Prakash Adhikari August 29, 2026
 काठमाडौं, १३ भाद्र । भोटेकोशी र त्रिशुलीको प्रलयकारी बाढीबाट पीडित र प्रभावित नागरिकहरुको सहयोगको लागि उदारमना व्यक्ति, उद्योगी, व्यापारी, व्यापारिक तथा औद्योगिक प्रतिष्ठान, संघसंस्था, राजनीतिक दल र तीनै तहका सरकार, विधायकहरुबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी छ । संघीय मन्त्रिपरिषद्ले  सबै सदस्यहरुको एक महिनाको तलब बाढीपीडितलाई जम्मा गर्ने निर्णय गरेको छ भने शुक्रबार सबैभन्दा ठूलो सहयोग राशी सूर्य नेपालले प्रदान गरेको छ । उसले कोषमा १५ करोड रुपैया प्रदान गरेको छ ।
यसका साथै प्रदेश सरकार, प्रदेश सभा,सांसद, स्थानीय सरकार, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था,उद्यमी व्यापारी र उदारमना नागरिकहरुले पनि स्वःस्फूर्त रुपमा प्रधानमन्त्री राहत कोषमार्फत बाढी पीडितलाई सहयोग गरेका छन् । कोषमा जम्मा भएको रकम बाढी पीडित र प्रभावितहरुको खोजी, उद्धार, स्वास्थ्योपचार,पुनस्थापनामा खर्च हुने छ ।
शुक्रवार राहत कोषमा सहयोग गर्नेहरुको विवरण यस्तो छः
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब/पारिश्रमिक
सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब/पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकार प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।
 सूर्य नेपालद्वारा १५ करोड सहयोग
काठमाडौँ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले रु १५ करोड सहयोग गरेको छ । आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो ।
यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारी दिएर उपलब्ध गराइएको निजी क्षेत्रबाट प्राप्त सबैभन्दा ठूलो सहयोग रकम हो । अर्थमन्त्री डा वाग्लेलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी एवं महाप्रबन्धक प्रेम अर्यालले उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।
चौधरी ग्रुप र नबिल बैंकबाट रु १५ करोड बढीको सहयोग
काठमाडौँ: नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुप र ग्रुपको नेतृत्वमा सञ्चालित नबिल बैंकबाट भोटेकोशी त्रिशूली बाढी प्रभावितहरुको सहयोगार्थ रु १५ करोड बढीको सहयोग प्रदान भएको छ । चौधरी ग्रुपले नेपाल उद्योग परिसंघमार्फत सो सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको परिसंघले जनाएको छ ।
उद्योग परिसङ्द्वारा ५ करोड २९ लाख सहयोग
काठमाडौँ:  नेपाल उद्योग परिसङ्घको समन्वयमा परिसङ्घका सदस्य संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच करोड २९ लाख १५ हजार सहयोग हस्तान्तरण गरिएको छ । परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई रु पाँच करोड २९ लाख १५ हजारको चेक हस्तान्तरण गरेको हो ।
आजै अर्थमन्त्री वाग्लेलाई एमएडब्लु गु्रपबाट परिसङ्घका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले रु एक करोड ११ लाख, परिसङ्घ गभर्निङ काउन्सिलका सदस्य एवं उद्योगी विजयकुमार शाहले रु एक करोडको चेक हस्तान्तरण गर्नुभयो । त्यस्तै जावलाखेल डिष्टिलरीबाट रु एक करोड, हिमालयन डिष्टिलरीबाट रु एक करोड, हिमालयन बुलियन कम्पनीबाट रु एक करोड एक लाख हस्तान्तरण गरिएको परिसङ्घका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
 नेपाल आदर्श निर्माण कम्पनीबाट रु १० लाख सहयोगको प्रतिबद्धता आएको नेपाल उद्योग परिसङ्घले विज्ञप्तिमार्फत जनाएको छ । परिसङ्घका अनुसार गुड होम प्रडक्टस्बाट रु दुई लाख २१ हजार, ब्रिटिश कलर इन्डष्ट्रिज्बाट रु दुई लाख १० हजार, लाङटाङ रि ट्रेकिङबाट रु एक लाख १२ हजार, कास ट्रडिङबाट रु एक लाख ११ हजार १११, सिल्भर लाइनिङबाट रु एक लाख ११ हजार १११, ग्लोकल प्रालिबाट रु ५० हजार आर्थिक सहयोग प्रदान भएको छ ।
