काठमाडौं, १८ भाद्र। एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपको तेस्रो संस्करण अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज आयोजक मलेसियाको सामना गर्दैछ। मलेसियाको बाङ्गीस्थित वाईएसडी(यूकेएम क्रिकेट ओभलमा हुने यो ५० ओभरको खेल बिहान ७स्१५ बजेदेखि सुरु हुनेछ।
आइतबारदेखि मलेसियामा सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ। पहिलो जितसँगै उच्च मनोबलका साथ मैदान उत्रिन लागेको नेपाली टोली प्रतियोगिताको उपाधि जितेर सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यमा छ।
मलेसियाविरुद्धको पछिल्ला खेलको नतिजा नेपालको पक्षमा देखिन्छ। ५० ओभरको क्रिकेटमा मलेसियाविरुद्ध भएका पछिल्ला पाँच खेलमा नेपाल अपराजित छ। प्रतियोगिताअघि खेलिएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ आयोजक मलेसियासहित बहराइन, हङकङ र साउदी अरेबिया छन्। यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स ९युएई०, कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।
समूह चरणका आगामी खेलहरूमा नेपालले भदौ २१ गते साउदी अरेबिया र भदौ २३ गते हङकङको सामना गर्नेछ। ५० ओभरको ढाँचामा साउदीसँग भएका दुई खेलमध्ये नेपालले एकमा जित दर्ता गरेको छ भने एक खेल रद्द भएको थियो। हङकङविरुद्ध खेलिएका चार खेलमा भने नेपालले एक जित र दुई हारको नतिजा बेहोरेको छ।
प्रतियोगिताको नियमअनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने फाइनल विजेता टोलीले सन् २०२७ को एसिया कपका लागि सिधै छनोट हुने अवसर पाउनेछ।








