काठमाडौं, १४ भदौ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज (आइतबार) साँझ ५ः०० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।
पृथ्वी राजमार्ग धादिङको कृष्णभीरमा एउटा भाग भासिएपछि काठमाडौंबाट बाहिरिने सवारीसाधनहरूलाई प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको हो।
त्रिशूली नदीमा गएको बाढीले सडकको तल्लो भाग कटानमा परेपछि आज कृष्णभीरमा झन्डै २० मिटर सडकको आधाभन्दा बढी भाग भासिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाण्डूबाट बाहिरिने सवारीसाधनलाई तत्कालका लागि ठूला सवारीसाधनहरू नौबिसे–पालुङ–भैँसे हुँदै गन्तव्यतर्फ जाने र साना सवारीसाधन तथा माइक्रोबसले फर्पिङको बाटो प्रयोग गर्न सुझाव दिनुभएको छ ।
कान्ति लोकपथमा पहिरो गएर सडक अवरुद्ध भएकाले उक्त सडक पनि तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रवक्ता सुवेदीले बताउनुभएको छ।जसमा कान्तिलोकपथ सडक खण्ड अन्तर्गत बागमती गाउँपालिका वडा नं. ०३ भट्टेडाँडा पाण्डुरमा आज दिउँसो १४ः४० बजे पहिरो खसेका कारण उक्त सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ।
सडक विभागका महानिर्देशक डा विजय जैसीका अनुसार कृष्णभीरमा भासिएको सडकको अवस्थाबारे अध्ययन गर्न काठमाण्डूबाट विज्ञहरूको टोली पठाइएको छ।
कुनकुन राजमार्ग अवरुद्ध
मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका वडा नं. ९ राजदुवाली (झापा देखि ताप्लेजुङ सडक) मा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ। उक्त स्थानमा अर्को वैकल्पिक बाटोको व्यवस्था गरिएको छ।
विपि राजमार्गमा सम्भावित बाढीका कारण राती १६ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ०४ः०० बजेदेखि साँझ १६ः०० बजेसम्म परिस्थिति विचार गरी सवारी साधन चलाउन दिइनेछ।
कान्तिलोकपथ अन्तर्गत हेटौंडा–ठिंगन–बागमती–ललितपुर खण्डमा सम्भावित बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा (१७ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म) सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
त्रिशुली मैलुङ स्याफ्रुबेशी सडक खण्डको उत्तरगया गा.पा. वडा नं. ५ खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ। यो अवरोध लामो समयसम्म रहने जनाइएको छ। यस्तै, अन्य मुख्य राजमार्गका सबै क्षेत्रहरूमा पनि बाढीका कारण पूर्ण अवरोध रहेको छ।
टोखा छहरे सडक खण्डको शिवपुरी गा.पा. घट्टेखोलामा सम्भावित बाढी र पहिरोका कारण राति २२ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। साथै, पसाङ ल्हामु सडक खण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।
अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गा.पा. २ कोदारीमा आज बिहान ०७ः०० बजे पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
पृथ्वीलोकमार्ग अन्तर्गत बेनिघाट रोराङ गा.पा. ०७ कृष्ण भिरमा बिहान ०८ः०० बजे र गजुरी गा.पा. ०२ परेवा भिरमा दिउँसो १२ः०० बजे पहिरो खस्दा सडक पूर्ण रूपमा अवरोध भएको छ। बेनी जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गा.पा. ०२ बैँसरीमा आज बिहान ०५ः५५ बजे पहिरो खसेका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
मुगु नाग्म देखि मुगु गमगढी आउने सडक खण्ड अन्तर्गत छाँयानाथ रारा न.पा. वडा नं. ०७ झ्यारीखोला र टोक्लास्थित सडकमा आज दिउँसो १४ः३० बजे पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ।
नेपाल प्रहरीले अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको जनाएको छ। मौसम प्रतिकूल रहेकाले अत्यन्त आवश्यक अवस्थामा बाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि नजिकको प्रहरी कार्यालय वा कन्ट्रोल रूममा सम्पर्क गरी सडकको अवस्था बुझ्न सर्वसाधारणमा अनुरोध गरिएको छ।