यसअघि परिसङ्घको समन्वयमा गोर्खा बु्रअरीले रु १० करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । आज अर्थमन्त्रीलाई चेक हस्तान्तरण कार्यक्रममा पूर्वअध्यक्ष शतिसकुमार मोर, परिसङ्घका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, उपाध्यक्ष राजबहादुर शाह, राष्ट्रिय परिषद् सदस्यहरू, सहयोग गर्ने संस्थाका प्रतिनिधि, परिसङ्घका महानिर्देशक डा घनश्याम ओझालगायत सहभागी हुनुहुन्थ्यो ।
परिसङ्घले आफ्ना सदस्य संस्था, उद्योगी व्यवसायीलाई रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सक्दो सहयोग गर्न अनुरोधसमेत गरेको छ ।
गण्डकी प्रदेश सरकारको चार करोड
गण्डकी : भोटेकोशी  बाढीपीडितको सहयोगार्थ गण्डकी प्रदेश सरकारले रु चार करोड प्रदान गर्ने भएको छ ।
 आज एक विज्ञप्ति निकालेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त  रकम दाखिला गर्ने निर्णय भएको जनाउनुभएको हो ।
मुख्यमन्त्रीलेबाढीपछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन र भेटिएका शवहरुको उचित व्यवस्थापनका लागि प्रदेश सरकारबाट सम्बन्धित निकायसँग समन्वय भइरहेको बताउनुभएको छ ।
‘सम्पर्कविहीनको खोजी, जोखिममा रहेकाको उद्धार, घाइतेको उपचार, प्रभावित तथा आश्रयविहीनका लागि सुरक्षित आश्रय, खानपान र आवश्यक राहतको व्यवस्था गर्न सम्बन्धित सबै निकायलाई प्रभावकारी रूपमा परिचालित हुन आग्रह गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।
टोखा नगरले  १ करोड २० लाख प्रदान गर्ने
काठमाडौँ:  टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ रु करोड २० लाख  प्रदान गर्ने भएको छ ।
नगरपालिकाले जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी एवं शिक्षकको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रु २० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले राससलाई जानकारी दिनुभयो ।
यसैगरी, बाढीबाट क्षतिग्रस्त भएका क्षेत्रमा कुनै एक सार्वजनिक संरचना (सडक, पुल वा विद्यालय) निर्माणका लागि सम्बन्धित स्थानीय तहलाई रु एक  करोड  अनुदान उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो ।
बैतडीका स्थानीय तहद्वारा ११ लाख सहयोग
बैतडी :  बैतडीका पाँच स्थानीय तहले रसुवा बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि रु ११ लाख सहयोग गर्ने भएका छन् ।
बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागी दशरथचन्द नगरपालिकाले रु तीन लाख सहयोग उपलब्ध गराउने नगरप्रमुख पुष्करराज जोशीले जानकारी दिनुभयो । नगर प्रमुखस्तरीय निर्णय अनुुसार विपद् प्रभावित नागरिकका लागि राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
यस्तै पाटन नगरपालिकाले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई लाख ५० हजार जम्मा गर्ने लागि  नगरप्रमुख गौरीसिंह रावलले बताउनुभयो । दोगडाकेदार गाउँपालिकाले कोषमा रु २ लाख उपलब्ध गराउने निर्णय गरेको सो गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताउनुभयो । यस्तै जनप्रतिनिधिको दुई दिन बराबरको पारश्रमिक पनि कोषमा जम्मा गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
