काठमाडौं,१२ कार्तिक । नेपाली कांग्रेसका सभापति एवम् प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
सोमबार बिहान ४ बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अवस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिसमा उपचारका लागि भर्ना हुनुभएका प्रधानमन्त्री ओलीलाई भेट्न कांग्रेस सभापति देउवा सोमबार साँझ अस्पताल पुग्नुभएको थियो ।
विरामी प्रधानमन्त्रीलाई भेटेर फर्केपछि पूर्व प्रधानमन्त्री देउवाले आफूले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेको पत्रकारहरुलाई बताउनुभयो ।
उनको छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित पाइएको छ ।
यसैबीच अस्पतालले जारी गरेको पछिल्लो विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति स्थिर रहेको बताइएको छ।

प्रा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित चिकित्सक टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ । “प्रधानमन्त्रीज्यूको स्वास्थ्य परीक्षणका पछिल्ला रिपोर्ट सुधारोन्मुख छन्, सुगरको लेभल पनि स्थिर छ”, प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे सोमबार साँझ सञ्चारकर्मीलाई जानकारी दिँदै प्रा डा सायमीले भन्नुभयो।


















