काठमाडौं, २२ भाद्र। नेपालको अब्बल मानिएको नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना साधारण र अबिमोच्य अग्राधिकारतर्फका सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ ।
बैंकले प्रमोटर र साधारण शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको सञ्चालक समितिको ७१२औं बैठकले साधारण सेयरतर्फ ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित बोनस सेयरको कुल रकम १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८ सय ३६ रुपैयाँ ४६ पैसा तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६ सय ४६ रुपैयाँ ७६ पैसा बराबरको रकम रहेको छ । उक्त रकममा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ ।
त्यसैगरी, बैठकले बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार ६ सय ५७ रुपैयाँ ५३ पैसा नगद लाभांश (आर्थिक वर्ष २०८२र८३ मा बाँडफाँडको मितिबाट समानुपातिक रूपमा २१३ दिनका लागि करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको अग्राधिकार सेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रहेको छ भने साधारण सेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख हजार ७ सय २९ रुपैयाँ २६ पैसा रहेको छ ।
आर्थिक वर्ष २०८२र८३ मा बैंकले हासिल गरेको सन्तोषजनक वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिको आधारमा सेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले उक्त लाभांश प्रस्ताव गरिएको हो ।
उक्त लाभांश वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन् ।