यसैगरी शिवनाथ गाउँपालिकाले बाढीपीडितका लागि रु दुई लाख सहयोग गर्ने भएको छ । विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिने गाउँपालिकाले जनाएको छ । सिगास गाउँपालिकाले कोषमा रु एक  लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।
 
भरतपुर महानगरद्वारा एक करोड एक लाख सहयोग
नारायणगढ :  भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भरतपुर महानगरपालिकाले रु एक करोड एक लाख सहयोग गर्ने भएको छ ।
महानगरको आज बसेको बैठकले बाढी प्रभावितका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको महानगरका उपसचिव शेषकान्त पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारको निर्णयअनुसार महानगरपालिकामा कार्यरत सरकारी कर्मचारीको तलब कटौतीबाट रु ५३ लाख ६८ हजार राहत कोषमा जम्मा हुनेछ । त्यसका अतिरिक्त महानगरका जनप्रतिनिधिले १० दिनबराबरको सेवासुविधा गरी रु एक करोड एक लाख रकम राहतमा उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएकाले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग गर्न महानगरले निर्णय गरेको बताउनुभयो ।
रत्ननगर नगरपालिकाले रु ३२ लाख सहयोग गर्ने 
 रत्ननगर नगरपालिकाले पनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु ३२ लाख सहयोग गर्ने निर्णय गरेको छ । नगरप्रमुख प्रह्लाद सापकोटाले आफ्नो तीन महिनाको सेवासुविधाबापत रु ९९ हजार राहत कोषमा जम्मा गरिसक्नुभएको जानकारी दिनुभयो ।
नगरपालिकाका कर्मचारी तथा शिक्षकबाट सामूहिक रूपमा रु २५ लाख सङ्कलन गरिने र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट बाँकी रकम सहयोग गरिने नगरप्रमुख सापकोटाले जानकारी दिनुभयो ।
त्यसैगरी, कालिका नगरपालिकाले बाढी प्रभावितको उद्धार तथा व्यवस्थापनका लागि एम्बुलेन्स र शववाहन निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको जनाएको छ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि प्रभावितको राहत तथा पुनःस्थापनाका लागि स्थानीय तह, विभिन्न सङ्घसंस्था र नागरिकस्तरबाट राहत कोषमा सहयोग जुटाउने क्रम जारी छ ।
सुदूरपश्चिम प्रदेश सरकारको  दुई करोड सहयोग
सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि रु दुई करोड प्रदान गर्ने भएको छ ।
प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो ।
सहायता रकम  ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा दाखिला गर्ने निर्णय भएको सरकारका प्रकाशबहादुर रावलले राससलाई जानकारी दिनुभयो ।
साथै, बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णय भएको छ ।
यसैगरी, बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । आयोगको सदस्यमा गङ्गादत्त जोशी र हीरा चन्दलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
राजी राणाद्वारा एक करोड नौ लाख सहयोग
काठमाडाैँ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले रु एक करोड नौ लाख आर्थिक सहयोग गर्नुभएको छ । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो सहयोग हो ।
व्यावसायिक पृष्ठभूमिकी ८७ वर्षीया राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाउनुभएको रकमको चेक आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझ्नुभयो । सो क्रममा राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नै तर्फबाट रु ८० हजार सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गर्नुभयो । राणाले थप रु २५ लाख बराबरको जिन्सी र खाद्यान्न सहयोगको तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।
भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग
काठमाडौँ : एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले भोटेकोशी बाढीपीडितलाई रु एक करोड रुपयाँ सहयोग गरेको छ ।
बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरिएको सो कम्पनीले जनाएको छ ।
मध्यपुरथिमि नगरपालिकाद्वारा ५१ लाख सहयोग
 मध्यपुरथिमि , १२ भदौः मध्यपुरथिमि नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु ५१ लाख सहयोग गर्ने भएको छ ।
नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न नगरकार्यपालिकाको ५२औँ बैठकले जनप्रतिनिधिको एक महिनाको पारिश्रमिक तथा अन्य कर्मचारीको दुईदेखि सात दिनसम्मको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप गरी रु ५१ लाख एक सय पाँच उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले बाढीका कारण बेपत्ता भएका नागरिकको सकुसल उद्धार एवं घाइतेहरूको स्वास्थ्योपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गरेको प्रवक्ता कृष्णहरि आचार्यले जानकारी दिनुभयो ।
बाढीपीडितलाई मितेरी बैंकको १० लाख सहयोग
सुनसरी:  रसुवा भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि मितेरी डेभलपमेन्ट बैंक लिमिटेड धरानले रु १० लाख सहयोग गरेको छ ।
बैंकका सञ्चालक तथा कर्मचारीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेगरी उक्त रकमको चेक आज सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई हस्तान्तरण गरिएको बैंकका सञ्चालक समिति अध्यक्ष किसन मास्केले जानकारी दिनुभयो ।
बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले सञ्चालक समिति तथा कर्मचारीको तर्फबाट रकम प्रदान गरिएको मास्केले बताउनुभयो ।
त्यसैगरी, प्रीति भल्व एन्ड फिटिङ इन्डस्ट्रिज प्रालि धरानका सञ्चालक तथा मितेरी डेभलपमेन्ट बैंकका सञ्चालक समिति सदस्य अशोककुमार अग्रवालले व्यक्तिगततर्फबाट बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले रु तीन लाखको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेगरी प्रमुख जिल्ला अधिकारी अर्याललाई हस्तान्तरण गर्नुभएको छ ।
कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग
सुदूरपश्चिम:नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि रु तीन लाख ६० हजार आठ सय ३३ सहयोग गर्ने भएको छ ।
संसदीय दलका नेता कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक तथा दलका अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिकबराबरको रकम सहयोग गर्ने बताउनुभयो ।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोगको घोषणा गरिएको शाहले जानकारी दिनुभयो ।
म्याग्दीका तीन पालिकाद्वारा  दुई /दुई लाख सहयोग
म्याग्दी:  भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्थापनका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा म्याग्दीका तीन स्थानीय तहहरुले रु. छ लाख सहयोग गरेका छन् ।
धवलागिरी, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाले कोषमा रु. दुई÷दुई लाख जम्मा गरेका हुन् । यसैगरी कोषमा बेनीको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले रु. एक लाख ५१ हजार जम्मा गरेको छ ।
 सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग
पर्सा : सखुवाप्रसौनी गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु पाँच लाख आर्थिक सहयोग गर्ने भएको छ ।
