Prakash Adhikari September 7, 2026

काठमाडौं, २२ भाद्र । नेपाल भलिबल लिग (एनभिएल)अन्तरगत आज भएका खेलमा कर्णाली शिवराज र अन्नपूर्ण स्पाइकर्स किंग्स् विजयी बनेका छन् ।

कर्णालीले आज सगरमाथा स्म्यासर्सलाई निकै प्रतिस्पर्धात्मक खेलमा ३-२ ले पराजित गरेको छ। यो जितसंगै कर्णाली अंक तालिकाको शीर्षस्थानमा उक्लियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा पहिलो सेट कर्णालीले २५-१६ ले जित्यो। एक सेट गुमाएको सगरमाथा दोस्रो सेट २५-२३ ले जित्दै खेललाई १-१ को बराबरीमा ल्याएको थियो।

यसपछि तेस्रो सेट २५-२३ ले जितेर कर्णालीले खेलमा २-१ को अग्रता बनायो। चौथो सेट २५-१९ ले जित्दै सगरमाथाले खेललाई २-२ को रोमाञ्चक मोडमा पुर्यायो।

यसपछि खेलको निर्णय पाँचौं सेटबाट भयो। जहाँ सगरमाथालाई कर्णालीले पानी भन्न पनि दिएन । कर्णालीले १५(९ ले चौथो सेट आफ्नो पक्षमा पार्दै ३(२ को जित हासिल गर्यो। यो जितमा कर्णालीले २ अंक जोड्यो।

३ खेलबाट ८ अंक सहित कर्णाली अंक तालिकाको शीर्षस्थानमा छ। तेस्रो खेलमा पहिलो हार भोगेको सगरमाथासँग ७ अंक छ।

अन्नपूर्ण स्पाइकर किङ्सको  दोस्रो जित

आजै भएको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले दोस्रो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्नपूर्णले आज मधेश वारियर्सलाई ३-१ ले हरायो ।

अन्नपूर्ण २५–१६, ३१–२९, २५–२२ र २५–२१ सेटमा विजयी भयो। अन्नपूर्णका उरनबायर ‘म्यान अफ द म्याच’ घोषित भए । उनी लगातार दोस्रो पटक ‘प्लेयर अफ द म्याच’ बनेका हुन् ।

हालसम्मका तीन खेलमा अन्नपूर्णको यो दोस्रो जित हो । अन्नपूर्णले यस अगाडि काठमाडौं रेडस्लाई ३-० को सोझो सेटमा हराएको थियो । पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसंग ३–१ ले पराजित भएको थियो ।

मधेश ३ खेलमा जितविहीन छ । मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्ससंग ३–१ र अर्को खेलमा काठमाडौंसंग ३-२ ले पछि पराजित भएको थियो।

एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन, नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित एनभिए लिगमा ६ टोली सहभागी छन् ।

सिंगल राउन्ड रोविन लिगपछि शीर्ष टोली फाइनलमा प्रवेश गर्ने छ भने दोस्रो र तेस्रो रहने टोलीहरुले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।

एनभिएलको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

कनेक्टेड वाइ एनसेल रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनरमा यति कार्पेट, इन्टरनेट पार्टनरमा वर्ल्ड लिंक, एजुकेसन पार्टनरमा डिएभी स्कुल, इन्सुरेन्स पार्टनरमा हिमालय लाइफ इन्सुरेन्स, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड, हेल्थ पार्टनरमा रझान्स आयल र डिजिटल पार्टनरमा एक्स–ऐज रहेका छन् ।

पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटक भएको हो । फाइनल खेल भदौ २७ गते हुने तालिका छ ।

Share Now