Prakash Adhikari September 7, 2026

काठमाडौं, २२ भाद्र। एमभी दुगड ग्रुपले भोटेकोशी तथा त्रिशूली नदीको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

सहयोग रकममा ग्रुपसँगै अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीको स्वेच्छिक आर्थिक योगदानसमेत समावेश गरिएको छ।
ग्रुपले २०७८ सालदेखि सञ्चालन गरेको वृक्षरोपण अभियानअन्तर्गत हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी तथा अन्य क्षेत्रमा २५ हजारभन्दा बढी बिरुवा रोपिएको जनाएको छ।

एमभी दुगड ग्रुपले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

ग्रुप र यसको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीबाट स्वेच्छिक रूपमा संकलित आर्थिक सहयोगसमेत समावेश गरी उक्त रकम उपलब्ध गराइएको हो। ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड र सञ्चालक शुभम दुगडले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड ११ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो ।

भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र पहिरोबाट ठूलो धनजनको क्षति भएपछि प्रभावित नागरिकको तत्काल राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको ग्रुपले जनाएको छ।

बाढीपछि विस्थापित तथा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न संघसंस्थाले गरिरहेको प्रयासमा निजी क्षेत्रबाट समेत सहयोग आवश्यक रहेको उल्लेख गर्दै ग्रुपले विपद्को समयमा सरकारसँग सहकार्य गर्ने जनाएको छ।

ग्रुपले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दै बेपत्ताको सकुशल उद्धार र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।

यससँगै एमभी दुगड ग्रुपले जलवायु परिवर्तन र विश्व तापमान वृद्धिको जोखिम न्यूनीकरणसँग जोडेर आफूले सञ्चालन गर्दै आएको वृक्षरोपण अभियानलाई पनि निरन्तरता दिने जनाएको छ। ग्रुपका अनुसार २०७८ सालदेखि देशव्यापी रूपमा वृक्षरोपण कार्यक्रम सञ्चालन हुँदै आएको छ।

ग्रुपले हालसम्म वन क्षेत्रमा तीन लाखभन्दा बढी बिरुवा रोपिएको जनाएको छ। त्यसबाहेक ६ किलोमिटरभन्दा लामो राजमार्ग खण्ड तथा विभिन्न विद्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी कार्यालय परिसरमा फलफूलसहित २५ हजारभन्दा बढी उन्नत जातका बिरुवा रोपेर संरक्षण गरिएको ग्रुपको दाबी छ। आगामी दिनमा पनि उक्त कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तरता दिने ग्रुपले जनाएको छ।

Share Now