पर्सास्थित सो गाउँपालिकाले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका उक्त रकम सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “देशमा अहिले प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको छ, विपद्को समयमा एकले अर्कालाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको हो, त्यसैले हामीले अहिलेलाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरेका छौँ ।”
बाढी प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने उहाँले बताउनुभयो । उहाँले विपद्को समयमा आफूले सक्ने सहयोग गर्न पनि सबैलाई अनुरोध गर्नुभयो ।
एमालेका दुई प्रदेश कमिटीद्वारा २० लाख सहयोग घोषणा
काठमाडौँ : रसुवा बाढीबाट प्रभावितको राहत र उद्धारका लागि नेकपा (एमाले) को दुई प्रदेश कमिटीले प्रधानमन्त्री राहत कोषमा रु २० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आज बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि जान लागेको युवा स्वयंसेवक फोर्सका टोलीको बिदाइको क्रममा उक्त सहयोग घोषणा गरिएको पार्टी सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिनुभयो ।
एमाले बागमती प्रदेश कमिटी र राजधानी प्रदेश कमिटीले क्रमशः रु १०/१० लाख उपलब्ध गराउने तथा सबै तहका कमिटीबाट सहयोग सङ्कलन गरी एकमुष्ट सहयोग गरिने उहाँले बताउनुभयो । यसअघि एमाले महासचिव शङ्कर पोखरेलको नेतृत्वमा सचिव डा राजन भट्टराई, नीति अध्ययन प्रतिष्ठानका प्रमुख विष्णु रिमाल, जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख विशाल भट्टराई, स्वास्थ्य विभाग प्रमुखका कृष्णगोपाल श्रेष्ठ, प्रचार तथा प्रकाशन विभाग प्रमुखका नीरज आचार्य, विभिन्न जनसङ्गठनका प्रमुखलगायतले बिहीबार नुवाकोटको विदुर पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिनुभएको थियो ।
टोलीले प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहतको आवश्यकता र तत्काल गर्नुपर्ने कामबारे स्थानीयसँग जानकारी लिएको थियो ।  एमालेले विपद्को समयमा पार्टीका नेता तथा कार्यकर्तालाई राहत, उद्धार तथा स्वयंसेवी कार्यमा परिचालन गर्ने तयारी गरेको छ ।
प्रवासी कमिटीले २० लाख दिने 
एमाले निकटकै नेपाली मञ्च, अन्तरराष्ट्रिय कमिटीले बाढी पहिरोको विपत्तिमा परेकाको उद्धार तथा राहत कोषमा तत्काल रु २० लाख सहयोग गर्ने भएको छ । कमिटीको सचिवालयको आकस्मिक बैठकले मातृभूमिप्रतिको दायित्वलाई आत्मसात गर्दै बाढीपहिरो प्रभावित नागरिकको तत्काल राहत तथा सहयोगका लागि कमिटीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन (निगरानी गर्ने ड्रोन) हस्तान्तरण गरेको छ । आज प्रहरी प्रधान कार्यालय पुगी चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन परिषद्का सभापति दीपककुमार मल्होत्राले नेपाल प्रहरीलाई उक्त ड्रोन हस्तान्तरण गर्नुभयो ।
ड्रोन हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछाने तथा वरिष्ठ प्रहरी उपरीक्षक दामोदर कँडेलको उपस्थिति थियो ।
महानिर्देशक देवेन्द्र लामिछाने विपद्का कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी, तीव्र र प्रविधिमैत्री बनाउन यी ड्रोनले महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँले कठिन भौगोलिक अवस्था तथा जोखिमयुक्त क्षेत्रमा मानिसको पहुँच सीमित हुने भएकाले ड्रोनमार्फत प्रभावित क्षेत्रको निगरानी, अवस्थाको पहिचान तथा उद्धारकार्यको समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चेम्बरले यसअघि ५० किलो क्षमताको एकसहित दुईवटा ड्रोन विदुर नगरपालिकामा पठाइसकेको छ । त्यसैगरी, प्रभावित क्षेत्रमा सञ्चार तथा अत्यावश्यक विद्युतीय उपकरण सञ्चालनमा सहयोग पुग्ने उद्देश्यले चेम्बरले १२५ वटा पावर बैंकसमेत उपलब्ध गराइएको जनाएको छ ।
