काठमाडौं, २२ भाद्र । लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार र समुदायको राहत तथा पुनरलाभका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड २४ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
सो बाढीका कारण रसुवा र नुवाकोटमा व्यापक जनधनको क्षति भएको छ भने धादिङ, गोर्खा र चितवन जिल्लामा पूर्वाधारहरुको क्षति पुगेको छ ।
तत्कालको उद्धार र राहतसंगै प्रभावित क्षेत्रमा पुनरुत्थान र पुनर्निर्माणको चरण सुरु भइरहेकाले प्राकृतिक विपद्को दीर्घकालीन प्रभावसँग जुधिरहेका समुदायलाई निरन्तर सहयोगको आवश्यकता रहेको बैंकले जनाएको छ ।
यस सहयोगमार्फत बैंकले बाढी प्रभावित समुदाय र नयाँ शिराबाट जीवन व्यवस्थित गर्न प्रयासरत परिवारहरूका लागि भइरहेका सामूहिक राहत तथा पुनरुत्थान प्रयासमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
लक्ष्मी सनराइज बैंकले बाढीका कारण आफ्ना आफन्त, घर र जीविकोपार्जन गुमाएकाहरूप्रति गहिरो सहानुभूति व्यक्त गरेको छ ।
साथै, विपद्को सामना गर्न अग्रपंक्तिमा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, उद्धार तथा राहत टोली, स्वयंसेवक र स्थानीय समुदायका प्रयासहरूको उच्च प्रशंसा गरेको छ ।
बैंकले संकटको घडीमा सधैं समुदायको साथमा उभिने र विपद्पछिको पुनरुत्थान तथा उत्थानशीलतालाई सुदृढ बनाउने कार्यमा सहयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।
नेपालमा दिगो आर्थिक वृद्धि र वातावरणीय संरक्षणको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको लक्ष्मी सनराइज बैंकले २ सय ५४ शाखा, ३ सय २६ एटिएम र डिजिटल प्रविधिको माध्यमबाट देशभरका ग्राहकलाई वित्तीय समावेशिता र पहुँच सुनिश्चित गर्दै उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।








