Prakash Adhikari October 31, 2018

पोखरा(कास्की),१४ कार्तिक । पोखरामा भैरहेको सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग क्रिकेटमा नेपालका चर्चित खेलाडी सन्दीप लामिछाने र नेपाली राष्ट्रिय कप्तान पारस खड्काको लागि आजका खेलहरुले गर या मरको अवस्था सिर्जना गरेका छन् ।

पोखरा रंगशालामा आज बिहान हुने पहिलो खेलमा चितवन राहिनोज र धनगढी ब्लुज तथा दोस्रो खेलमा विराटनगर टाइटन्स र बुटबल ब्लास्टर्स आमने सामने हुनेछन् ।

विगत एक बर्षमा विश्व क्रिकेट लिगमा चम्केका नेपाली खेलाडी सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर टाइटनले पोखरा प्रिमियर लिगमा अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन् । ६ टीम सम्मिलित पीपीएलका ३ खेलमा विराटनगरले पराजय ब्यहोरिसकेको छ । अब दुई खेलमात्र बाँकी छन् । यी खेल जितेमा पनि उसको आगामी चरणको प्ले अफ यात्रा सुनिश्चित भने छैन् । राम्रो प्रदर्शन नभए यही चरणमा यात्रा टुंगिन सक्छ ।

पीपीएलमा सन्दीपको व्यक्तिगत प्रदर्शन पनि हालसम्म उनको नाम धान्ने खालको हुन सकेको छैन् । टीम कप्तान र नेपालको उत्कृष्ट बलरका रुपमा उनले हरेक खेलमा आधा आधी विकेट लिन सक्ने अनुमान गर्नु अस्वभाविक थिएन । तर उनले तीन म्याचमा ४ विकेट लिएका छन् । उनले स्वदेश तथा विदेशका दर्शकको अपेक्षा पूरा गर्न सकेका छैनन् । म्याचविनिङ बलिङ उनले गर्न सकेका छैनन् ।

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेतृत्व गरेको चितवन राहिनोजले प्रतियोगितामा अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । उसले यसअघिका दुवै खेलमा पराजय ब्यहोरेको छ ।

उसले पोखरा र बुटवलसँग पराजय ब्यहोरेको थियो । प्रतियोगिताको प्लेअफमा स्थान बनाउन चितवनका लागि धनगढीबिरुद्धको खेल गर या मरको अवस्थामा छ । यद्यपी कप्तान पारस खड्काले बाँकी तीनै खेल जितेर प्लेअफमा स्थान बनाउने संभावना जीवितै छ । तर यसको सुरुआत आजको खेलमा हुन सकेन भने  प्लेअफमा पुग्नबाट बाहिरिन उसलाई कसैले पनि रोक्न सक्दैन् ।

पीपीएलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काको प्रदर्शन पनि अहिलेको खेलसम्म संझन लायक बनेको छैन् । राष्ट्रिय खेलमा सबै खेलाडीहरुलाई अवसर दिनु र उनीहरुको प्रतिभा फष्टाउन दिने कुरा एकहदसम्म स्वभाविक र राम्रो पनि हो । तर आफ्नो साख सिद्धिने र टीम नै पराजित हुने अवस्थामा भने टीमका कप्तानहरुले दह्रो निर्णय गरेर मैदानमा आफै अग्रसर हुनुपर्दछ ।टीमलाई विजयी बनाउनु पर्दछ ।  खेलमा सहानुभतिको हैन, विजय र प्रशसा अपेक्षित हुन्छ ।टीमका स्वामी, टीमका सहकर्मी, प्रशिक्षक र देश विदेशका प्रशंसकहरुले पनि यही अपेक्षा राखेका हुन्छन् ।

आफूमा भएको कला प्रदर्शन गर्न र टीमको इज्जत राख्न पनि विराटनगर टाईटनका कप्तान सन्दीप लामिछाने र चितवन राइनोजका कप्तान तथा राष्ट्रिय टीमका कप्तान पारस खड्काले आजका खेलमा निर्णायक, ऐतिहासिक र स्मरणयोग्य प्रदर्शन गर्न आवश्यक छ ।

Share Now

Leave a comment.