रले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो । “विपद्ले ठूलो जनधनको क्षति पुर्याएको अवस्थामा प्रभावितको राहत र पुनःस्थापनामा सहयोग गर्नु हामी सबैको जिम्मेवारी हो”, उहाँले भन्नुभयो ।
सङ्घले व्यवसायीबाट थप सहयोग सङ्कलन गरी प्रभावित क्षेत्रमा आवश्यक सामग्री उपलब्ध गराउने तयारी पनि गरेको अध्यक्ष रानाभाटले जानकारी दिनुभयो ।
प्रवासी नेपाली मञ्चद्वारा रु २० लाख सहयोग
काठमाडौँ: प्रवासी नेपाली मञ्च, अन्तरराष्ट्रिय कमिटीले रसुवास्थित भोटेकोशीमा गएको बाढीका कारण प्रभावित नागरिकको तत्काल राहत तथा उद्धारका लागि रु २० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । मञ्चको अन्तरराष्ट्रिय कमिटी सचिवालयको आकस्मिक बसेको बैठकले बाढी प्रभावित नागरिकको तत्कालको आवश्यकतालाई सम्बोधन गर्न अन्तरराष्ट्रिय कमिटीको कोषबाट रु २० लाख उपलब्ध गराउने निर्णय गरेको हो ।
मञ्चले प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै प्रभावित तथा विस्थापित परिवारप्रति ऐक्यबद्धता जनाएको छ । वास्तविक पीडितसम्म प्रभावकारी, न्यायोचित र पारदर्शी रूपमा सहयोग पुर्याउन सम्बन्धित निकाय तथा आवश्यक संयन्त्रसँग समन्वय गरिने मञ्चले जनाएको छ । प्रवासी नेपाली मञ्चले यसअघि पनि प्राकृतिक विपद्, महामारी तथा मानवीय सङ्कटका समयमा राहत तथा पुनर्निर्माणका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।
मञ्चले तत्काल राहतमा मात्र सीमित नभई आवश्यकताअनुसार स्वास्थ्य पूर्वाधार निर्माण तथा दीर्घकालीन पुनस्र्थापनामा पनि योगदान गर्दै आएको जनाएको छ । यसै प्रतिबद्धताको निरन्तरतास्वरूप मञ्चले ‘नेपाल बाढी तथा पहिरो पीडित राहत सहयोग अभियान’ विश्वव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानमार्फत विश्वभर रहेका मञ्चका महादेश तथा राष्ट्रिय कमिटी, सदस्य, शुभेच्छुक, नेपाली व्यवसायी, सामाजिक तथा सामुदायिक सङ्घसंस्था एवं नेपाली समुदायलाई राहत तथा पुनस्र्थापनाका लागि सहयोग गर्न आह्वान गरिएको छ ।
वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग
काठमाडौँ : रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले रु तीन करोड आर्थिक सहयोग प्रदान गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।
आज राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिका अध्यक्ष डा सुमन दाहालले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सहयोगस्वरुप रु तीन करोडको चेक हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिवलगायत कर्मचारीहरूको उपस्थिति थियो ।
भोटेकोशीसँगै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण कयौँ मानिस हराइरहेका छन् भने प्रभावित अझै पनि उद्धार एवं राहतको पर्खाइमा रहेका छन् ।
बाढीबाट प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त सहयोग प्रदान गरेको जनाएको छ ।
अकल्पनीय विपद्का कारण ज्यान गुमाउनुहुने स्वदेशी तथा विदेशी नागरिकप्रति राष्ट्रिय वाणिज्य बैङ्क परिवारले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, सम्पर्कविहीन र घाइतेहरूको उद्धार तथा शीघ्र उपचारको कामना गर्दै प्रभावित समुदायप्रति बैङ्कले गहिरो समवेदना व्यक्त गरेको छ । बैङ्कले विगतमा पनि राष्ट्रिय विपदका घटनाबाट प्रभावितहरुलाई राहत उद्धार र पुनस्र्थापनाका लागि आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।
सुडी समाज काठमाडौँद्वारा रु ५१ हजार सहयोग
काठमाडौँ : रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सुडी समाज काठमाडौँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५१ हजार आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।
