काठमाडौं, १२ कार्तिक । प्रधानमन्त्री के.पी. शर्मा ओलीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सीसीयुमा उपचार भैरहेको छ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मोख रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।उहाँलाई भेटेर निस्कनुभएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समेत आफूले प्रधामन्त्री ओलीसंग कुराकानी गरेको र उहाँको स्वास्थ्य अवस्था ठीक भएको बताउनुभएको छ ।

सेन्टरका प्रमुख डाक्टर अरुण कुमार सायमीका अनुसार अहिलेसम्म प्रधानमन्त्रीको दुई पटक एक्से गरिएको छ भने मुटुको ईसीजी, एको तथा रगतको जाँच गरिएको छ । थ्रोट स्वाव परीक्षण गरिएको छ ।
प्रधानमन्त्रीलाई एन्टिबायोटिक, स्लाइन र नेबुलाइनर औषधि चलाइएको छ ।
प्रधानमन्त्रीको छातीमा संक्रमण देखिनुको साथै चिनीको मात्रा बढेपछि सोमबार बिहान ४ः ३० मा अस्पताल भर्ना गरिएको त्रिभुव विश्वविद्यालय शिक्षण अस्पताल अन्तरगतको मनमोहन कार्डियो भास्कुर थोरासिस सेन्टरले जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई अस्पतालमा भेट्न पूर्वप्रधानमन्त्रीहरूदेखि ,मन्त्रीहरु र सञ्चारकर्मीसहित पार्टी कार्यकर्ताहरु बिहानैदेखि शिक्षण अस्पताल परिसरमा पुगिरहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संयुक्त अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीलाई भेट्न पुग्ने विशिष्ट व्यक्ति मध्ये सबैभन्दा पहिले पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल हुनुहुन्थ्यो । त्यसपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल अस्पताल पुग्नुभएको थियो।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न, राष्टिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, पूर्वमन्त्री भीम रावल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरु अस्पताल पुग्नुभयो।
स्वास्थ्य सामान्य !
अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाएको छ । अस्पतालले पत्रकार सम्मेलन गरी उहाँको अवस्था सामान्य रहको जनाएको हो ।

प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिएको तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको हुँदा केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताइएको छ ।
प्रधानमन्त्री ओलीको अरु स्वास्थ्य स्थिति सामान्य रहेको समेत पत्रकार सम्मेलनमा जनाइएको छ ।
प्रधानमन्त्री ओलीलाई सोमबार बिहान ४ः३० बजे अस्पतालमा भर्ना गरिएको थियो ।
को कोले हेर्दैछन् प्रधानमन्त्रीलाई ?
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कलेजो विशेषज्ञ एवं निजी चिकित्सक दिलिप शर्मा, छातीरोग विशेषज्ञ सन्तकुमार दास, मुटु रोग विशेषज्ञ अरुण सायमी, एनेस्थेसिया विशेषज्ञ सुवास आचार्य, मृगौला रोग विशेषज्ञ एवं निजी चिकित्सक दिब्य सिंह शाह र नाक कान घाँटी विशेषज्ञ प्रकाश काफ्ले संलग्न चिकित्सकहरुको टोलीले उपचार गरिरहेका छ ।
यसअघि आइतबार मात्रै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको भन्दै केही दिनमै सार्वजनिक कार्यक्रममा उपस्थित हुने प्रेस सल्लाहकार डा कुन्दन अर्यालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको थियो ।
प्रधानमन्त्री ओली अस्वस्थताकै कारण पार्टीले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा पनि सहभागी सक्नुभएको थिएन् । ।
तर राष्टपति विद्यादेवी भण्डारीको कतार भ्रमण अनुमोदन गर्न उहाँ अस्वस्थ्य रहेकै अवस्थामा आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको थियो ।
अस्पतालको उच्च स्रोतले दिएको जानकारी अनुसार केहीदिन पूर्व पनि प्रधानमन्त्रीको शिक्षण अस्पतालमा सधन स्वास्थ्य जाँच गरिएको थियो ।




















