काठमाडौं, २७ पुस । देशभर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइरहदा नेपालको राजनीतिक इतिहासमा गतबर्षको संसदीय र प्रादेशिक चुनाव अगाडि एकीकृत भएको विवेकशील साझा पार्टी फुटेको छ।
विवेकशील साझा पार्टीका दुई सहसंयोजक मध्ये उज्जल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
उहाँले चालिस प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर सहित आयोगमा नयाँ दनल दर्ताको लागि निवेदन दिनुभएको हो । निर्वाचन आयोगले अब केन्द्रीय सदस्यहरुको हस्ताक्षर प्रमाणित गर्नेछ ।
विवेकशील साझा पार्टीमा केही साता यता खटपट देखिएको थियो। सहसंयोजक रविन्द्र मिश्रले पार्टी एकलौटी ढंगले अगाडि बढाएको, आफू निकटका व्यक्तिहरुलाई नियुक्ती गरेकोप्रति उज्जल थापा समूह असन्तुष्ट थियो।
वैकल्पिक पार्टीका रुपमा आफूलाई प्रचार गर्दै आएको विवेकशील साझाले गतबर्ष सम्पन्न संघीय र प्रदेश निर्वाचनमा सीमित क्षेत्रमा प्रतिस्पर्धा गरेको थियो । संघीय संसदमा भने एक सिट पनि जित्न नसकेको सो पार्टीले प्रदेश तीनको संसदमा भने समानुपातिकबाट तीनजना सांसद प्रतिनिधित्व गराउने सफलता पाएको थियो ।
१६ महिनाअघि उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी बनेको थियो। थापा र मिश्र पार्टीका संयोजक बनेका थिए।
त्यस पहिले भएको स्थानीय तहको निर्वाचनमा भने दुवै पार्टी अलगअलग उम्मेदवार उठाएका थिए ।


