चेम्बरले विपद् प्रभावित नागरिकका लागि राहत सङ्कलन तथा वितरण अभियानसमेत अघि बढाएको छ । रसुवा, नुवाकोट तथा धादिङलगायत प्रभावित जिल्लामा भदौ ११ गते तत्कालै नगद तथा जिन्सी सहयोग उपलब्ध गराएको चेम्बरले राहत अभियानलाई अगाडि बढाउँदै सहयोगलाई निरन्तरता दिने जनाएको छ ।
पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग
काठमाडौँ: पूर्वप्रधानमन्त्री सुशीला कार्कीले भोटेकोशी बाढीपीडितको उद्धार र राहतका लागि एक महिनाको पेन्सन रकम सहयोग गर्नुुभएको छ ।
उहाँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी राष्ट्रिय वाणिज्य बैंकको खातामा मासिक पेन्सनबापतको रकम रु ७७ हजार जम्मा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्री कार्कीले एक अपिलमार्फत बाढी विपद्को सङ्कटबाट पार पाउन सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले उद्धार, राहत, उपचार र पुनःस्थापनामा अहोरात्र खटिने सबैको सक्रियता र समर्पणको उच्च प्रशंसा गर्दै आफ्नो सामथ्र्यअनुसार प्रभावित परिवार र समुदायको सहयोगमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ ।
 मेलम्चीका बाढी प्रभावितद्वारा एक लाख सहयोग
सिन्धुपाल्चोक, १२ भदौः रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकको मेलम्ची बाढी प्रभावितले रकम सङ्कलन गरी सहयोग गरेका छन् । विसं २०७८ असार २ गते आएको बाढीका कारण प्रभावित बनेकाहरूले रु एक लाख चार हजार १६५ सङ्कलन गरी सयोग प्रदान गरेका हुन् ।
पीडितलाई केही भए पनि सहयोग होस् भन्ने उद्देश्यले रकम सङ्कलन गरिएको मेलम्ची बाढी प्रभावित प्रकाश श्रेष्ठले बताउनुभयो । “रसुवामा आएको विनासकारी बाढीले धेरै परिवारलाई पीडा, दुःख र अनिश्चितताको अवस्थामा पुर्याएको छ”, उहाँले भन्नुभयो, “केही वर्षअघि हामीले मेलम्ची बाढीको पीडा भोगेका छौँ । उहाँहरूको पीडामा थोरै भए पनि मल्हम लगाउन हामीले मेलम्ची बाढी प्रभावितबाट रकम सङ्कलन गरेका हौँ ।” मेलम्चीवासी, व्यवसायी, समाजसेवी तथा सहयोगीबाट रु एक लाख चार हजार १६५ सङ्कलन गरिएको उहाँले बताउनुभयो ।
आफूले भोगेको पीडा आज रसुवाका नेपालीलाई परेको भन्दै यसमा सानो सहयोगले पनि महत्त्व राख्ने भएकाले स्थानीयबाट रकम सङ्कलन गरी पीडितलाई उपलब्ध गराइएको मेलम्ची बाढी प्रभावित कुमार दुलालले बताउनुभयो । “अहिलेकोजस्तै त्रासदी हाम्रो मानसपटलमा अझै ताजा छ । यो बेला हामीलाई चुपचाप हेरेर बस्न मनले दिएन”, उहाँले भन्नुभयो, “रसुवाको बाढीले हामीलाई थप भयभित र सर्तक बनाएको छ ।”
पुनःस्थापनाका लागि समयमै आवश्यक सहयोग, समन्वय भएमा व्यवस्थापन प्रभावकारी हुने भन्दै दुलालले व्यवस्थापन अभाव हुँदा विपद् प्रभावितले थप पीडा भोग्नुपर्ने भन्दै आपसी सहयोग र समन्वयको आवश्यकता औँल्याउनुभयो । “अब हामी सबै राहत र पीडितको पुनःस्थापनामा जुट्न आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
बाढीपीडितलाई तारकेश्वर नगरपालिकाको  २८ लाख सहयोग
काठमाडौँ :  भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार र पुनःस्थापनाका लागि रु २८ लाख ४१ हजार ३२६ आर्थिक सहयोग दाखिला गरिएको छ ।
काठमाडौँको तारकेश्वर नगरपालिकाले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा दाखिला गरेको हो । तारकेश्वर नगरपालिकाका  नगरप्रमुख उपप्रमुख र वडाध्यक्षहरुको  १५ दिन, नगरसभा सदस्यको ७ दिनको बराबरको सेवा सुविधाबाट सङ्कलन गरिएको उक्त रकम सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले जानकारी दिनुभयो ।
