पोखरा(कास्की),१४ कार्तिक । पोखरा प्रिमियर लिग अन्तर्गत पाँचौ दिनको दोस्रो खेलमा सन्दीप लामिछानेको बिराटनगर टाईटन्सले पहिलो जित निकालेको छ । आज भएको दोस्रो खेलमा सन्दीपको विराटनगरले सोमपालको कप्तानीमा रहेको बुटवल ब्लासटर्सलाई १२ रनले पराजित गरेको छ ।
खेलमा टस जितेर ब्याटिंग गरेको बिराटनगर टाईटन्सले ७ विकेट गुमाएर १ सय ४० रनको योगफल तयार गरेको थियो। टाईटन्सका लागि पाकिस्तानी खेलाडी मोहम्मद जैद आलमले सर्वाधिक ७२ तथा प्रदिप ऐरीले ४१ रनको योगदान गरे।
दोस्रो ओभरको दोस्रो बलमानै ललित भण्डारीले सुनिल धमलालाई पभेलियनको बाटो देखाएपछि बिराटनगरको सुरुवात राम्रो हुन सकेको थिएन। मात्र ३६ रन जोड्न दुई विकेट गुमाएको बिराटनगरको इनिंगलाई जैद आलम र प्रदिप ऐरीको साझेदारीले उकासेको थियो।
जैद र प्रदिपले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गर्दै बिराटनगरको इनिंगलाई उकासेका थिए। जैदले ४५ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दा ७२ रन जोडे। यस्तै प्रदिपले भने ४३ बलमा ३ चौका सहित ४१ रन जोडे।
जैद र प्रदिप बाहेक अन्य ब्याट्समेनहरुले दोहोरो अंकमा रन जोड्न सकेनन्।
यता १ सय ४१ रनको लक्ष्य लिएको बुटबल ब्लास्टर्सले १ सय २८ रनमा सबै विकेट गुमायो । बुटबलका लागि भीम सार्कीले ४ चौका र १ छक्का सहित ५० रन,सागर पुनले ४ चौका सहित २९ रन,एस रानाले १ छक्का र ३ चौका सहित २३ रन, एस लोहनीले १५ रन र कप्तान सोमपाल कामीले ७ रन जोडे ।खेलमा रोहन मुस्तफा र संसद सेखको एक एक रन योगदान रह्यो ।
अति नै प्रतिस्पर्धात्मक र रोचक भएको यो खेलमा सहबूब आलमले १८ औं ओभरको पहिलो बलमा भीम सार्कीलाई रन आउट र चौथो बलमा कप्तान सोमपाललाई आउट गरेपछि बुटबलको स्थिति कमजोर बनेको हो । त्यसपछि ब्याटिड. गर्न आएका एस लोहनी केहीबेर चम्किएका थिए । विराटनगरका कप्तान सन्दीपले समेत आउट गर्न नसकेका लोहनीलाई महतोले रन आउट गरेर पेभिलियन फर्काए । त्यसपछि क्रिजमा आएका विपीन खत्रीले कुनै रन बनाउन सकेनन् । खेलको नतिजा बिराटनगरको पक्षमा गयो ।
बलिड.तर्फ विराटनगरका के महतोले ३ , सन्दीप लामिछाने र सहबूब आलमले दुई दुई विकेट लिए भने एस धमलाले एक एक विकेट लिए ।
बुटवलको बलिङ्गतर्फ ललित भण्डारीले सर्वाधिक २ विकेट लिए। यस्तै बिपिन खत्री, संसाद शेख र सागर पुनले समान १-१ विकेट लिएका थिए।