- पवनराज पौडेल
बीबीसी न्यूज नेपाली
काठमाडौं, १६ भाद्र । भोटेकोशी(त्रिशूली बाढीको सातौँ दिन आइपुग्दा उद्धारकार्यलाई उक्त नदीका दायाँबायाँ रहेका जलविद्युत् आयोजनाका सुरुङहरूमा केन्द्रित गरिएको आकस्मिक सेवासम्बन्धी निकायका अधिकारीहरूले बताएका छन्।
गत बुधवार आएको बाढीसँगै ११ वटा जलविद्युत् आयोजनाका झन्डै ९०० कर्मचारी सम्पर्कविहीन बनेका विवरणहरू आएका छन्। तीमध्ये कतिपय सुरुङभित्र फसेका हुन सक्ने ठानिएको छ।
“हाम्रो अधिकांश प्रयत्न अहिले त्यसैमा केन्द्रित छ। उक्त अभियानको नेतृत्व नेपाली सेनाले गरिराखेको छ”, गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (एनईओसी)का प्रमुख फणीन्द्रप्रसाद पौडेलले बीबीसीसँग भन्नुभयो।
‘एनईओसी’ गृह मन्त्रालयअन्तर्गत विपद् व्यवस्थापनसम्बन्धी काम गर्ने प्रमुख निकाय हो।
“पहिलो प्राथमिकता भनेको जीवित भेटिने सम्भावना भएकाहरूलाई खोज्ने नै हो। सँगसँगै उद्धार गरेर विभिन्न क्याम्पमा राखिएका मानिसहरूमा देखिएका स्वास्थ्य समस्याबारे पनि जानकारीहरू आइरहेका छन्। त्यस्तै, शव व्यवस्थापन र राहतलगायतका कार्यमा पनि केन्द्रित छौँ।”
उहाँका अनुसार यी कार्यहरूका निम्ति सुरक्षा निकायका २१ हजार जनशक्ति परिचालन गरिएका छन्।
आलोचना
सुरुङहरूमा उद्धारकार्यले अपेक्षित गति लिन नसकेको भन्दै सम्पर्कविहीन व्यक्तिका कतिपय आफन्तजनले असन्तुष्टि जनाउन थालेका छन्।
“मेरो बुवाको स्थिति के छ थाहा छैन तर आशा मारेको छैन”, अपर त्रिशूली वन आयोजनाको सुरुङमा काम गर्दै आएका आफ्ना बुवाको खोजीमा धुन्चे पुगेका बाग्लुङको तमानखोलाका राजन गोतामेले बीबीसीसँग भन्नुभयो।
उहाँका बुवा बुधवारदेखि सम्पर्कविहीन हुनुहुन्छ।
“उहाँ सीफा (सुरुङ खन्न प्रयोग हुने मशीन) अपरेटर हुनुहुन्थ्यो। बाँचेर बाहिर निस्किएका उहाँका साथीहरूले उहाँ भित्रै रहनुभएको र जीवित भेटिने सम्भावना रहेको बताइरहेका छन्।”
नेपाल इन्जिनियर्स असोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले टनलहरूमा फसेकाको उद्धारमा सरकारले पर्याप्त तीव्रता देखाउन नसकेको टिप्पणी गर्नुभयो।
“जुन स्तरले काम हुनुपर्थ्यो, त्यो कत्ति पनि देखिएन। हाम्रा कतिपय साथीहरू त्यहाँ फसिरहेका ठानेका छौँ। उद्धारको गति देख्दा हामी चिन्तित भएका छौँ।”
“बाढीको स्तर देखेदेखि नै हामीले हाम्रो विशेषज्ञता उपलब्ध गराउनबारे सरकारका विभिन्न मन्त्रीहरूलाई भनेका भन्यै छौँ। त्यसतर्फको कोसिस असाध्यै अपर्याप्त देखिएको छ”, उहाँले भन्नुभयो ।