समाजको अध्यक्ष शीतलप्रसाद महतोको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित आम सर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको आवश्यकता रहेको अवस्थामा समाजले सरकारको आह्वानमा यो सहयोग राशीको घोषणा गरेको हो ।
बाढी तथा विपद्का कारण प्रभावित क्षेत्रमा आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि समाजका चिकित्सक उपसमितिमार्फत आवश्यक औषधिसहित स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय भएको समाजका अध्यक्ष महतोले भन्नुभयो ।
बैठकले यस विनाशकारी विपत्तिमा आफ्ना प्रियजन गुमाउनुभएका सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना र ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । अझै पनि आफ्ना प्रियजनको खबरको प्रतीक्षामा रहनुभएका परिवारजनको पीडा, चिन्ता र व्यथाप्रति बैठकले गहिरो सहानुभूति व्यक्त गरेको छ ।
“यस्तो कठिन र संवेदनशील घडीमा हाम्रो पहिलो र साझा प्राथमिकता प्रभावित क्षेत्रमा उद्धार, राहत तथा मानवीय सहायता पुर्याउनु हो । विपत्तिमा परेका परिवार तथा समुदायलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन सबै पक्ष एकजुट हुनु आजको आवश्यकता हो”, अध्यक्ष महतोले भन्नुभयो, “यस्तो सङ्कटको समयमा जातिय सामाजिक संस्थाले पनि सरकार, सुरक्षा निकाय, स्थानीय समुदाय तथा सामाजिक सङ्घ–संस्थासँग हातेमालो गर्दै राहत, उद्धार तथा पुनस्र्थापनाका प्रयासमा सक्दो योगदान गर्नु हाम्रो साझा सामाजिक जिम्मेवारी हो ।”
यसै मानवीय भावनाका साथ बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा मानवीय सहायता कार्यमा सहयोग पुर्याउन सुडी समाज काठमाडौँले आफ्ना सबै सदस्यहरूलाई अपिलसमेत गरेको छ । यस दुःखद् विपत्तिबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति सुडी समाज काठमाडौँ गहिरो साथ, ऐक्यबद्धता र सहयोग व्यक्त गर्दछ, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
लहान नगरपालिकाद्वारा ११ लाख सहयोग
सिरहा: चीनको तिब्बत तर्फबाट भोटेकोशी त्रिशूली नदी आकस्मिक रूपमा आएको बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि लहान नगरपालिकाका कर्मचारीले रु ११ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएका छन् ।
लहान नगरपालिकाका नगर कार्यपालिकाको आज बसेको बैठकले बाढी पीडितहरूको उद्घार, उपचार, राहत एवं पुनःस्थापनाका लागि सहयोग गर्न नगरप्रमुख महेशप्रसाद चौधरीले एक महिनाको पारिश्रमिक एवं सम्पूर्ण शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले आफ्नो पारिश्रमिकबाट एक दिन बराबरको तलबसहित रकम जम्मा गर्ने निर्णय गरेको हो । नगरप्रमुखका अनुसार सङ्कलन भएको रकम कोषमा उपलब्ध गराइनेछ ।
बिवाइडी साइमेक्सले सात करोड सहयोग गर्ने
काठमाडौँ : नेपालमा बिवाइडीका आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इंक. प्रालिसँगको सहकार्यमा बिवाइडीले हालै आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा जिल्ला लगायतका क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु सात करोड योगदान गर्ने घोषणा गरेको छ ।
बाढीप्रभावित क्षेत्रका नागरिकले कठिन परिस्थितिको सामना गरिरहेको यस समयमा बिवाइडी र साइमेक्सले नेपाली जनता तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता र प्रतिबद्धता व्यक्त गर्दै उक्त सहयोग घोषणा गरेको हो । सहयोग रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सरकारको आधिकारिक संयन्त्रबाट राहत तथा पुनःस्थापनाका कार्यमा परिचालन गरिनेछ ।
