
काठमाडौं, ४ फागुन । संयुक्त राज्य अमेरिकाले नेपालसंगको सम्बन्धलाई संवेदनशील दर्जामा नै राखेको देखिएको छ ।
उत्तर कोरियाका राजदूतले सभामुख कृष्णबहादुर महराटसंग भेट गरि जनवरी महिनामा अभिव्यक्त गरेका कुरामा नेपालस्थित अमेरिकी राजदूत रेन्डि बेरीले भलादमी तरिकाले प्रतिक्रिया जनाउनुभएको छ ।
राजदूत बेरीले आफ्नो ट्वीटरमा रोचक समाचार भन्दै संयुक्त राष्ट संघले उत्तर कोरियालाई संसारभर लगानी गर्न प्रतिबन्ध लगाएको उल्लेख गर्दै नेपालका लागि उत्तरी कोरियाका राजदूत जो योंग म्यानले नेपालका संघीय संसदको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरासंग गरेको शिष्टाचार भेटमा नेपालका कृषि र जलविद्युतमा लगानी गर्न मनशाय व्य।क्त गरेको समाचारलाई पोष्ट गर्नुभएको छ ।
सन् २०१५ मा पनि ५४ उत्तर कोरियाली कामदारहरु नेपालको जलविद्युत् निर्माणमा अवैधरुपमा काम गरिरहेको पाइएको थियो।
उत्तर कोरियामाथिको अन्तर्राष्ट्रिय प्रतिबन्धको कारण उत्तर कोरियासँग नयाँ श्रम सम्झौतामा रोक लगाइएको छ।
उत्तर कोरियाली राजदूतले सभामुखसंगको भेटपछि गृहमन्त्री रामबहादुर थापासँग पनि भेटवार्ता गर्नुभएको थियो। उहाँलाई पनि प्योड.याड. भ्रमणको निम्तो दिइएको सार्वजनिक भएको थियो ।
यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि उत्तर कोरिया भ्रमण अन्तर्राष्ट्रिय दबाबको कारण रद्द भएको थियो।
अमेरिकाले उत्तर कोरियाको प्रतिबन्ध पालना गर्न विशेष जोड दिँदै आएको छ। गत डिसेम्बरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँगको भेटमा स्वतन्त्र,खुला र समृद्ध इण्डो प्यासेफिक सामरिक गठबन्धन र उत्तर कोरियासहित विश्व सम्बन्धमा नेपालको केन्द्रीय भूमिका रहनेबारेमा कुराकानी भएका थिए ।
अमेरिकी विदेश मन्त्री पम्पियोले नेपालको सत्तारुढ कम्युनिष्ट पार्टीले उत्तर कोरियासंग रहेको पार्टी पार्टीबीचको भाइचारासम्बन्धको माध्यमबाट उत्तर कोरियालाई आणविक अस्त्रबिहिन बनाउन दबाव दिने विश्वास ब्यक्त गर्नुभएको थियो ।
नेपाल र उत्तर कोरियाको बीचमा सन् १९७४ मा दौत्य सम्बन्ध कायम भएको र सोहस् साल उत्तर कोरियाले नेपालमा राजदूताबास खोलेको थियो । तर अहिलेसम्म उत्तर कोरियामा नेपालको दूतावास भने छैन। चीनमा रहेको दूतावासमार्फत नै नेपालले उत्तर कोरिया मामिलालाई हेर्दै आएको छ ।