यस्ता किसिमका उद्धार कार्यका जानकार इन्जिनियर र निजी क्षेत्रको सहयोग लिन सरकारले ढिलाइ गरेको बरालको भनाइ छ।
“हाइड्रोपावर निर्माण कम्पनीहरूलाई पनि बल्ल सोमवारबाट प्रवेश दिइएको छ। निजी क्षेत्रहरूले स्रोतसाधनमा धेरै सघाउन सक्थे”, उहाँले भन्नुभयो, “कतिपय साइटहरूमा अझै पनि एउटा एक्स्कभेटरले खोस्रिरहेको छ।”
सुरक्षा निकायको भनाइ
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले त्यहाँ फसेका हुन सक्ने व्यक्तिहरूको सकुशल उद्धारका लागि आफूहरूको प्रयास निरन्तर जारी रहेको बताउनुभयो।
“जीवन भएको सङ्केत अहिलेसम्म हामीलाई प्राप्त भएको छैन। त्यहाँ कति जना र कस्तो अवस्थामा छन् भन्नेबारे हामीसँग यकिन सूचना छैन। हाम्रो प्रयास निरन्तर छ।”
“रसुवागढी, लाङटाङ, चिलिमे, अपर त्रिशूली वन , त्रिशूली थ्री ए र थ्री बीमा फौज परिचालन भएर काम भइरहेको छ”, उहाँले भन्नुभयो, “तीमध्ये चिलिमे, लाङटाङ र अपर त्रिशूली वनमा विदेशी विज्ञसहितको संयुक्त टोली खटिएको छ।”
ती ठाउँमा भारतीय र चिनिया विशेषज्ञ खटिएका हुन्। कोरियन समूहले पनि रेकी गरेको तर खटिइनसकेको प्रवक्ता बस्नेतले बताउनुभयो। “नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित परियोजनाका विशेषज्ञहरूलाई पनि सँगै राखेका छौँ।”
खास गरी रसुवागढी, चिलिमे, त्रिशूली थ्री ए र अपर त्रिशूली १ का सुरुङमा धेरै मानिस फसेका हुन सक्ने त्यससम्बन्धी कतिपय जानकारले आशङ्का गरेका छन्।
सबैभन्दा धेरै मानिस त्रिशूली नदीको सबैभन्दा ठूलो र निर्माणाधीन विदेशी लगानीको आयोजना अपर त्रिशूली १ मा फसेका छन् । सो आयोजनाको सुरुड.मा मात्र ३ सयभन्दाबढी मानिस फसेको अनुमान छ ।
“सञ्चालनमा आइसकेका रसुवागढी, चिलिमे र त्रिशूली थ्री ए आयोजना मध्ये त्रिशूली थ्री एमा मर्मतसम्भावको काम भइरहेको बताइएको छ”, नेपाल विद्युत् प्राधिकरणका भूतपूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भन्नुभयो।
“त्रिशुली थ्री एको मर्मतसम्भारमा केन्द्रित २५ जना त यकिन भएकाहरू नै छन् र त्यहाँ ४०-४५ जनासम्म हुन सक्ने ठानिएको छ।”
त्यसबाहेक लाङटाङ पावर हाउसमा पनि कामदारहरू भित्र थुनिएका विवरणहरू आएका छन्।
“आज सातौँ दिन भइसक्यो। समय बितेको बित्यै छ”, शाक्यले चिन्ता प्रकट गर्नुभयो।
इन्जिनियर्स असोसिएसनका अध्यक्ष बरालले अपर त्रिशूली वनमै पनि थुप्रै मानिसहरू अझै फसिरहेका हुन सक्ने बताउनुभयो। “त्यहाँबाट निस्केर आएकाहरूले त्यसै भनिरहेका छन्।”
आशा