यो सहयोगबाट बाढी प्रभावित क्षेत्रमा सरकारद्वारा सञ्चालन भइरहेका उद्धार, उपचार, तत्कालीन राहत, पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलगायतका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, प्रभावित परिवार तथा समुदायलाई पुनः सामान्य अवस्थामा फर्किन र स्थानीय पूर्वाधार पुनर्निर्माण गर्न समेत सहयोग पुग्नेछ ।
हालैको बाढीका कारण रसुवा जिल्लामा ठूलो क्षति पुगेको छ । नेपाल र चीनलाई जोड्ने महत्त्वपूर्ण प्रवेशद्वारका रूपमा रहेको रसुवा मुलुकको व्यापारिक मार्गसमेत हो । नेपालमा बिवाइडीका सवारीसाधन आयात हुने प्रमुख व्यापारिक मार्गका रूपमा समेत यस क्षेत्रको विशेष महत्त्व रहेको छ ।
सहयोग घोषणा गर्दै बीवाईडी ग्रुपका उपाध्यक्ष तथा बिवाइडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ स्युएलियाङले नेपालमा हालै आएको बाढीका कारण भएको विनाश र जनताले भोग्नुपरेको कठिन अवस्थाप्रति बिवाइडी गहिरो दुःखी रहेको बताउनुभएको छ । उहाँले यस कठिन समयमा प्रभावित परिवार तथा समुदाय, उद्धारमा खटिएका टोली र घटनास्थलमा निरन्तर काम गरिरहेका सबैप्रति बिवाइडीको ध्यान र सहानुभूति रहेको उल्लेख गर्नुभएको छ ।
लिउले बिवाइडी नेपाली जनतासँग ऐक्यबद्ध भएर उभिएको र स्थानीय साझेदार साइमेक्ससँगको सहकार्यमा गरिएको यो सहयोगले सरकारका राहत तथा पुनस्र्थापनाका प्रयासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले उक्त सहयोगले प्रभावित समुदायलाई पुनःउत्थान तथा पुनर्निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभएको छ ।
नेपालले कठिन परिस्थितिमा पनि उल्लेखनीय दृढता र सहनशीलता प्रदर्शन गर्दै आएको उल्लेख गर्दै उहाँले एकता र सामूहिक प्रयासमार्फत प्रभावित समुदाय अझ बलियो भएर पुनःउभिने विश्वास व्यक्त गर्नुभएको छ । नेपालमा बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक. प्रालिले देशमा दिगो विद्युतीय यातायातको विकास र विस्तारका लागि बिवाइडीसँग लामो समयदेखि सहकार्य गर्दै आएको छ ।
कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले २ लाख २५ हजार सहयोग गर्ने
कर्णाली : कर्णाली प्रदेशमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले भोटेकोशी बाढीपीडितलाई रु दुई लाख २५ हजार सहयोग गर्ने भएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा आज बसेको नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको बैठले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । बैठकमा कर्णाली प्रदेशसभामा निर्वाचित कांग्रेसका १५ कर्णाली प्रदेशसभा सदस्यले प्र्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जनही रु १५ हजार सहयोग गर्ने निर्णय भएको सो दलका नेता जीवनबहादुर शाहीले जानकारी दिनुभयो ।
बाढीबाट भएको जनधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँले बाढीमा परी मृत्यु हुने सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । घाइतेको उपचारको प्रबन्ध मिलाउन, बेपत्ता भएकाको खोजी, पीडितको राहत, उद्धार र पुनःस्थापनामा विशेष प्राथमिकताका साथ जुट्न नेपाल सरकारलगायतका सम्बद्ध सम्पूर्ण सरोकारवाला पक्षसँग अपिल गरिएको नेता शाहीले बताउनुभयो ।
ललितपुरका तीन स्थानीय तहद्वारा १ करोड ८० लाख राहत घोषणा
ललितपुर :नेपाल-चीन सीमा क्षेत्र रसुवागढीस्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारहरूका लागि ललितपुरका तीन वटा स्थानीय तहले रु एक करोड ८० लाख नगद राहत सहयोग गर्ने घोषणा गरेका हुन् । ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाले आज कार्यपालिका बैठक बस्दै नगद राहत सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।
ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले दिनुभएको जानकारीअनुसार प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि महानगरका तर्फबाट रु एक करोड रकम प्रधानमन्त्री राहत कोषमा सहयोगस्वरुप जम्मा गर्ने निर्णय गरिएको छ । साथै, यस घटनाबाट प्रभावित क्षेत्रमा आवश्यकताअनुसार अन्य प्राविधिक तथा मानवीय सहयोग उपलब्ध गराउन महानगरा तत्पर रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, गोदावरी नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले बाढी पीडितका लागि रु ५० लाख आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको हो । प्रमुख गजेन्द्र महर्जनको अध्यक्षताका आज बसेको कार्यपालिका बैठकले विपद्को यो कठिन घडीमा मानवीय सहायतास्वरूप उक्त रकम राहात तथा उद्धार कोषमा रु ५० लाख हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
यसैगरी, महालक्ष्मी नगरप्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतमा आज बसेको कार्यपालिका बैठकले विपद् पीडितको उद्धार र सहायताका लागि जनप्रतिनिधिहरूको एक महिनाको भत्ता तथा नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको सात दिनको तलब कटौती गरी बाँकी नपुग रकम नगरपालिकाको कोषबाट व्यहोर्ने गरी उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । नगरप्रमुख श्रेष्ठले छिमेकी जिल्लाहरूमा परेको ठूलो प्राकृतिक विपद्मा मानवीय सहयोग पुर्याउनु नगरपालिकाको दायित्व भएको बताउनुभयो ।
“रसुवागढी र आसपासका क्षेत्रमा बाढीले पुर्याएको अभूतपूर्व क्षतिले हामी सबैलाई स्तब्ध बनाएको छ, यस कठिन घडीमा पीडित परिवारको मलमपट्टिका लागि महालक्ष्मी नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरू हातेमालो गर्दै ऐक्यबद्धता जनाउन उभिएका हौँ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।
चीनतर्फ हिमचट्टान पहिरोका कारण लेन्दे खोला र भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवनलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
बैठकमा नगरउपप्रमुख लक्ष्मी महर्जन, प्रमुख प्रशासकीय अधिकृत अमित ढुङ्गानासहित कार्यपालिका सदस्यको उपस्थिति थियो । महालक्ष्मी नगरपालिकाले नगरपालिकाको एम्बुलेन्स तथा नगर प्रहरीसहितको टोलीलाई विपद् क्षेत्रमा विपद्का कारण घाइते भएका व्यक्तिहरूको उद्धार तथा आवश्यक सहयोगका लागि परिचालन गरेको छ । घाइतेहरूको शीघ्र उद्धार गरी आवश्यक उपचारका लागि स्वास्थ्य संस्थासम्म पुर्याउने कार्यमा टोली सक्रिय रहेको उपप्रमुख महर्जनले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य थापाबाट पाँच लाख सहयोग
कास्की: गण्डकी प्रदेशका पूर्वसामाजिक विकास, युवा तथा खेलकुदमन्त्री एवं प्रदेशसभा सदस्य विन्दुकुमार थापाले भोटेकोशीलगायत बाढीपहिरो प्रभावित नागरिकको लागि रु पाँच लाख सहयोग गर्नुभएको छ ।
थापाले उद्धार तथा राहतका लागि आफ्नो छ महिनाको पारिश्रमिक बराबर रु पाँच लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो ।
देशका विभिन्न जिल्लामा प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति भइरहेका बेला प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले आफूले पाउने पारिश्रमिक सरकारी राहत कोषमा प्रदान गरेको थापाले बताउनुभयो ।
यस्तो कठिन परिस्थितिमा तत्काल उद्धार, राहत र प्रभावित परिवारको पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको दुःखमा साथ दिनु मेरो कर्तव्य हो । राहत साँच्चिकै आवश्यकता भएका नागरिकसम्म पुगोस् भन्ने उद्देश्यले आफ्नो पारिश्रमिक सहयोग गरेको हुँ”, थापाले भन्नुभयो ।
प्राकृतिक विपद्का समयमा राज्यका संयन्त्रसँगै जनप्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र, सामाजिक सङ्घसंस्था तथा आमनागरिकले पनि आफ्नो क्षमताअनुसार सहयोग र सहकार्य गर्नुपर्ने थापाको भनाइ छ । उहाँले यसअघि पनि प्रदेश सरकारबाट पारिश्रमिक तथा अन्य सेवासुविधाबापत पाउने रकम सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ ।
