- प्रदीप बस्याल
बीबीसी न्यूज नेपाली
काठमाडौं, २१ भाद्र । भोटेकोशी त्रिशूली नदीमा आएको बाढीको १२औँ दिन आइतवार पनि मानिसहरू फसेका हुनसक्ने ठानिएका जलविद्युत् सुरुङभित्र खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाका प्रवक्ताले बताउनुभएको छ।
“आइतवार बिहानै हाम्रो बीस जनाको टोली फेरि माथिल्लो त्रिशुलीे थ्री ‘ए’ मा छिरेको छ”, सेनाका प्रवक्ता राजाराम बस्नेतले भन्नुभयो, “रसुवागढी जलविद्युत् आयोजनाको छैटौँ तलामा मानिसहरू भएको हुन सक्ने बताइएको थियो। त्यहाँ हामीले पूरै हेर्यौँ तर केही भेटिएन। पाँचौँ तला पूरै माटो र लेदोले भरिएको छ। त्यहाँ हामी हेर्दै छौँ।”
सशस्त्र प्रहरी बलका एकजना प्रवक्ताले भने हिलोमा पुरिएका घरहरूमा आज केन्द्रित रहेको बताउनुभयो।
शनिवार बेत्रावती बजारको एउटा घरमा चण्डिका श्रेष्ठ जीवितै फेला परेर उद्धार गरिएपछि आफूहरूको ‘आशा अझ जागेको’ सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताउनुभयो।
“तर अझै कठिन चुनौतीहरू छन्। चार तले घरहरू त हिलोमा पूरै पुरिएका छन्। एक-दुई तले घरको हालत के होला भनेर हामी सहजै अनुमान गर्न सक्छौँ”, सहप्रवक्ता थापा भन्नुहुन्छ।
“त्यही पनि हामी उपलब्ध प्रविधि र उद्धारकर्ता साथीहरूको निरन्तरको जोडबलका आधारमा जीवित फेला पर्न सक्ने सम्भावना भएका घरहरूमा हर सम्भव उपायबाट अघि बढेका छौँ।”
नेपाल प्रहरीका प्रवक्ताले बाढीमा परेकामध्ये आइतवार बिहान ११ बजेसम्म १ हजार ३ सय ४१ जनाको शव फेला परे तापनि ९८ जनाको मात्र शव हस्तान्तरण हुन सकेको जानकारी दिनुभएको छ ।
“बेपत्ताहरूको सङ्ख्या हामीले नदोहोरिनेगरी अद्यावधिक गरिरहेका छौँ। शव पहिचानमा भइरहेको जटिलताबीच देशभरबाट डीएनएका लागि नमूना सङ्कलन तीव्र पारिएको छ”, प्रहरी प्रवक्ता अबि नारायण काफ्लेले भन्नुभयो।
सुरुङमा निरन्तर खोज, पुरिएका घरमा निगरानी
भदौ १९ र २० गते लगातार दुई दिन सुरुङ स्थलबाट तीन जनाको जीवितै उद्धार भएपछि त्यहाँ खोज कार्य जारी राख्न सरकारलाई दबाब परेको छ।
“शनिवार मात्रै पनि चिनियाँ नागरिकलाई सकुशल उद्धार र दुई वटा शव सङ्कलन गर्न सकियो। तर अझै हामीलाई भित्र के(कति हुनुहुन्छ भन्ने थाहा छैन। त्यसैले निरन्तर काम जारी राखेका छौँ”, सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भन्नुभयो।
“यसमा हामी कहिलेसम्म लाग्ने भन्ने कुनै समय सीमा तोकेका छैनौँ। नेपाल विद्युत् प्राधिकरण र आयोजनाका साथीहरू प्रभावित आयोजनास्थलमा हामीसँगै हुनुहुन्छ। सरकारको निर्देशनमा हामी अन्य सुरक्षा निकाय र सम्बद्ध निकायसँग मिलेर काम गरिरहेका छौँ।”