 काभ्रे कांग्रेसद्वारा ११ लाख सहयोग
काभ्रेपलाञ्चोक नेपाली कांग्रेस काभ्रेपलान्चोक जिल्ला समितिले रसुवा बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाएको छ । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटलगायतका जिल्लामा भएको जनधनको क्षति भएपछि राहतका लागि कांगे्रसले रु ११ लाख सहयोगको सङ्कलन गरेको हो ।
मानवीय सेवाका लागि सङ्कलित उक्त रकम पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत सम्बन्धित निकायमा पठाइने पार्टीका जिल्ला सभापति तीर्थ लामाले बताउनुभयो । उहाँका अनुसार बाढीप्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले पार्टीका जिल्लास्थित नेताकार्यकर्तासँग उक्त रकम सङ्कलन गरिएको हो ।
रोशी गाउँपालिकाको रु १० लाख
 रोशी गाउँपालिकाले बाढीपीडितको जनधनको क्षतिको राहतका लागि रु १० लाख प्रधानमन्त्री–दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । गाउँपालिकाद्वारा जारी विज्ञप्तिअनुसार गाउँपालिकाका जनप्रतिनिधिद्वारा सात दिनको बराबारको सेवासुविधा तथा सम्पूर्ण कर्मचारी÷शिक्षकको एक दिनको पारिश्रमिक बराबरको रु नौ लाख ७० हजार ७०० तथा गाउँपालिकाको विपद् प्रकोप व्यवास्थापन कोषबाट रु २९ हजार २०० व्यवस्थापन गरी रु १० लाख प्रधानमन्त्री–दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।
तनहुँजिल्लाका स्थानीय तहका कर्मचारीको ३२ लाख सहयोग
दमौली  भोटेकोशी बाढीपीडितलाई तनहुँ जिल्लाका स्थानीय तहका कर्मचारीले रु ३२ लाख ८८ हजार ९१७  ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा दाखिला गरेका छन् ।
म्याग्द, ऋषिङ,  व्यास र  शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिध तथा कर्मचारीबाट जम्मा गरिएको रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा दाखिला गरिएको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले बताउनुभयो ।
 पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग
गुल्मी:  नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाले रसुवा बाढी प्रभावितलाई रु एक लाख सहयोग गर्ने निर्णय गरेको छ ।
महासङ्घको आज तम्घासमा बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा गएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको गुल्मी शाखाका अध्यक्ष अनिल खत्रीले जानकारी दिनुभयो ।
विपद्को समयमा पत्रकारले सूचना सम्प्रेषणसँगै मानवीय सहयोग र सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्ने भावनाका साथ उक्त सहयोग गर्न लागिएको अध्यक्ष खत्रीको भनाइ छ । गुल्मी शाखाले यसअघि कोरोना महामारीका समयमा पनि जिल्लामा अक्सिजन प्लाण्ट निर्माणका लागि आर्थिक अभियान सञ्चालन गरेको थियो ।
हेटौँडा स्कूल अफ म्यानेजमेन्टको  २० लाख 
हेटौँडा :  रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख दाखिला गरेको छ ।
संस्थाका प्रिन्सिपल पुरनबहादुर जोशीले रु १५ लाख र   शिक्षक तथा कर्मचारीले स्थापना गरेको कोषबाट रु पाँच लाख गरी २० लाख दाखिला गरेको हो ।
“राष्ट्र विपद्मा परेका बेला नागरिकले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्छ”, प्रिन्सिपल जोशीले भन्नुभयो, “राष्ट्र दुःखमा हुँदा हामी पनि सँगै छौँ भन्ने सन्देश दिन सहयोग  गरेका हौँ ।”
रसुवाको बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मकवानपुरका विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट सहयोग गर्नेक्रम जारी छ ।
–––
Share Now