Prakash Adhikari September 1, 2026

काठमाडौं, १६ भाद्र । बाढी गएको सातौं दिन सरकारले सुरुङमा फसेका कर्मचारी र कामदारको खोज तथा उद्धारमा आयोजना प्रवर्द्धकलाई प्राविधिक टोलीसहित परिचालन गर्न अनुमति दिएको छ ।

सुरुड.उद्धारमा अपेक्षित सफलता हात नलागेको र समय घर्किदै जान थालेकोले बाढी आएको एक हप्तामा सरकारले प्रबर्धक र निजी क्षेत्रको सहयोग खोजेको हो ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार दुईवटा जलविद्युत परियोजनाका सुरुङको भित्रसम्म पसेर उध्दार प्रयास गर्दा केही फेला पार्न नसकेकाले सम्बन्धित आयोजना कम्पनीहरुलाई पनि प्रयास गर्न आग्रह गरिएको छ । ‘हाम्रो उध्दार टोली ती आयोजना स्थलबाट हिजो फर्कियो, आजको सबै अपडेट मैले लिन पाएको छैन,’ सैनिक प्रवक्ता बस्नेतले भन्नुभएको छ, ‘हामीले छाड्यौं, तपाईहरुमात्रै गर्नुहोस् भनेको चाहिँ होइन ।’

भदौ १० को बाढीले रसुवा र नुवाकोटका १२ जलविद्युत् आयोजनामा कार्यरत ८ सय ९४ कर्मचारी तथा कामदारहरु सम्पर्कविहीन रहेका छन् ।

अनुमति पाएपछि आयोजना प्रवर्द्धक कम्पनीहरू प्राविधिक टोली र आवश्यक उपकरणसहित फसेका तथा सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा परिचालन हुने भएका छन् ।

लाङटाङ जलविद्युत् आयोजनाले पनि बाढी र पहिरोले पुरिएको आयोजनास्थलमा आफ्नै प्राविधिक टोली तथा आवश्यक उपकरण लिएर जाने तयारी थालेको जानकारी दिएको छ । सरकारले आयोजनाको प्राविधिक टोलीलाई उद्धार तथा खोजी कार्यमा संलग्न गराउने गरी बाटो खुला गरेको आयोजना प्रवर्द्धक विजयमान भट्टराईले जानकारी दिनुभएको छ।

‘नेपाली सेनाले सो आयोजनाको सुरुङमा १०० मिटरसम्म गएर हेर्‍यो, त्यसपछि हामी जान सक्दैनौं, तपाईंहरूको प्राविधिक मान्छे लगाएर काम अघि बढाउनुस् भनेर उहाँहरूले भन्नुभएको छ,’ भट्टराईले भन्नुभयो ।

उहाँले अहिले सरकारी संयन्त्र र आयोजनाको टोलीबीच समन्वय गरेर काम अघि बढाउने अवस्था बनेको बताउनुभयो ।

‘हाम्रो प्राविधिक टिम त चाहिने नै थियो, पहिला पनि चाहिने थियो । त्यो भइराखेको छ । अब हाम्रो तर्फबाट पनि समन्वय हुनुपर्छ,’ भट्टराईले भन्नुभयो, ‘उहाँहरूको पनि त्यहाँ हेलिकप्टर जाँदैन, गाडीहरू जाँदैनन् । लिफ्टिङ लगायतका सामानको उपलब्धता उहाँहरूले गर्नुपर्छ । त्यसैले हाम्रो पनि समन्वयमा काम अघि बढाउने भन्नेमा छौं ।’

आयोजनाको टोली अहिले काठमाडौंमा आवश्यक उपकरण तथा सामग्री जुटाउने काममा लागेको छ । आवश्यक प्राविधिक सामग्री र उपकरण खरिद तथा व्यवस्थापन गरेपछि टोली आयोजनास्थलतर्फ जाने तयारीमा रहेको उहाँले बताउनुभयो।

माथिल्लो त्रिशूली–१ निर्माण गरिरहेको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी)ले पनि आवश्यक प्राविधिक जनशक्ति र उपकरण व्यवस्थापन थालेको छ । सुरुड.मा फसेका र सम्पर्कबिहिन भएका कर्मचारी र कामदारका आफन्तहरुको दबाब पछि कम्पनीले एक उद्धार दलको साथमा आफन्तहरुको दुई डफ्फा हिजै आयोजनास्थलमा पठाएको थियो ।

बाढीपछि आयोजनास्थलमा परिचालन भएका जनशक्ति सम्पर्कविहीन बनेपछि कम्पनीले सुरुदेखि नै आफ्ना प्राविधिक टोली परिचालन गर्न खोजेको थियो ।उसैको अग्रसरतामा चीन,कोरिया र भारतबाट उद्धार विशेषज्ञ ल्याउने कुटनीतिक प्रयास सफल भएको थियो । तर विदेशबाट ल्याएको विशेषज्ञ जनशक्ति पनि सरकारले एकद्धार नीति अन्तरगत अन्यत्र उद्धारमा खटाएपछि माथिल्लो त्रिशूली १ को सुरुड.मा फसेको मानिसहरुको उद्धारमा बिलम्ब हुन गएको थियो ।

सो सुरुड.मा धेरै मानिस फसेको जानकारी पाएपछि नेपाल पर्वतारोहण संघको स्वयंसेवी उद्धार टोली हाकुतर्फको ३ नम्बर टनेलबाट उद्धारको लागि प्रवेश गरेको थियो । तर जनशक्ति थोरै भएको र पर्याप्त उद्धार उपकरण नहुनुको साथै टनलमा माटोको लेदो भरिएको भन्दै उनीहरुले उद्धारको लागि थप विशेषज्ञ मगाउन र विशेष उपकरण ल्याउने सुझाव दिएका थिए ।

सबैभन्दा बढी मानिस कोरियाली लगानीमा निर्माण भईरहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ माको सुरुड.मा फसेका छन् । कूल ५७३ जना सम्पर्कबिहिन रहेको माथिल्लो त्रिशूली १ मा ३०० भन्दा बढी मानिस सुरुड.मा फसेको अनुमान गरिएको छ ।

गतबर्षको बाढीमा क्षतिग्रस्त भएको रसुवागढी आयोजनामा मर्मतसंभार चलिरहदा बाढी आएकोले त्यहाँ कार्यरत ९३ जना सम्पर्कविहीन छन् । नेपाली सेनाको उद्धार टोली २ सय २५ मिटरसम्म पुग्दा पनि कोही नभेटिएपछि फिर्ता भएको थियो । त्यति बेला ड्युटीमा रहेका तीन जना कर्मचारी भने सम्पर्कबिहिन नै रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनाबाट ४१ जना सम्पर्कविहीन छन् ।

त्यस्तै नुवाकोटमा रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाका ४२ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन् । सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सोमबार पनि प्रयास जारी रहेपनि आयोजनाको भूमिगत विद्यूत् गृहभित्रबाट उद्धार टोलीले २४ घण्टा काम गरे पनि उद्धार गर्न सफलता मिलेन ।

सोमबार सुरुङको टनेल पोर्टल सफा गर्ने, पानी हटाउने तथा भित्र प्रवेश गर्न सकिने बाटो बनाउने काम भएको थियो । सुरुङभित्र पानी भरिएकाले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सोमबार नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोली सुरुङभित्र प्रवेश गरेर खोजीमा गएको थियो ।

Share Now