Prakash Adhikari February 1, 2019

दुबाई.(संयुक्त अरब इमिरेट्स),१८ माघ । संयुक्त अरब इमिरेट्सको खेल भ्रमणमा रहेको नेपाली राष्टिय क्रिकेट टीम र युएईको घरेलु टीमबीच आज हुने दोस्रो टी २० खेलमा नेपाल ‘गर या मर’को स्थितिमा रहेको छ ।

तीनवटा टि २० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत बिहिबार सम्पन्न पहिलो खेलको नतिजा घरेलु टीमको पक्षमा गएको छ । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । युएईले दिएको १५४ रनको सामना गर्न अग्रसर नेपालले १३२ रनमा सबै विकेट गुमाएको थियो ।

आजको खेल जितेमा मात्र नेपालले यो टी २० सेरिज जित्ने संभावना रहन्छ । दुवै टीमको बराबरी हुँदा तेस्रो खेल प्रतिस्पर्धात्मक र रोचक हुन जान्छ । यसपूर्व भएको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको नेपाललाई टी २० को जितले झन हौसला दिनेछ किनकी नेपालले हालसम्म कुनै पनि टि २० अन्तर्राष्ट्रिय सिरिज जितेको छैन ।

टि २० सेरिजको पहिलो खेलमा नेपालका माथिल्लो क्रमका ब्याट्सम्यानले रन बनाउन नसकेकोले पराजय भोग्नुपरेको थियो। ओपनिङ्गमा आएका प्रदिप ऐरि खाता नखोल्दै आउट भएका थिए भने ज्ञानेन्द्र मल्लले ठूलो इनिंग खेल्न सकेनन्। यस्तै दिपेन्द्र ऐरीको प्रदर्शन पनि अपेक्षा अनुरुप हुन सकेन ।

पहिलो टि २० मा सोमपाल कामिले राम्रो बलिङ्ग गरे पनि करन केसी र अविनाश बोहराको प्रदर्शन अविस्मरणीय भएन । करनले ४ ओभरमा ४३ रन खर्चेर विकेट बिहिन रहेका थिए भने अविनाशले १ विकेट हात पार्दा ४ ओभरमा ३६ रन दिएका थिए।

बिहिबार अन्तराष्टिय टी २० मा डेब्यु गरेका सन्दीप जोराले अन्तराष्टिय कीर्तिमान नै कायम गरे । सबैभन्दा कान्छो उमेरमा डेब्यू खेलमा अर्धशतक बनाउने रेकर्ड राखेर ।

क्रिकेट असाध्यै संभावनायुक्त खेलको रुपमा चिनिन्छ । यसमा धैर्य आवश्यक हुन्छ । सबै खेलमा टीम स्पिरिट चाहिन्छ नै तर कहिलेकाही एक दुई खेलाडीको धैर्ययुक्त राम्रो खेलले पनि नतिजा आफ्नो पक्षमा पार्न सघाएको उदाहरण जारी युएई भ्रमणको अन्तिम खेलमा नेपालका कप्तान पारस खड्काले हासिल गरेको शतकबढी(११५)रनको योगदान र सेरिजको दोस्रो तथा तेस्रो खेलमा नेपालको विजयले पनि स्पष्ट पारेको छ ।

नेपाली खेलाडीहरुले धैर्यतापूर्वक खेलेमा युएईको क्रिकेट मैदान नेपालको लागि नफापेको छैन् । यही मैदानमा नेपालले एक दिवसीय श्रृखला मात्र जितेन, दिनहुँ नयाँ नर्या रेकर्ड कायम गरेको छ । आशा गरौं, नेपाली खेलाडीहरुले आज राम्रो प्रदर्शन गरी टी २० सेरिजलाई जिवन्तता दिनेछन र सेरिजको अर्को खेल जितेर अर्को कीर्तिमान राख्नेछन् ।

Share Now

Leave a comment.