बीबीसीले कुरा गरेका विद्युत् आयोजना तथा सुरुङसम्बन्धी विज्ञहरू दुइटा कुरामा एकमत पाइए, पहिलो- ती सुरुङहरूमा फसेका मानिसहरू जीवितै भेटिन सक्ने सम्भावना अझै उच्च छ र दोस्रो- समय असाध्यै घर्किसकेको छ।
उनीहरूले त्यस्तो आशा गर्न सकिनेबारे केही आधारहरू दिए।
अहिले चासोको केन्द्रमा रहेको त्रिशूली ुथ्री एुको सुरुङबारे जानकार इन्जिनियर ज्ञानेन्द्रलाल श्रेष्ठका अनुसार सबैभन्दा पहिले त्यसको बनावटले नै आशा गर्ने ठाउँ दिन्छ।
“त्यसको पावर हाउसमा तीनवटा टनल छन्, पहिलो- टर्बाइनले पानी बाहिर फाल्ने, दोस्रो -कामदारहरू ओहोरदोहोर गर्ने र तेस्रो ( बिजुलीको केबल बाहिर निकाल्ने सानो टनल। अहिले मुख भेटिएको वा खोल्न खोजेको चाहिँ तेस्रो हो।”
उहाँले अगाडि थप्नुभयो, “पावर हाउसको भुइँतलामा टर्बाइन, दोस्रोमा जेनरेटर र त्योभन्दा माथि अपरेशनका निम्ति कन्ट्रोल रूम हुन्छ। माथि ‘स्पेस’ खाली नै हुन्छ। हामीले घर बनाउँदा जगबाट सुरु गरेजस्तो टनलको कामचाहिँ छानाबाट सुरु हुन्छ। त्यस क्रममा एउटा भेन्टिलेशन बनाइएको हुन्छ र त्यो ‘सेफ जोन’ हो र साथीहरू त्यो ठाउँमा गएर बसेको हुनुपर्छ।”
“त्यहाँ मानिसहरू जीवितै भेटिन सक्ने सम्भावना म अझै देख्छु।”
इन्जिनियर्स असोसिएसनका बराल समय बित्दै जाँदा आफूहरूको छटपटी पनि बढ्दै गएको बताउँछन्। “त्यहाँ पानी नै छिर्दा पनि कतै न कतै खाली स्थान बन्ने सम्भावना हुन्छ र ढुङ्गाहरूबीचको अन्तरकुन्तरबाट अक्सिजन पनि प्राप्त गरिरहेका हुन सक्छन्।”
अप्ठेरो
कतिपय स्थानमा सुरुङको मुख खोल्ने प्रयास भइरहेको र भित्र छिर्न सकिएका स्थानमा पनि ठूलो मात्रामा हिलो, लेदो र ढुङ्गा भेटिएका सेनाका प्रवक्ता बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार सुरुङभित्र प्रवेश गर्न सकिएको स्थानको तुलनामा सुरुङको मुख खोल्नुपर्ने स्थानमा बढी जनशक्ति परिचालित भएका छन्।
“त्रिशूली थ्री ए र थ्री बीमा भित्र छिर्नका निम्ति (बाटो बनाउन) बाहिरपट्टि धेरै काम भइरहेकाले धेरै फौज खटिएका हुन्। टनेलमा छिर्ने मात्रै विषय भएकाले चिलिमेजस्तोमा चाहिँ थोरै छन्।” त्रिशूली थ्री ए मा सेनाका ९२ जना र थ्री बीमा प्राधिकरण र परियोजनाका समेत गरी ४० जना खटिएका उहाँले बताउनुभयो ।
“अपर त्रिशूली वनमा हिजै २५० मिटर जति छिरेका थियौँ। लाङटाङमा ६५ मिटरजति गएका छौँ र रसुवागढीमा चाहिँ २५० मिटरजति भित्र छिरेका हौँ”, उहाँले भन्नुभयो ।
कतिपय टनेलमा इनलेटतर्फबाट छिर्नै नसकिने र उद्धारकर्मीहरू आउटलेटतर्फबाट छिरेका प्रवक्ता बस्नेतले बताउनुभयो, “अवरोधहरू हटाएर भित्रसम्म पुग्ने हाम्रो प्रयास हो र त्यो जारी छ।”








