काठमाडौं, ५मंसिर । अमेरिकी सरकारको मिलिनियम च्यालेञ्ज कर्पोरेशनको अनुदान सहयोगमा न्यू बुटवल सबस्टेशनदेखि न्यू दमौली सबस्टेशनसम्मको ४०० केभी क्षमताको दोहोरो सर्किट प्रसारण लाइन निर्माण सुरु भएको छ ।
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने प्रसारण लाइनको न्यू बुटवल–न्यू दमौली खण्डमा मंसिर ४ गतेदेखि तनहुँ र पाल्पा जिल्लाबाट निर्माण कार्य प्रारम्भ गरिएको हो ।
एमसीए–नेपालका अनुसार एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने कुल ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइनमध्ये न्यू बुटवल–न्यू दमौली खण्ड ९० किलोमिटर लामो हुनेछ । उक्त खण्डअन्तर्गत तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा कुल २ सय ५० वटा प्रसारण टावर निर्माण गरिनेछ ।
यस प्रसारण लाइनले नेपालको विद्युत् प्रसारण सञ्जाल विस्तार तथा ऊर्जा सुरक्षा सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । साथै, विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न तथा विद्युत् आपूर्ति प्रणालीलाई थप मजबुत बनाउन सहयोग पुग्ने जनाइएको छ ।
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माणाधीन प्रसारण सञ्जालले नेपालको विद्युत् प्रसारण क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ । यसबाट भविष्यमा उत्पादन हुने विद्युत्को आन्तरिक खपत व्यवस्थापनका साथै अन्तरदेशीय विद्युत् व्यापारका लागि आवश्यक पूर्वाधारसमेत उपलब्ध हुने अपेक्षा गरिएको छ ।
प्रसारण लाइन निर्माणसँगै नेपालको ऊर्जा क्षेत्रको पूर्वाधार विकास, विद्युत् प्रवाह क्षमता विस्तार र विद्युत् व्यापारको सम्भावनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।






