
काठमाडौं, २६ असोज । नपाली युवा क्रिकेटर सन्दीप लामिछानेले एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने कीर्तिमान कायम गरेका छन् ।
आईसीसी टि-२० बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपाल र सिंगापुरबीच भएको खेलमा ४ विकेट लिएपछि सन्दिप नेपालको लागि एकै अन्तर्रास्ट्रिय प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन्।
यस अगाडि यो कीर्तिमान बसन्त रेग्मी र बिनोद दासको नाममा रहेको थियो। रेग्मीले सन् २०१२ को डिभिजन(४ प्रतियोगितामा तथा बिनोद दासले सन् २००५ को एसीसी फास्ट ट्रयाक कन्ट्रीज ( तिन दिवसीय ) प्रतियोगितामा २१ विकेट लिएका थिए।
प्रतियोगितामा सन्दीप विकेट संख्या २४ पुगेको छ जुन क्रममा उनले मलेसिया र थाईल्याण्डसंग ५ । ५ विकेट, म्यानमार र सिंगापुरसंग ४ । ४ विकेट तथा भुटान र चिनसंग ३ । ३ विकेट लिएका छन्।
आजको खेलमा नेपाली टोलीमा बिनोद भण्डारी, अनिल साह, दिपेन्द्र ऐरि, बसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, ललित राजबंशी, शरद भेसावकर, पारस खड्का, सोमपाल कामी र करन केसी सम्मिलित छन् ।
नेपाललाई ८२ रनको लक्ष्य
बायुमास ओभल मैदानमा टस हारेर ब्याटिंग गरेको सिंगापुरले खराब सुरुवात गर्यो। २० ओभरको खेलमा जम्मा ८१ रनमा समेटियो ।
सोमपाल कामिले ओपनर अरित्रा दत्ता ( ४ ) र तेश्रो नम्बरका कुमारंगे ( ६ ) लाई पेभेलियन फर्काए भने छैठौं ओभरमा बसन्त रेग्मीले चन्द्रमोहन ( २५ ) लाई उही बाटो देखाउदा ३२ रनमा सिंगापुरले ३ विकेट गुमायो।
त्यसपछि पनि सिंगापुरको विकेट जाने शिलशिला रोकिएन।मध्ये क्रमका चेतन सुर्यबंशी ( ९ ) र मनप्रित सिंह ( १० ) लाई सन्दिप लामिछानेले पेभेलियन फर्काए। सिंगापुरको तल्लो क्रमले पनि खास प्रदर्शन गर्न सकेन र १७.३ ओभरमा ८१ रन बनाउदा सम्पूर्ण विकेट गुमाउन पुग्यो।
नेपालको बलिङ्गमा सन्दिप लामिछानेले ४ विकेट हात पारे जुन क्रममा ३.३ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए। यस्तै सोमपाल कामि ( ३-०-२०-२ ) र करन केसीले ( ३-०-१८-२ ) २। २ विकेट तथा बसन्त रेग्मी र ललित राजबंशीले १ । १ विकेट हात पारे।
आईसीसी टि-२० बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले अन्तिम खेलमा सिंगापुरसंग खेल्दैछ। यस खेलको बिजेता प्रतियोगिताको च्याम्पियन् समेत बन्नेछ। दुवै टिम यस अघिनै एसिया छनौट खेल्न छनौट भैसकेका छन्।