Prakash Adhikari August 15, 2026

 

काठमाडौं, ३० साउन । काठमाडौंमा जारी नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरहरुले आयोजना गरेको राष्ट्रिय भेलालाई ‘राष्ट्रिय सम्मेलन’मा रुपान्तरण गरिएको छ।

शुक्रबार भेलाका रुपमा उद्घाटन गरिएको कार्यक्रमलाई शनिबार ‘सम्मेलन’को रुप दिइएको हो। सम्मेलनमा शनिबार विभिन्न प्रस्तावहरुमाथि छलफल भएको छ। बन्दसत्रमा विभिन्न समितिका प्रतिवेदनहरूमाथि प्रदेशगत रुपमा छलफल गरिएको छ।

सम्मेलनमा नेता डा.प्रकाशशरण महतले कांग्रेसको आर्थिक तथा सामाजिक नीति सम्बन्धी प्रतिवेदन, नेता विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, नेता रमेश लेखकले ‘कानुन तथा विधान समिति’मार्फत ‘विधान संशोधन अवधारणा पत्र’, उमाकान्त चौधरीले सांगठनिक प्रतिवेदन, नेता एनपी साउदले समसामयिक विषयलगायतका प्रस्तावमाथि छलफल भएको छ।

देशभरबाट आएका करिब ३ हजार ५ सय प्रतिनिधिहरुलाई विभिन्न समूहमा विभाजन गरेर प्रस्तावमाथि छलफल गरिएको छ। सम्मेलनका सहभागी तथा आयोजकहरुले १५ औँ महाधिवेशनको तयारी १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयबाट गरिने विषयलाई प्राथमिकता दिएका छन्।

शनिबार बोल्ने अधिकांश नेताहरुले पार्टी एकतामा जोड दिंदै सर्वोच्च अदालतको आदेश अनुसार अघि बढ्ने अभिव्यक्ति दिएका छन्। तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले नचाहँदा नचाहँदै पार्टीको विशेष महाधिवेशन गरिएको बताउँदै अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा यसबारेमा आफूले धेरै नबोल्ने पनि जानकारी दिनुभयो ।

सम्मेलनका बारेमा जानकारी दिंदै नेता मीन विश्वकर्माले भेलालाई सम्मेलनका रुपमा रुपान्तरण गरिएको जानकारी दिंदै विधान संशोधनका विषयमा पनि बृहत छलफल भइरहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘विधानमा दफावार संशोधन नगरेर सैद्धान्तिक सहमतिको कुरा गरिराखेका छौं। विधानमा केही भाषा अस्पष्टता भएका कारणले कार्यान्वयन गर्न अप्ठ्यारो परेको छ। सबै तहको कार्य समितिहरुलाई चुस्त र समावेशी बनाउने प्रयासमा छौं। युवाहरुको सहभागिता बढाउनेगरी व्यवस्था गर्नुपर्नेमा जोड दिएका छौं।’

अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले महाधिवेशनको मिति भने अहिले नतोक्ने जानकारी उहाँले दिनुभयो। ‘हामी १५ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने प्रयास गरिरहेका छौं। मुद्दा विचाराधीन अवस्थामा रहेकाले मिति चाहिं अहिले नै नतोक्ने भनेका छौं तर सानेपामा रहेका साथीहरु कुनै चामत्कारिक निर्णय लिएर आउनुभयो भने सोही अनुसार अघि बढ्छौं,’ उहाँले भन्नुभयो ।

Share Now