सुरुङ स्थलमा रहेका नेपाल विद्युत् प्राधिकरणका सहप्रबन्धक सुरेश राउतका अनुसार माथिल्लो त्रिशूली थ्रीए र थ्रीबीका हकमा जीवित व्यक्ति फेला पर्ने आशामा उद्धार टोली दिनमा एक वा दुई पटक ती कामदारहरू फसेको अनुमान गरिएको पावर हाउसभित्र प्रवेश गरिरहेको बताउनुभयो।
“हाम्रो उद्धार कार्य हाल जारी छ र सरकारको अर्को निर्णय नआएसम्म यो रोकिने छैन”, राउतले भन्नुभयो।
सशस्त्र प्रहरी बलले शनिवार नुवाकोटको बेत्रावती बजारस्थित एउटा घरमा एक ६३ वर्षीय महिला जीवितै फेला परेपछि त्यस्ता थप सम्भावनामा आफूहरू केन्द्रित रहेको जनाएको छ ।
सशस्त्रका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक थापाका अनुसार पुरिएका घरहरूमा जीवित खोज्नका लागि ड्रोन र स्थल जनशक्ति एकसाथ केन्द्रित रहेको छ।
“आज हामी बेत्रावती र त्रिशूलीमा धेरैतिर खोज्दै छौँ”, थापाले भन्नुभयो,”खोला किनाराका त्यस्ता बस्तीमा थप जनशक्ति खटाएका छौँ।”
सम्पर्कविहीनको सङ्ख्या घट्यो
नेपाल प्रहरीका प्रवक्ता नायब महानिरीक्षक अबिनारायण काफ्लेले सम्पर्कविहीनहरू हालसम्मको सङ्ख्या अद्यावधिक हुने क्रममा घटेर ४ हजार ४४ पुगेको जानकारी दिनुभयो।
यसअघिको प्रहरीकै विवरणमा सम्पर्कविहीनहरूको त्यस्तो सङ्ख्या ४ हजार ८ सय ८६ उल्लेख थियो।
“घटना लगत्तै हराएकाका प्रियजनहरूले धेरैतिरबाट उजुरी दिँदा दोहोरिएको पाइराखिएको छ, हामीकहाँ केन्द्रीय प्रणाली नहुँदा त्यस्तो समस्या भयो जुन हामी मिलाइरहेका छौँ”, प्रवक्ता काफ्लेले भन्नुभयो।
आइतवार बिहान ११ बजे सार्वजनिक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणमा सम्पर्कविहीनहरूको सङ्ख्या अझै झण्डै ५ हजार रहेको उल्लेख छ।
प्रहरीले ठूलो सङ्ख्यामा आइरहेका बेपत्ताका उजुरी शव व्यवस्थापनमा निकै जटिलताको सामना गरिरहेको बताउँदै प्रवक्ता काफ्लेले त्यसलाई डीएनएका लागि नमूना सङ्कलन र जमिनमुनि शव व्यवस्थापन कार्यमार्फत काम गरिरहेको बताउँछन्।
भदौ २१ गते बिहान ११ बजे अद्यावधिक गरिएको तथ्याङ्कअनुसार फेला परेका कुल १ हजार ३ सय ३९ शवहरूमध्ये करिब पाँच सयको आंशिक अङ्ग मात्र रहेको प्रहरीको विवरण छ। अन्य शवहरू समेत पहिचानमा कठिन भइरहेको जनाएको छ।
“त्यस्तोमा जमिनमुनि सुरक्षित रूपमा शव व्यवस्थापन भइरहेको छ। हरेक शवको पछि आवश्यक पर्दा प्रस्टसँग थाहा हुने गरी मार्किङ गरिएको छ”, प्रहरी प्रवक्ता काफ्लेले भन्नुभयो,”जनस्वास्थ्यका चिन्तामाझ अन्तर्राष्ट्रिय अभ्यास र मापदण्ड अनुसार नै त्यसरी जमिनमुनि सुरक्षित रूपमा शव राखेका हौँ।”
हालसम्म १ हजार ३७ वटा शव त्यसरी जमिनमुनि राखिएको उहाँले बताउनुभयो ।
शवको पहिचान र हस्तान्तरण गर्न कठिन भइरहेको प्रहरीले बताइरहँदा हालसम्म मृतक र उनीहरूका आफन्तको गरी २ हजार ३ सय ६७ वटा डीएनए नमूना सङ्कलन गरिएको बताइएको छ।








