पूर्वी एशिया च्याम्पियन टीम आज स्वदेश फर्किदै,सन्दीप भने अफगानिस्तान प्रिमियर लिग खेल्न सीधै यूएईतिर

काठमाडौं, २७ असोज । आईसीसी टि-२० बिश्वकप छनौट एसिया (पूर्वी) छनौट प्रतियोगिताको उपाधि जित्न सफल नेपाली क्रिकेट टिम आज स्वदेश फर्किदैछ ।
विजेता नेपाली क्रिकेट टिम शनिबार दिउसो १२ः१५ बजे मालिन्दो एअरको बिमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने टिमका ब्यबस्थापक रमन शिवाकोटीले जानकारी गराएका छन्।
टिमसंग कीर्तिमानधारी युवा खेलाडी सन्दिप लामिछाने भने आउने छैनन् उनी मलेसियाबाट अफगानिस्तान प्रिमियर लिग खेल्न राति २ बजे युएई प्रस्थान गरिसकेका छन्। उनले आज राति नै रासिद खान कप्तानीको टिम काबुल ज्वनानसंगको खेल खेल्नेछन्।
शुक्रबार मलेसियामा सम्पन्न प्रतियोगितामा सिंगापुरसंगको अन्तिम खेल वर्षाले पूरा हुन नसकेपछि अंकतालिकामा समान अंक रहेपनि नेट रनरेटको आधारमा नेपाल विजेताको भएको हो। सन् २०१४ को बिश्व क्रिकेट लिग डिभिजन-३ को उपाधि जितेको ४ बर्षपछि मात्रै नेपाली क्रिकेट टिमले कुनै प्रतियोगिताको उपाधि जितेको हो।
प्रतियोगिताको विजेता हुँदै नेपाल, उपविजेताको रुपमा सिंगापुर र तेश्रो हुँदै मलेसिया टि-२० बिश्वकप छनौटको दोश्रो चरण एसिया छनौट प्रवेश गर्न सफल भएका छन्। एसिया छनौटमा नेपाल, सिंगापुर, मलेसिया सहित यएई, कुवेत र कतार छनौट भएका छन्। एसिया छनौटबाट उत्कृस्ट २ टिम टि-२० बिश्वकपको ग्लोबल छनौट खेल्न छानिनेछन्।
टि-२० बिश्वकप एसिया पूर्वी छनौट अन्तर्गत नेपालले म्यानमार र मलेसियालाई समान ८ विकेटले, थाईल्याण्डले १४० रनले (डी।एल) , भुटानलाई ११७ रनले र चीनलाई १० विकेटले पराजित गरेको थियो । अन्तिम खेल विजयको लक्ष्यसाथ बढेको र सिंगापुरलाई ८१ रनको सहज योगमा समेटेको नेपाल आफ्नो इनिड.लाई बर्षाको कारणले पूरा गर्न पाएन र अंक बाड्न बाध्य भयो।
टि-२० बिश्वकपको छनौटमा प्रवल दावेदार
नेपाल सहित सिंगापुर, मलेसिया, युएई, कतार र कुवेत गरि ६ टिमले टि-२० बिश्वकपको दोश्रो खुड्किलो एसिया छनौट खेल्नेछन्। प्रतियोगिताको मिति सार्वजनिक भएको छैन। एसिया छनौटमा पनि अंक तालिकामा उत्कृस्ट २ हुने टिम अर्थात विजेता र उपविजेता तेश्रो र अन्तिम छनौट चरण खेल्न छानिने छन्।
ग्लोबल छनौटमा को को पर्छन ?
ग्लोबल छनौटमा आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ नम्बरमा रहेका ६ टिम र बिभिन्न क्षेत्रबाट उत्कृस्ट भएर आएका ८ टिमले गरि कुल १४ टिमले प्रतिस्पर्धा गर्नेछन्। ग्लोबल छनौटमा एसिया, अफ्रीका र अमेरिकाबाट २।२ टिम तथा यूरोप र इस्ट एसिया प्यासिफिकबाट १ टिम गरि ८ टिम पुग्नेछन्।
ग्लोबल टि-२० बिश्वकप छनौटबाट उत्कृस्ट ६ टिम आईसीसीको टि-२० वरियतामा उत्कृस्ट ९ टिम र आयोजक अस्ट्रेलिया गरि कुल १६ टिम टि-२० बिश्वकप खेल्ने छन्।