बंकल(थाइलैण्ड), ५ माघ । थाईलैण्डमा भएको टी २० स्म्यास प्रतियोगिताको यात्रा नेपाली महिला क्रिकेट टीमले उपविजेता बनेर टुंग्याएको छ । नेपाल टीमलाई ७० रनले पराजित गर्दै आयोजक थाईल्याण्डले थाईल्याण्ड टि-२० स्म्यासको उपाधि जित्न सफल भएको छ।

महिला क्रिकेटको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा १२ वर्ष पछि फाइनलमा पुगेको नेपाल विजयी बन्ने अवसरबाट चुकेको छ । सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता एसीसी वुमेन्स च्याम्पियनसिपमा नेपाल बंगलादेशसंग फाइनलमा पराजित भएको थियो।
प्रतियोगिताको समुह चरणमा नेपाल अपराजित हुँदै समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो। सेमीफाइनलमा नेपालले इन्डोनेसियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। १२ वर्षपछि नेपाली महिला क्रिकेटको सिनियर टिमको यो पहिलो फाइनल खेल हो ।
टेर्ड थाई मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गर्दै थाईल्याण्डले दिएको १२२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५१ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।
१२२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात राम्रो हुन सकेन। ओपनर काजल श्रेष्ठ रन आउट हुँदै पहिलो ओभरमा १ रन बनाएर आउट भइन् भने लगत्तै ओभरमा इन्दु बर्मा खाता नखोल्दै एलबिडब्लु आउट भइन्।
पाँचौ ओभरमा प्रतियोगितामा उत्कृस्ट लयमा रहेकी सिता राना मगर पनि १३ रन बनाएर चनिडाको बलमा क्याच आउट हुन पुग्दा नेपाल ४।५ ओभरमा १५र३ को नाजुक अवस्थामा पुग्यो। त्यसपछि पनि विकेट जाने क्रम रोकिएन।
रोमा थापा २ रन, सरिता मगर ५ रन तथा कप्तान रुबिना क्षेत्री ५ रन बनाएर आउट हुँदा नेपालको माथिल्लो क्रम पेभेलियन फर्कियो।
धैर्यतापुर्वक ब्याटिंग गरेकी नेरी थापा पनि १७ रन बनाएर आउट भइन्। नेरीको विकेटपछि करुना भण्डारी ४ रन तथा डली भट्ट, कविता कुँवर खाता नखोली आउट हुँदा नेपाल १७।२ ओभरमा ५१ रनमा समेटिन पुग्यो।
थाईल्याण्डको लागि सुलीपोर्न लाओमिले सर्वाधिक ३ विकेट तथा सोरनाऋण टिप्पोचले २ विकेट हात पारिन्।
थाईल्याण्डको ब्याटिंग
टस जितेर नेपालले पहिले फिल्डिंग गरेपछि ब्याटिंग गरेको थाईल्याण्डले उत्कृस्ट सुरुवात गर्यो। ओपनर नट्टाकन चान्थम र नरुमल चाईवाईले पहिलो विकेटको लागि ९३ रनको बिशाल साझेदारी गरे।
७ जना बलर प्रयोग गरे पनि पहिलो विकेट पाउन नेपालले १७ औं ओभरको अन्तिम बलसम्म कुर्नु परेको थियो। २७ रन बनाएकी चाईवाई पनि रन आउट हुँदै आउट भएकी थिईन्।
१ विकेट गुमेपछि पनि थाईल्याण्डले थप विकेट गुमाएन र पुरै २० ओभर ब्याटिंग गर्दै १२१ रनको योगफल तयार गर्यो।


















