Prakash Adhikari August 30, 2026

काठमाडौँ, १४ भदौः भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७ सय ३४ पुगेको छ । प्रहरी प्रधान कार्यालयले आज बिहान ८ः०० बजेसम्मको उक्त विवरण सार्वजनिक गर्दैै हालसम्म २ हजार ६ सय९९ जनाको उद्धार गरिएको जनाएको छ ।

विभिन्न जिल्लाबाट ७ सय ३४ जनाको शव फेला परेको जनाउँदै उक्त कार्यालयले रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३६, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २ सय ५९, नवलपरासी पूर्वमा १ सय ८५ र नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेका बताएको छ ।

सुरक्षाकर्मीले रसुवाका ६ सय ७६, नुवाकोटका २ हजार २० र धादिङका तीन जनालाई उद्धार गरेका छन् भने काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराएर १ सय ६० जना घर फर्केका छन् ।

यसैबीच, बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ८४ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

यसैबीच, उक्त कार्यालयले नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन भएका जनाएको छ ।
–––

Share Now