काठमाडौं, २२ भाद्र। हालै देशका विभिन्न क्षेत्रमा आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले युनिलिभर नेपाल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.५ करोड योगदान गरेको छ।
बाढीको पानी घट्दै गएसँगै प्रभावित क्षेत्रमा सुरक्षित तथा स्वस्थ वातावरण पुनःस्थापना गर्न आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले थप करिब २६ टन स्वास्थ्य तथा सरसफाइसम्बन्धी अत्यावश्यक सामग्री समेत उपलब्ध गराएको जनाएको छ। उक्त सामग्रीको मूल्य करिब रु. १ करोड रहेको कम्पनीले जनाएको छ।
बाढीपछि प्रदूषण तथा विभिन्न संक्रमणको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै कम्पनीले लाइफबोय, लक्स, सनसिल्क, क्लोजअप, भिम र रिन लगायतका व्यक्तिगत तथा घरायसी सरसफाइसम्बन्धी सामग्री उपलब्ध गराएको हो। यी सामग्रीले प्रभावित परिवारलाई व्यक्तिगत स्वच्छता कायम राख्न तथा वरपरको वातावरण सफा राख्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।
यस पहलका विषयमा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले विपद्को कठिन समयमा प्रभावित समुदायको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो ।
उहाँले नेपालले हरेक चुनौतीपूर्ण परिस्थितिमा धैर्यता र सहनशीलता प्रदर्शन गर्दै आएको उल्लेख गर्दै जारी राहत प्रयासमा सहयोग पुर्याउन तथा प्रभावित परिवारलाई पुनःस्थापनाको यात्रामा साथ दिन कम्पनी प्रतिबद्ध रहेको बताउनुभयो ।
युनिलिभर नेपालले स्वास्थ्य, सरसफाइ तथा सामाजिक कल्याणमा केन्द्रित विभिन्न पहलमार्फत समुदायलाई सहयोग गर्दै आएको जनाएको छ। पछिल्लो सहयोग पनि नेपालभर सकारात्मक प्रभाव सिर्जना गर्ने आफ्नो निरन्तर प्रतिबद्धताको एक हिस्सा भएको कम्पनीको भनाइ छ।








