Prakash Adhikari August 31, 2026

काठमाडौं, १५ भाद्र । रसुवा बाढीका कारण त्रिशूली ३ ‘ए’को सुरुङमा फसेका कर्मचारी र मजदूरको उद्धारको प्रयास जारी छ । आइतबार मध्यरातमा सुरुङमा क्राउनब्लास्ट गरिएको छ ।

गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण यो सुरुङमा फसेका कर्मचारी तथा मजदुरहरूको उद्धारका लागि सुरुङ खोल्ने काम भइरहेको हो ।

सांसद श्रीराम न्यौपानेले राति करिब ३ बजे सुरूङमा क्राउन ब्लास्ट गरेको बताउनुभएको छ । सुरुङको क्राउन पुरै पानीले भरिएको र भित्र पस्न असम्भव भएको समेत उहाँले सामाजिक सञ्जाल फेसबूकमा पोष्ट गर्नुभएको छ।

इन्जिनियर समेत रहेका सांसद न्यौपानेले पहिलेदेखि नै निरन्तर जारी रहेको सुरुङको मुख खोल्ने काम अझै जारी रहेको बताउनुभएको छ ।

कर्मचारी र मजदुरहरूको उद्धारका लागि यो सुरुड.ड्रिल गरेर पहिलो चरणमा अक्सिन पठाइएको थियो ।

सुरुङ स्थालमा पाँच वटा प्वाल पारेर ‘भर्टिकल होल’मार्फत सुरुङभित्र अक्सिजन पठाउन सुरु गरिएको प्राधिकरणले जनाएको छ।

त्रिशूली–३ ‘ए’को सुरुङभित्र ४२ जना सम्पर्कविहीन रहेको जनाइएको छ ।

Share Now