पोखरा(कास्की), १४ कार्तिक । पोखरा प्रिमियर लिग अन्तर्गत चितवन राइनोज र धनगढी ब्लूजक्ीच भएको पहिलो खेलमा चितवनले धनगढीलाई १ सय २६ रनको अन्तरले हराएको छ ।
पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउदै १ सय ९३ रन बनायो ।
निकै बलियो सुरुवात गरेको चितवनका हरिशंकर शाह र अनिलकुमार शाहले पहिलो विकेटका लागि १ सय १ रनको साझेदारी गरेका थिए । यो पुरै प्रतियोगितामा पहिलो विकेटका लागि भएको उच्च साझेदारी हो ।
अनिल साह ३७ रनमा आउट भएपछि चितवनले पहिलो विकेट गुमायो । त्यसपछि हरिशंकर शाह पनि अर्धसतक बनाउदै आउट हुन पुगे । उनले ३३ बलमा ५३ रन बनाए । जसका कारण चितवनले १ सय १० रनमा दोस्रो विकेट गुमायो ।
चितवनका कप्तान पारस खड्कापनि आक्रामक रुपमा उत्रिएका थिए तर उनी धेरैबेर क्रिजमा टिक्न सकेनन । उनी ९ बलमा १९ रन बनाउदै आउट भए । सो बेला चितवनको स्कोर १ सय ४० रन थियो ।
त्यसपछि स्मिथ पटेल २४ र आरिफ शेखले खाता खोल्न नपाउदा चितवनले १ सय ६२ रनमा ५ विकेट झर्यो । त्यसपछि सन्नी पटेलले २६ तथा करण केसीले ११ रन बनाए ।
बलिङ तर्फ दिपेन्द्र ऐरी, डेन लरेन्स, योगेन्द्र कार्की र मञ्जित श्रेष्ठले एक एक विकेट लिए ।
जवाफमा १ सय ९४ रनको लक्ष्य लिएको धनगढी १६ ओभर दुई बलमा ६७ रनबनाउदै अलआउट भयो ।
खाता खोल्न नपाउदै २ विकेट गुमाएको धनगढीले ७ रनमा तेस्रो विकेट खेर फाल्यो । उसका दुबै ओपनरले खाता खोल्न सकेनन । यस्तै सन्दिप सुनारले मात्र एक रन बनाए ।
त्यसको लगत्तै कप्तान दिपेन्द्र ऐरीपनि ब्यक्तिगत एक रनमा आउट भएपछि धनगढीले २७ रनमा ४ विकेट खेर फाल्यो । ठूलो लक्ष्य पक्ष्याएको धनगढीको पारीमा कुनैपनि खेलाडीले राम्रो साझेदारी गर्न सकेनन । सन्दिप जोरा र सौरभ खनाल ८ । ८ रनमा आउट भएभने पिटर ट्रेगोले २७ रन बनाए । जुन धनगढीको पारीमा सर्वाधिक स्कोर हो ।
आजको खेलमा कमजोर देखिएको धनगढी बलिङ तर्फ सन्नी पटेलले ४ तथा भुवन कार्की र स्मिथ पटेलले २।२ विकेट लिए ।