अख्तियारका पदाधिकारीले १५ दिनको तलब दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले प्रभावित नागरिकको उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेका छन् । आयोगका प्रवक्ता सुरेश न्यौपानेले विपद्को घडीमा प्रभावितहरूको सहयोगका लागि आयोगका पदाधिकारीहरुले १५ दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो ।
उहाँका अनुसार राजपत्राङ्कित विशिष्ट श्रेणी र राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीले दश दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको छ । त्यस्तै, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले सात दिन बराबरको तलव कोषमा जम्मा गर्नेछन् ।
राजपत्राअङ्कित प्रथम, द्वितीय र अन्य श्रेणीका कर्मचारीहरुले पाँच दिनको र श्रेणीविहीन कर्मचारीहरुले दुई दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।
जनप्रतिनिधि र कर्मचारीद्वारा आठ लाख बढी सहयोग
दमौली (तनहुँ): रसुवाको भोटेकोशीसहितका क्षेत्रमा गएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि म्याग्दे गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु आठ लाख २३ हजार ९१७ सहयोग गर्ने भएका छन् ।
म्याग्दे गाउँपालिकाको कार्यपालिकाको आज बसेको बैठकको निर्णयअनुसार गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो पाँच दिनको तलब बराबरको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।
गाउँपालिकाका लेखा अधिकृत शिवजी थापाका अनुसार जनप्रतिनिधि तथा कर्मचारीको पाँच दिनको तलबबाट सङ्कलित रु आठ लाख २३ हजार ९१७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । यसअघि गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार कोषमा पालिकाका तर्फबाट थप रु पाँच लाख सहयोग गर्ने निर्णय भइसकेको छ ।
गाउँपालिकाले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो । बाढीेबाट प्रभावित परिवारको पीडामा साथ दिन गाउँपालिकाले आफ्नो सामथ्र्यअनुसार सहयोग गर्न स्थानीय नागरिकलाई समेत अपिल गरेको छ ।
महालक्ष्मी नगरपालिकाले ३० लाख राहत उपलब्ध गराउँदै
ललितपुर : रसुवागढीस्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि महालक्ष्मी नगरपालिकाले रु ३० लाख राहत सहयोग उपलब्ध गराउने भएको छ ।
नगरप्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतमा आज बसेको कार्यपालिका बैठकले विपद् पीडितको उद्धार र सहायताका लागि जनप्रतिनिधिको एक महिनाको भत्ता तथा नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको सात दिनको तलब उपलब्ध गराउने निर्णय गरेको छ ।
नगरपालिकाले बाँकी अपुग रकम आन्तरिक कोषबाट व्यहोर्ने गरी उक्त रकम सहयोग गर्ने निर्णय गरेको जनाउँदै नगर प्रमुख श्रेष्ठले छिमेकी जिल्लामा परेको ठूलो प्राकृतिक विपत्तिमा मानवीय सहयोग पु¥याउनु दायित्व रहेको बताउनुभयो ।
नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “रसुवागढी र आसपासका क्षेत्रमा बाढीले पुर्याएको क्षतिले हामी सबैलाई स्तब्ध बनाएको छ, यस कठिन घडीमा पीडित परिवारको मलमपट्टीका लागि नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी हातेमालो गर्दै ऐक्यबद्धता जनाउन उभिएका हौँ ।”
नगरपालिकाले नगरपालिकाको एम्बुलेन्स तथा नगर प्रहरीसहितको टोलीलाई विपद् क्षेत्रमा विपद्का कारण घाइते भएका व्यक्तिको उद्धार तथा आवश्यक सहयोगका लागि परिचालन समेत गरेको छ ।
घाइतेको शीघ्र उद्धार गरी आवश्यक उपचारका लागि स्वास्थ्य संस्थासम्म पु¥याउने कार्यमा टोली सक्रिय रहेको उपप्रमुख लक्ष्मी महर्जनले जानकारी दिनुभयो ।
भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएको छ । बाढीका कारण ३५ वटा पक्कि पुल, ४५ वटा झोलुङ्गे पुल र ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त भएको छ ।
प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको सहयोग
चितवन : नेपाल लेयर्स कुखुरापालक सङ्घले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० लाख सहयोग गरेको छ । रसुवा बाढी प्रभावितको राहतका लागि सङ्घले कोषमा सहयोग गरेको हो ।
सङ्घका अध्यक्ष विनोद पोखरेलले रसुवा बाढीपछि राहत र उद्धारका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेपछि सङ्घले आज रु १० लाख सहयोग गरेको बताउनुभयो । रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा लगायतका जिल्लामा भएको मानवीय र भौतिक क्षतिप्रति अध्यक्ष पोखरेलले दुःख व्यक्त गर्नुभयो ।
सङ्घले यसअघि भूकम्प र कोभिडलगायतका प्राकृतिक विपत्तिमा पनि सहयोग गर्दै आएको जानकारी दिदै अध्यक्ष पोखरेलले राष्ट्रमा परेको विपत्तिमा थोरै भए पनि सङ्घले सहयोग गरेको बताउनुभयो ।
पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग
गण्डकी : पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि रु ४५ लाख सहयोग प्रदान गरेको छ । जनप्रतिनिधि र कर्मचारीका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।
महानगरका तर्फबाट अत्याधुनिक एम्बुलेन्ससहित राहत सामग्री, स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली बाढी प्रभावित क्षेत्रमा पठाइएको उहाँले बताउनुभयो ।
प्राकृतिक विपद्को घडीमा राहत तथा उद्धार कार्य एकद्वार प्रणालीमार्फत व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन हुनुपर्ने भनाइ छ । राहत तथा उद्धारका लागि महानगरपालिकाले सम्बद्ध निकायसँग सम्पर्क, समन्वय र सहजीकरण गरिरहेको प्रमुख आचार्यले बताउनुभयो ।
बुधबार बिहान आएको बाढीले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएपछि पोखरा महानगरपालिकासहित यहाँका अन्य स्थानीय तहले पनि राहत सहयोग उपलब्ध गराएका छन् ।
शिवसताक्षीका कर्मचारीको आर्थिक सहयोग
भद्रपुर (झापा) : भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि झापाको शिवसताक्षी नगरपालिकाका कर्मचारीले करिब रु आठ लाख जम्मा गरेका छन् ।
नगरपालिकाका कर्मचारीको आज बसेको बैठकले अधिकृत तहका कर्मचारीबाट जनही रु पाँच हजार, सहायक चौथो र पाँचौँ तहबाट जनही रु चार हजार तथा कार्यालय सहयोगी र सवारी चालकबाट रु तीन हजारका दरले रकम जम्मा गरेका हुन् ।
नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङका अनुसार सङ्कलन भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताउनुभयो । नगरपालिकामा १८२ जना कर्मचारी कार्यरत छन् ।
ताराखोलाको दुई लाख सहयोग
बागलुङ : ताराखोला गाउँपालिकाले भोटेकोशी नदीको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि रु दुई लाख सहयोग गर्ने भएको छ ।
भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोट जिल्लाका नागरिकको राहत तथा उद्धारका लागि ताराखोला गाउँपालिकाले रु दुई लाख सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिनुभयो ।
ताराखोला गाउँपालिकाको आज बसेको कार्यपालिका बैठकले भोटेकोशी गएको बाढीबाट नुवाकोट र रसुवा जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएकाप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल सहयोग पठाउने निर्णय गरेको हो । विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले रसुवा र नुवाकोट जिल्लाको सम्बन्धित विपद् व्यवस्थापन कोषमा प्रति जिल्ला रु एक लाखका दरले रकम जम्मा गर्ने निर्णय गरेको अध्यक्ष विकले बताउनुभयो ।