Prakash Adhikari October 29, 2018

 

जकार्ता(इण्डोनेशिया),१२ कार्तिक (बीबीसी) । एक सय ८८ जना सवार लायन एयरको एउटा यात्रुवाहक विमान जकार्ताबाट उडेको केही मिनेटपछि समुद्रमा खसेको इन्डोनेशियाका अधिकारीहरूले बताएका छन्।

नियमित उडान अन्तर्गत उडान नं. जेटी-६१० को सो विमान जकार्ताबाट पाङ्काल पिनाङतर्फ जान लागेको थियो।

उड्डयन अधिकारीहरूका अनुसार उडेको केही मिनेटपछि विमानसँग सम्पर्क विच्छेद भएको थियो।

विमानमा सवार यात्रुमध्ये कोही बाँच्न सफल भए वा नभएकोबारे थाहा हुन सकेको छैन।

राष्ट्रिय खोज तथा उद्धार निकायका एकजना प्रवक्ता युसुफ लतिफले समाचार संस्था एएफपीलाई भने,”विमान ३० देखि ४० मिटरको गहिराइमा खसेको हो। हामीले विमानका भग्नावशेष अझै खोजिरहेका छौँ।”

परिचयपत्र, चालक अनुमतिपत्र लगायत यात्रुका व्यक्तिगत सरसामान पानीमा भेटिएको खोज तथा उद्धार निकायका अधिकारीहरूले ट्विटरमा भनेका छन्।

के भएको हो?

उडान नं. जेटी-६१० स्थानीय समय अनुसार सोमवार बिहान ६ बजेर २० मिनेट जाँदा जकार्ताबाट उड्यो।

पाङ्काल पिनाङस्थित देपाती अमीर विमानस्थलमा एक घण्टा पछि त्यो पुग्नुपर्ने थियो। तर उडेको १३ मिनेटपछि सो विमानसँग सम्पर्क विच्छेद भयो।

विमान
खोज तथा उद्धार निकायका प्रमुखका अनुसार पाइलटले सुकार्नो-हाटा विमानस्थलमा फर्किन भनेका थिए।

इन्डोनेशियाको विपद्‌सम्बन्धी निकायका प्रमुख सुतोपो पुर्वो नुग्रोहोले समुद्रमा यात्रुका सामान र विमानका भग्नावशेष तैरिरहेका तस्वीर ट्विटरमा पोस्ट गरे।

राज्य नियन्त्रित एउटा तेल प्रशोधन केन्द्र नजिक पनि भग्नावशेषहरू तैरिरहेका देखिए।

विमानमा भएकाबारे के थाहा छ?

लायन एयरले एउटा विज्ञप्तिमा जनाए अनुसार पाइलट र को-पाइलट अनुभवी थिए, उनीहरूसँग ११ हजार घण्टा उडान गरेको अनुभव थियो।

चालक दलमा तीनजना प्रशिक्षार्थी थिए भने एकजना प्राविधिक थिए।

बीबीसीलाई प्राप्त जानकारी अनुसार विमानमा इन्डोनेशियाली अर्थ मन्त्रालयका कम्तीमा २० जना कर्मचारी थिए।

यात्रुमध्ये १७८ वयस्क, एक शिशु, दुई बालबालिका, दुई पाइलट तथा पाँच चालकदलका सहयोगी सदस्य रहेको बताइएको छ।

विमानबारे के थाहा छ?

बोइङ ७३७ म्याक्स ८ मोडलको उक्त विमान सन् २०१६ देखि मात्रै व्यापारिक प्रयोगमा आएको हो।

यसै वर्षको अगस्ट १५ देखि लायन एयरले त्यसलाई सञ्चालनमा ल्याएको थियो।

विमान
सानो दूरीको उडानका लागि प्रयोग गरिएको उक्त विमानमा बढीमा २१० जना अट्न सक्थे।

एउटा वक्तव्य जारी गर्दै बोइङले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै ‘अनुसन्धानमा प्राविधिक सहयोग गर्न तयार रहेको’ जनाएको छ।

लायन एयरको सुरक्षा रेकर्ड कस्तो छ?
टापु नै टापु भएको इन्डोनेशिया, ठूलो मात्रामा हवाई यातायातमा निर्भर गर्दछ। तर उसका कतिपय हवाई सेवा प्रदायक कम्पनीको कमजोर सुरक्षा रेकर्ड छ।

लायन एयर इन्डोनेशियाको सस्तो हवाई सेवा प्रदायक हो। दक्षिण-पूर्वी एसिया, मध्यपूर्व र अस्ट्रेलियामा पनि उसले उडान गर्दै आएको छ।

विमान
सन् १९९९ मा स्थापित लायन एयरको सुरक्षा रेकर्ड र कमजोर व्यवस्थापनबारे विगतमा प्रश्न उठेका थिए र सन् २०१६ सम्म युरोपेली आकाशमा प्रतिबन्धित थियो।

सन् २०१३ मा लायन एयरकै एउटा विमान अवतरणका क्रममा समुद्रमा खस्दा त्यसमा सवार सबै एक सय आठजना बाँच्न सफल भएका थिए।

सन् २००४ मा उसकै विमान सोलो शहरमा दुर्घटनामा पर्दा २५ जनाको ज्यान गएको थियो।

Share Now

Leave a comment.