Prakash Adhikari February 13, 2019

 

धनगढी(कैलाली),१ फागुन । तेस्रो धनगढी प्रिमियर लिग (डीपीए) क्रिकेट प्रतियोगिताको तेस्रो दिनको दोश्रो खेलमा बिराटनगर किंग्सले धनगढी स्टार्सलाई २१ रनले पराजित गरेको छ।

यो खेलको नतिजासंग बिराटनगरले प्रतियोगितामा पहिलो विजय हासिल गरेको छ भने धनगढी स्टार्सले गृहमैदानमा लगातार तेस्रो पराजयको सामना गर्न परेको छ ।

प्रतियोगितामा २ खेलबाट २ जित निकाल्दै रुपन्देही र काठमाडौं गोल्डन ४ । ४ अंक सहित अङ्कतालिकाको शीर्षस्थानमा रहेका छन्।

सीवाईसी अत्तरियाले १ खेलमा विजय हासिल गरी २ अंक पाएको छ भने विराटनगर किंग्सले आफूले खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोरेको छ ।

महेन्द्रनगर युनाइटेडले हालसम्म खेलेका दुई खेलको नतिजा आफ्नो पक्षमा पार्न सकेन भने धनगढी स्टार्सको अवस्था पनि त्यस्तै रहेको छ । खेलिएका तीन वटै खेलको नतिजा उसले प्रतिस्पर्धीलाई सुम्पेको छ ।

प्रतियोगिता अन्तर्गत चौथो दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्स र सिवाईसी अत्तरिया तथा दोश्रो खेलमा महेन्द्रनगर युनाइटेड र बिराटनगर किंग्स प्रतिस्पर्धा गर्नेछन्।

बुधबारको खेलमा टस जितेर ब्याटिड. रोजेको बिराटनगर किंग्सले दिएको १०४ रनको लक्ष्य पछ्याएको धनगढी स्टार्सले निर्धारित २० ओभरको खेलमा १९ ओभरभित्र सबै विकेट गुमाएर ८२ रनमा सीमित भयो ।

धनगढी स्टार्सलाई सस्तैमा समेट्न बिराटनगरका अभिनास यादव र कप्तान करण केसीले समान ४।४ विकेट लिए। किफायती बलिंग गरेका अभिनासले ४ ओभरमा १० रन खर्चिंदै आमिर हयात, सौरभ खनाल, सोमपाल कामी र बिपिन खत्रीलाई पेभिलियन फर्काए भने करण केसीले २४ रन दिएर सुनिल धमला, रोहन मुस्तफा, सन्दिप रजाली र पवन सर्राफलाई आउट गरे। त्यस्तै सुसन भारीले २ विकेट लिए।

धनगढीको तेस्रो खेल पनि असल सुरुवात हुन सकेन । २६ रन जोडिदा ३ विकेट गुमाएको धनगढीको लागि सन्दीप रजाली र राजु रिजालले केही भरथेग गरेका थिए । रजालीसँग ३१ रनको साझेदारी गरेपछि राजु १५ रनमा आउट भएका थिए। त्यसपछि रजालीपनि ३४ रन प्रहार गर्दै ३६ बलमा ४ चौका प्रहार गरेर आउट भए।

पवन सर्राफ, आमिर हयात, सौरभ खनाल र सोमपाल कामि चारैजना समान ४ । ४ रनमा आउट भए भनृ रोबिन क्षेत्री अविजित रहे पनि बिपिन खत्रीले कुनै रन जोडन सकेनन् ।

यस अगाडि टस जितेर ब्याटिड. रोजेको विराटनगरले उसले पहिलो ओभरमा नै हरिशंकर शाहलाई २ रनमा गुमाएको थियो। त्यसपछि तेस्रो ओभरको चौथो बलमा कुशल भुर्तेलपनि ६ रन बनाएर आउट भए। असादउल्लाह खान पठान ३ रन, राजेश पुलामी १ रन बनाएर आउट भएपछी बिराटनगरले २७ रनमा ४ विकेट गुमाएको थियो।

त्यसपछि अभिनास यादवले आरिफ शेखसँग १५ रन र कप्तान करण केसीसँग३२ रनको साझेदारी गरे। आसिफ १२ रन र यादव २७ रन बनाएर आउट भए। पृथु बास्कोटासँग थप १७ रनको साझेदारी गरेपछि करण पनि २१ रनमा पेभेलियन फर्किए। लगत्तै पृथुपनि ६ रनमा आउट भए।

संसाद शेख अन्तिम बलमा ७ रन बनाएर बाउन्ड्रीमा क्याच आउट भए भने सुशन भारी १ रनमा अविजित रहे।

बलिंगतर्फ कप्तान सोमपाल कामीले ३ विकेट लिनेक्रममा ३ ओभरमा ८ रन खर्चे। त्यस्तै बिपिन खत्रीले पनि ३ विकेट लिन १९ रन खर्चे। रबिन क्षेत्रीले १ ओभरमा २ विकेट तथा धमलाले ४ बलमा १ विकेट लिएका थिए।

खेलमा अलराउण्ड प्रदर्शन गरेका करण केसी प्लेयर अफ द म्याच घोषित भए।

Share Now

Leave a comment.